एफवानसफ्ट इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल नियुक्त

Apr 16, 2026 04:31 PM Merolagani



एफवानसफ्ट इन्टरनेशनलले आफ्नो २२औँ वार्षिकोत्सवको अवसरमा सनत कुमार पौडेललाई कम्पनीको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ।

कम्पनीले विशेष कार्यक्रममा उक्त नियुक्तिको घोषणा गरेको हो। यससँगै लामो समयदेखि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका सह–संस्थापक तथा निर्देशक सुबास शर्माले पद हस्तान्तरण गरेका छन्।

शर्माले एक दशकभन्दा बढी समय सीईओका रूपमा काम गरेका थिए। उनी अब निर्देशकको भूमिकामा रहँदै कम्पनीको रणनीतिक दिशानिर्देशनमा संलग्न हुनेछन्।

नवनियुक्त सीईओ पौडेल हाल फोनेक्स्ट प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत पनि हुन्। उनी एफवानसफ्ट समूहमा प्रवेश गर्नुअघि नबिल बैंकमा एक दशकभन्दा बढी समय कार्य गर्दै भुक्तानी प्रविधि व्यवस्थापन तथा डिजिटल रूपान्तरण कार्यक्रमको नेतृत्व गरेका थिए। उनी दुई दशकभन्दा बढी अनुभव भएका सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रका अनुभवी व्यवसायी हुन्।

एफवानसफ्टले नेपालको डिजिटल वित्तीय सेवाको विस्तारमा अग्रणी भूमिका खेल्दै आएको छ। ई–सेवा, फोनपे लगायतका डिजिटल भुक्तानी समाधानमार्फत कम्पनीले देशमा डिजिटल कारोबारलाई व्यापक बनाएको छ। बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा कम्पनीले नगदरहित अर्थतन्त्रतर्फको यात्रालाई समेत गति दिएको छ।

नवनियुक्त सीईओ पौडेलले कम्पनीको २२ वर्षे यात्रालाई थप मजबुत बनाउँदै प्रविधि नेतृत्व विस्तार गर्ने,सेवा सुधार गर्ने र दीर्घकालीन मूल्य सिर्जना गर्ने लक्ष्य लिएको बताएका छन्। साथै उनले नेपालको फिनटेक क्षमतालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कम्पनीले नेतृत्व हस्तान्तरणलाई सुशासन, निरन्तरता र नेतृत्व विकासको उदाहरणका रूपमा लिएको छ। तेस्रो दशकमा प्रवेश गर्दै एफवानसफ्टले आफ्नो संस्थागत क्षमता विस्तार गर्ने र देश तथा अन्तर्राष्ट्रिय बजारमा प्रभाव बढाउने लक्ष्य राखेको छ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।