आईतवार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद प्रमेश हमालले गरेकाे प्रश्नको जवाफ दिँदै उनले उत्पादन र निर्यात बढाउन तत्काललाई नेपाल अल्पविकसित राष्ट्र (एलडिसी) बाट स्तरोन्नति हुने कार्यक्रम स्थगित गरिएको बताए । उनले नेपाललाई उत्पादन र निर्यातमुखी अर्थतन्त्रतर्फ लैजान आवश्यक रहेको बताए । उनले निर्यातमा प्राप्त हुँदै आएका कर छुट तथा व्यापारिक सहुलियतहरूलाई ध्यानमा राखेर सरकारले रणनीतिक कदम चाल्नुपर्ने उल्लेख गरे । प्रधानमन्त्री साहले एलडिसी स्तरोन्नतिसँगै नेपाली वस्तु निर्यातमा लाग्ने कर तथा व्यापारिक सुविधामा असर पर्न सक्ने भएकाले सरकारले दुई वर्षसम्मको थप समय लिएको जानकारी दिए। अहिले देशको प्राथमिकता आत्मविश्वास बढाउनेभन्दा पनि आर्थिक गतिविधि विस्तार गर्दै राजस्व र आम्दानी वृद्धि गर्नु रहेको उनको भनाई छ ।
उनले भने, ‘हाम्रो छिमेकी राष्ट्र चीन अस्ती भर्खरै डेभलपिङबाट डेभलबमा गएको थियो । जबकी त्यो देश डेभलवमेन्टको परकाष्टा नाघिसकेको देश हो, त्यो । यो कुराहरु चाँही रणनितिक रुपमा सरकारले राख्नुपर्छ । अहिले नै हामीले एलडिसीबाट ग्रायजुयट हुँदैगर्दा हाम्रो व्यापारका कुराहरु, निर्यात गर्ने बस्तुहरुमा लाग्ने कर अहिले छुट पाईन्छ । हामी निर्यातमुखी हुनुपर्छ । देशमा उत्पादन भएको बस्तुहरु विभिन्न राष्ट्रहरुमा हामीले निर्यात गर्न पाउँ भन्ने हिसाबले दुई वर्ष थप गरेका हौँ । अहिले आत्मविश्वास बढाउने भन्दा पनि देशलाई पैसा चाहिएको छ, पैसा बढाउनेतिर ध्यान गएको छ, हाम्रो ।’
सासंद हमालले सबै मापदण्ड पुगिसक्दा पनि किन एलडिसी स्तरोन्नति गर्न समय थप गरेको ? भन्दै प्रश्न गरेका थिए।