चैत १५ गते शेयर बेच्ने दिन हो ? बजारमा ‘सेल अन न्युज’ कि ‘महार्‍याली’को सुरुवात ?

Mar 24, 2026 06:03 AM Merolagani



सुवास निरौला 

नेपाली राजनीतिमा आएको ‘सुनामी’ को परकम्प अहिले शेयर बजारमा प्रस्टै देखिन थालेको छ। तीन वर्षअघि मात्रै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २७५ मध्ये १८२ सिटसहित ऐतिहासिक बहुमत हासिल गरेपछि पूँजी बजारमा उत्साहको सञ्चार भएको छ। 

निर्वाचन पछिको पहिलो कारोबार दिनमै ६ प्रतिशतको सकारात्मक सर्किट लाग्नुले लगानीकर्ताको मनोविज्ञान कता छ भन्ने संकेत गरिसकेको छ। अहिले बजारको केन्द्रबिन्दुमा एउटै मिति छ– चैत १५ गते। रास्वपाले निर्वाचन अगाडि नै प्रधानमन्त्रीको रुपमा अघि सारेका बालेन्द्र शाह (बालेन) १३ गते शुक्रबार देशको कार्यकारी प्रमुखको बागडोर सम्हाल्दै छन्। तर, यही उत्साहबिच लगानीकर्ताको एउटा ठुलो समूहमा मनोवैज्ञानिक सन्त्रास पनि छ–के प्रधानमन्त्री नियुक्त भएपछिकाे पहिलाे काराेबार हुने दिन आइतबार अर्थात १५ गते बजारमा ‘सेल अन न्युज’ (समाचार आएपछि शेयर बेच्ने प्रवृत्ति) हाबी होला ?

बजारमा अहिले दुई वटा धारणा बाझिएका छन्। आम लगानीकर्ताको एउटा तप्का बालेन प्रधानमन्त्री भएपछिकाे पहिलाे दिन नेप्सेमा ठुलो उछाल आउने र सोही विन्दुमा शेयर बेचेर बाहिरिनु पर्ने दाबी गरिरहेको छ। उनीहरूको तर्क छ, "त्यस दिन सप्लाई (बिक्री चाप) निक्कै बढी आउनेछ। जसले बजारमा ठुलो करेक्सन ल्याउन सक्छ।" यद्यपि, बजारका भेट्रान र सक्रिय लगानीकर्ता अम्बिकाप्रसाद पौडेल भने यो तर्कमा सहमत देखिँदैनन्। उनको बुझाइमा अहिलेको र्‍याली कुनै एउटा समाचारमा मात्र टिकेको छैन। बरु यो एउटा दीर्घकालीन बुलको सुरुवात हो।

पौडेलले बजारमा देखिने सामान्य अङ्कको गिरावटलाई उनी ‘स्वस्थ करेक्सन’ मान्छन्। पौडेल भन्छन्, "आजको ५ अंकको सानो वृद्धिले बजार अझै अगाडि बढ्ने संकेत गरेको छ। बालेन प्रधानमन्त्री भएपछिकाे पहिलाे काराेबार दिन शेयर बेच्नुपर्छ भन्ने कुरा मलाई ठिक लाग्दैन।" पौडेलका अनुसार यो र्‍याली असारसम्ममा ३२०० को ऐतिहासिक विन्दुसम्म पुग्ने सम्भावना छ। अहिले बजार केही दिन ‘साइडवेज’ (साँघुरो घेरामा उतारचढाव) रहे पनि यसले अन्ततः उकालो यात्रा नै तय गर्ने उनले बताए। "यो हप्ता २९०० को विन्दु थामिएमा भविष्य निक्कै राम्रो छ। लगानीकर्ता ढुक्क भए हुन्छ।"

बजार २,९३६.५६ को विन्दुमा बन्द भएको छ। सामान्य ५.०१ अंककाे वृद्धि देखिए पनि यसको भित्री पाटो निक्कै शक्तिशाली छ। झण्डै १५ अर्ब ७८ करोड रुपैयाँकाे यो उच्च कारोबार रकमले के पुष्टि गर्छ भने बजारमा शेयर किन्ने र बेच्ने दुवै पक्ष उत्तिकै सक्रिय छन्। ठुलो रकमको कारोबार हुनु भनेको बजारले नयाँ उचाइ लिनको लागि बलियो आधार तयार पार्नु हो। प्राविधिक चार्ट हेर्दा बजारले फागुनको अन्तिम साता २४६९ को न्यून विन्दुबाट तीव्र रिभर्स गरेको देखिन्छ। चार्टमा ‘हायर हाई’ र ‘हायर लो’ को शृङ्खला बन्नुले प्राविधिक रुपमा बजार ‘बुलिस’ ट्रेन्डमा रहेको देखाउँछ। यद्यपि १५४ कम्पनीको मूल्य ओरालो लागेको र १०२ को बढेको देखिए पनि नेप्से इन्डेक्स हरियो रहनुले ‘ब्लु–चिप’ र ठुला क्याप भएका कम्पनीमा आकर्षण बढेको संकेत गर्छ।

चैत १३ गते बालेन साह प्रधानमन्त्री बन्दा बजारमा केही प्रोफिट बुकिङ (नाफा सुरक्षित गर्ने होड) चल्न सक्छ र सप्लाई बढ्न सक्छ। तर, १५ अर्ब माथिको दैनिक कारोबारले त्यस्तो सप्लाइलाई सजिलै खपत गर्न सक्ने क्षमता बजारले देखाएको छ। अम्बिकाप्रसाद पौडेल जस्ता अनुभवी लगानीकर्ताको आत्मविश्वास र बजारमा आएको नयाँ राजनीतिक स्थिरताले के संकेत गर्छ भने, चैत १५ गते बजारको अन्त्य होइन, बरु एउटा नयाँ र शक्तिशाली आर्थिक सुधारको सुरुवात हुन सक्छ। यदि नेप्सेले २९००–३००० को मनोवैज्ञानिक तहलाई पार गरेर अघि बढेमा पौडेलले भनेझैँ असारसम्म ३२०० को यात्रा असम्भव देखिँदैन। तसर्थ, साना लगानीकर्ताले हल्लाको पछि लागेर आत्तिनुभन्दा बजारको उच्च टर्न ओभर र राजनीतिक स्थिरतालाई हेरेर विवेकपूर्ण निर्णय लिनु नै बुद्धिमानी हुने देखिन्छ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।