समस्याग्रस्त नेपाल शेयर मार्केट्सको व्यवस्थापनका लागि राष्ट्र बैंकले माग्यो संयोजक, मासिक पारिश्रमिक १ लाख २६ हजार

Apr 02, 2026 02:59 PM MeroLagani



नेपाल राष्ट्र बैंकले समस्याग्रस्त अवस्थामा रहेको नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन तथा सञ्चालनका लागि एक जना संयोजक पदमा दरखास्त आह्वान गरेको छ । केन्द्रीय बैंकको वित्तीय संस्था सुपरीवेक्षण विभाग अन्तर्गतको छनौट समितिले बुधबार एक सूचना जारी गर्दै योग्य नेपाली नागरिकबाट आवेदन मागेको हो ।

संयोजक पदका लागि उम्मेदवारले व्यवस्थापन, बैंकिङ, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, कानून वा गणित लगायतका विषयमा स्नातकोत्तर हासिल गरेको हुनुपर्नेछ ।सम्बन्धित उम्मेदवारसँग बैंकिङ क्षेत्रमा कम्तीमा १० वर्षको कार्यअनुभव भएको बैंकिङ विज्ञ हुनुपर्ने प्रावधान राखिएको छ । दरखास्त दिने अन्तिम मितिसम्म उम्मेदवारको उमेर ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ ।

सुरुमा १ वर्षका लागि नियुक्ति गरिनेछ । कार्य प्रगतिका आधारमा ६–६ महिनाका लागि दुई पटकसम्म सेवा अवधि नवीकरण गर्न सकिने बैंकले जनाएको छ । छनौट हुने संयोजकले मासिक १ लाख २६ हजार ३ सय रुपैयाँ पारिश्रमिक पाउनेछन् । यसका अतिरिक्त वार्षिक एक महिनाको पारिश्रमिक बराबर दशैं खर्च र वर्षको १२ दिन भैपरि आउने बिदा सुविधा उपलब्ध हुनेछ ।

यस बाहेक अन्य कुनै पनि प्रकारको भत्ता प्रदान गरिने छैन । इच्छुक उम्मेदवारले २०८३ वैशाख ९ गते बुधबार कार्यालय समयभित्र बालुवाटारस्थित छनौट समितिको सचिवालयमा आवेदन दिनुपर्नेछ । दरखास्तका साथमा शैक्षिक योग्यता, नागरिकता, अनुभवका कागजात र व्यावसायिक कार्ययोजना पेश गर्नुपर्नेछ। उम्मेदवारको छनौट कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका माध्यमबाट गरिने सूचनामा उल्लेख छ। छनौट भएका उम्मेदवारले पुतलीसडकस्थित नेपाल शेयर मार्केट्स एण्ड फाइनान्सको कार्यालयमा रहेर कार्य गर्नुपर्नेछ ।




अब सुचिकृत कम्पनीको शेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुन पाउने, प्री ओपन सेसनको सिमा ५ %

Apr 09, 2026 01:14 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ मा ठुलो संशोधन गरेको छ।