यस दिन नेप्से परिसूचक १३.५१ अंक बढेर २८१२.३४ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.१४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६७ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। सोमबार ११ अर्ब ९७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४० स्टकको १ लाख ६ हजार १४० पटकको कारोबारमा १२ अर्ब ३ करोड ४४ लाख ६ हजार रुपैयाँबराबरको ३ करोड ४८ लाख ५२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन पनि ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स, सोलु हाइड्रोपावर, सालपा विकास बैंक र होटल फरेष्ट इनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन शिवश्री हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशत बढेको छ। यस दिन मूल्य घटेका स्टकहरुको गिरावट दर ५ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन रिडी पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५६ करोड ३७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन आँखु खोला जलविद्युत कम्पनीको साढे ५१ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने नेशनल हाइड्रोपावरको कारोबार रकम ४८ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ। बैंकिङ्ग, विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक यस दिन सामान्य बढेको छ। यस दिन घटेका उपसमूहहरुको गिरावटदर सामान्य रहेको छ।