नेप्सेको नयाँ नेतृत्व चयनका लागि मन्त्रालयले 'छनोट तथा सिफारिस समिति' गठन गरिसकेको छ। सोही समितिको निर्णयअनुसार पहिलो पटक यो सूचना प्रकाशित गरिएको हो। इच्छुक र योग्य उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा आफ्नो आवेदन दर्ता गराउनुपर्नेछ।
के कस्तो शैक्षिक योग्यता र अनुभव आवश्यक छ?
सूचनाअनुसार नेप्सेको प्रमुख कार्यकारी बन्नका लागि उम्मेदवारको शैक्षिक तथा पेसागत पृष्ठभूमि उच्च हुनुपर्ने प्रावधान राखिएको छ। मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर (Master's Degree) हासिल गरेको वा चार्टर्ड एकाउन्टेन्सी (CA) वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ।
अनुभवको हकमा, उम्मेदवारसँग पूँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा १५ वर्षको कार्य अनुभव हुनुपर्नेछ। जसमा कम्तीमा सात वर्ष व्यवस्थापकीय तहमा काम गरेको अनुभव अनिवार्य गरिएको छ। सूचनामा 'व्यवस्थापकीय तह' लाई स्पष्ट पार्दै भनिएको छ– "नेपाल सरकारको अधिकृत स्तरको कम्तीमा द्वितीय श्रेणी वा सो सरह वा कम्पनी वा सङ्गठित संस्थाको हकमा कार्यकारी प्रमुख वा सोको दुई तह मातहत सम्मको व्यवस्थापकीय नेतृत्वमा रहेको व्यक्तिलाई सम्झनुपर्नेछ।"
उमेर र अयोग्यताका सर्तहरू
नेप्सेको कार्यकारी प्रमुखका लागि आवेदन दिने उम्मेदवारको उमेर आवेदन दिने अन्तिम मितिसम्म ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ। यसबाहेक, 'अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३' बमोजिम देहायका व्यक्तिहरू यस पदका लागि अयोग्य मानिनेछन्:
१. गैर-नेपाली नागरिक।
२. भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागुऔषध कारोबार, पुरातात्त्विक वस्तु वा संरक्षित वन्यजन्तु सम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाएको व्यक्ति।
३. प्रचलित कानुन बमोजिम कालो सूचीमा समावेश भई सो सूचीबाट फुकुवा भएको अवधि तीन वर्ष पूरा नभएको।
४. कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति (PR/DV/Green Card) प्राप्त गरेको।
५. मानसिक सन्तुलन ठीक नभएको व्यक्ति।
व्यावसायिक कार्ययोजना अनिवार्य
आवेदन दिँदा उम्मेदवारले केवल आफ्नो बायोडाटा र शैक्षिक प्रमाणपत्र मात्र बुझाएर पुग्दैन। नेप्सेलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने स्पष्ट सोचसहितको 'व्यावसायिक कार्ययोजना' (Business Action Plan) पनि पेस गर्नुपर्नेछ।
सूचनाअनुसार, उम्मेदवारले तीन प्रति खामबन्दी व्यावसायिक कार्ययोजना आवेदनका साथ बुझाउनुपर्नेछ। खामको बाहिर आवेदकको नाम र "नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन तथा व्यावसायिक कार्ययोजना" स्पष्ट रूपमा उल्लेख गरी हस्ताक्षर गरेको हुनुपर्ने व्यवस्था गरिएको छ।
आवेदन दस्तुर र अन्य विवरण
यस पदका लागि आवेदन दिने व्यक्तिले ५ हजार रुपैयाँ आवेदन दस्तुर बुझाउनुपर्नेछ। उक्त रकम राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखामा रहेको अर्थ मन्त्रालयको कार्यालय कोड नं. ३०५००३५०१ र राजस्व शीर्षक १८२२४ मा जम्मा गरी सक्कल भौचर आवेदनका साथ पेस गर्नुपर्नेछ। प्रमुख कार्यकारी अधिकृतले पाउने पारिश्रमिक, भत्ता तथा अन्य सुविधाहरू नेपाल सरकारले तोकेको मापदण्ड बमोजिम हुने सूचनामा उल्लेख छ।
छनोट प्रक्रिया कसरी हुन्छ?
प्राप्त भएका आवेदनहरू मध्येबाट छनोट समितिले उम्मेदवारको शैक्षिक योग्यता, अनुभव, व्यावसायिक कार्ययोजनाको मूल्याङ्कन र प्रस्तुतीकरण (Presentation) का आधारमा उपयुक्त व्यक्तिलाई सिफारिस गर्नेछ। समितिले कुनै पनि आवेदनलाई कारण खुलाएर वा नखुलाई रद्द गर्ने अधिकार आफूमा सुरक्षित राखेको छ। यदि कुनै आवेदकले झुट्टा विवरण वा कागजात पेस गरेको पाइएमा त्यस्तो आवेदन रद्द हुनुका साथै प्रचलित कानुन बमोजिम कारबाही समेत हुने चेतावनी दिइएको छ।