आउने दिनहरूमा देशको अर्थतन्त्रले कुन लय समात्दैछ, बजार चलायमान हुन्छ कि हुँदैन,नीतिगत स्थायित्व र लगानीमैत्री वातावरण बन्छ कि बन्दैन भन्ने कुराको पूर्वसंकेत शेयर बजारले निकै अगाडि नै दिने गर्दछ। जब देशको अर्थतन्त्र सकारात्मक दिशामा अघि बढ्ने संकेतहरू देखिन्छन्, शेयर बजारले अगाडि नै बढ्दो रफ्तार (बुलिस ट्रेन्ड) समात्छ। तर, जब अर्थतन्त्रमा कुनै सुधार नहुने, बरु नीतिगत अन्योल र संकुचन कायमै रहने संकेत मिल्छ, शेयर बजारले पहिल्यै ओरालो यात्रा तय गरेर सरकारको नीतिलाई खारेज गरिदिन्छ।
मुलुकमा बालेन्द्र शाह (बालेन) को नेतृत्वमा नयाँ सरकार गठन भई प्रखर अर्थशास्त्रीका रूपमा चर्चित डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको बागडोर सम्हालेको तीन महिना पूरा भइसकेको छ। तर, अर्थतन्त्रमा सुधार गर्ने ठूला भाषण र प्रचारबाजीका बीच यो अवधिमा खर्च र राजस्व संकलन दुवैमा कुनै तात्विक सुधार आउन सकेको छैन। आगामी दिनमा पनि नीतिगत परिवर्तन र अर्थतन्त्र सुधारको कुनै गुन्जायस नदेखिएको स्पष्ट संकेत शेयर बजारले अहिल्यै दिइसकेको छ। अर्थमन्त्रीका रूपमा वाग्ले भित्रिएकै दिनदेखि तीन महिना बितिसक्दा पनि उनलाई पत्याउन सकेको छैन। यसको ज्वलन्त प्रमाण हो– वाग्ले आएको यो तीन महिनाको अवधिमा शेयर बजार (नेप्से) परिसूचकमा आएको करिब ३०० अंकको ऐतिहासिक पहिरो।
तथ्याङ्कको कसिमा वाग्लेको तीन महिना: ३०० अंकको गिरावट र ४ खर्ब ७१ अर्ब स्वाह
महालेखा नियन्त्रक कार्यालयको निराशाजनक वित्तीय सूचकले शेयर बजारको कन्तबिजोगकाे पुष्टि गर्दछ। तथ्याङ्क हेर्ने हो भने, गत चैत १२ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २९५०.१६ को ऐतिहासिक विन्दुमा रहेको थियो। त्यतिबेला नयाँ सरकार गठन र डा. वाग्लेको अर्थमन्त्रालयमा आगमनलाई लिएर बजारले केही आशा राखेको थियो। तर, वाग्लेले कार्यभार सम्हालेकै दिनदेखि बजार लगातार ओरालो लाग्यो र तीन महिनाको अवधिमा नेप्से परिसूचक ३००.६५ अंकले घटेर २६४९.५९ को विन्दुमा झरेको छ।
बजार परिसूचक मात्र घटेको छैन, यस अवधिमा कुल बजार पूँजीकरणमा झण्डै ४ खर्ब ७१ अर्ब रुपैयाँ बराबरको गिरावट आएको छ। नयाँ सरकार बन्दा ५० खर्ब ९ अर्ब रुपैयाँ रहेको कुल बजारको पूँजीकरण अहिले खुम्चिएर ४५ खर्ब ३८ अर्ब रुपैयाँमा झरेको छ।
बजेटपछि झनै निराशा
चर्चित अर्थशास्त्री हुनुको नाताले डा. वाग्लेबाट निजी क्षेत्र र शेयर लगानीकर्ताले ठूलो नीतिगत सुधारको अपेक्षा गरेका थिए। बजारलाई कसिलो बनाएको मौद्रिक नीतिका केही सुधारात्मक व्यवस्थाहरूमा अर्थमन्त्रीले समन्वय गर्ने र पूँजी बजारलाई प्रोत्साहन गर्ने नीति ल्याउने अपेक्षा थियो। तर, उनले ल्याएको बजेटले लगानीकर्तालाई पूर्ण रूपमा निराश बनायो।
बजेट भाषणमा शेयर बजारका विषयमा ठोस र सकारात्मक सम्बोधन हुनुको साटो करका दरहरूमा थप कडाइ र नीतिगत अन्योलता मात्र सिर्जना गरियो। बजेट घोषणापछि त बजार ओरालो लाग्ने क्रम झनै तीव्र बन्यो। असारको पहिलो र दोस्रो सातासम्म आइपुग्दा नेप्से निरन्तर घट्दो लयमा छ। बजेट भाषणपछिको हप्तैपिच्छे बजारले नयाँ न्यून विन्दु समात्नुले स्पष्ट पार्छ– शेयर बजारले अर्थमन्त्री वाग्लेका योजना र बजेटलाई पूर्ण रूपमा 'अस्वीकार' गरिदिएको छ।
सम्पत्ति शुद्धीकरणको डण्डा र लगानीकर्तामा त्रासको वातावरण
पछिल्लो समय सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धानका नाममा चालेका अपरिपक्व र त्रासयुक्त कदमहरूले शेयर बजारमा ठूलो हलचल पैदा गरेको छ। व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल, पूर्वअर्थमन्त्री रामशरण महत र पूर्वप्रधानमन्त्री केपी ओलीका निकटस्थहरूमाथि सम्पत्ति शुद्धीकरण विभागमार्फत सुरु गरिएको अनुसन्धानले बजारमा आतंक सिर्जना गरेको छ।
सरकारको एकपछि अर्को त्रसित बनाउने खालका गतिविधिले गर्दा बजारका ठूला र संस्थागत लगानीकर्ताहरू पूर्ण रूपमा निष्क्रिय बनेका छन्। सरकारी त्रासका कारण निजामती कर्मचारी, सुरक्षाकर्मी र ठूला व्यावसायिक घरानाहरूले बजारबाट धमाधम आफ्नो लगानी झिकेर बाहिरिने क्रम तीव्र बनाएका छन्। सम्पत्ति विवरण बुझाउनुपर्ने दबाब र करको डरले गर्दा बजारका सक्रिय कारोबारीहरू पनि अहिले निष्क्रिय बस्न बाध्य भएका छन्। जसले गर्दा बजारमा तरलता संकुचन भएको छ।
विज्ञतामाथि प्रश्न: शेयर बजारको नजरमा ‘अनुपयुक्त’ अर्थमन्त्री
शेयर बजारको दृष्टिकोणबाट हेर्दा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको बिग्रँदो अर्थतन्त्रलाई सही मार्गमा ल्याउन सकिरहेका छैनन्। सैद्धान्तिक भाषणमा उनी अब्बल सुनिए पनि देशको आन्तरिक वित्तीय वास्तविकता, पूँजी बजारको संवेदनशीलता र व्यावहारिक समस्याहरू सुल्झाउन असफल देखिएका छन्।
मन्त्रालय सम्हालेको तीन महिना बितिसक्दा पनि उनले न सरकारी खर्चको दर बढाउन सके, न त आन्तरिक राजस्व संकलनमै कुनै सुधार ल्याउन सके। समग्र अर्थतन्त्र शिथिल बन्दै गइरहेको बेला निजी क्षेत्रलाई विश्वासमा लिन नसक्नु र शेयर बजारका ५० लाखभन्दा बढी लगानीकर्तालाई उपेक्षा गर्नु पक्कै पनि राम्राे बिषय हाेइन। शेयर बजारले उनी मन्त्री बनेकै दिनदेखि उनको कार्यशैली र नीतिलाई पत्याउन छोडेको थियो। जुन अविश्वास आजपर्यन्त कायम छ।
समयमै सच्चिन चेतावनी
शेयर बजारमा देखिएको यो निराशाजनक कन्तबिजोग केवल एउटा क्षेत्रको समस्या मात्र होइन। यसले समग्र मुलुकको भावी आर्थिक संकटको पूर्वसंकेत गरिरहेको छ। अर्थमन्त्री वाग्लेले शेयर बजारको यो कठोर मूल्यांकनलाई बेलैमा आत्मसात गर्नुपर्छ। अर्थतन्त्र केवल कागजी योजनाले चल्दैन, यसका लागि बजारको आत्मविश्वास जित्न जरुरी हुन्छ। यदि वाग्लेले आफ्नो नीतिगत हठ त्यागेर लगानीमैत्री वातावरण सिर्जना नगर्ने हो भने आगामी दिनमा देशको समग्र वित्तीय प्रणाली नै धराशायी हुने निश्चित छ।