बैठकमा परराष्ट्र मन्त्री खनालले प्रधानमन्त्री बालेन शाह र नेपाली जनताको तर्फबाट भारत सरकारलाई शुभकामना सन्देश दिँदै नेपालको नयाँ सरकार सुशासन, आर्थिक रूपान्तरण र परिणाममुखी कूटनीतिका लागि स्पष्ट जनादेशका साथ आएको स्पष्ट पारेका थिए। उनले भने, ‘हामीसँग कुनै पुरानो बोझ वा विवाद छैन, केवल हाम्रा नजिकका छिमेकी र सबैभन्दा महत्त्वपूर्ण साझेदारसँग वास्तविक रूपमै रूपान्तरणकारी सम्बन्ध निर्माण गर्ने दृढ संकल्प छ।’
दुई मन्त्रीहरूले बैठकका क्रममा तीनबुँदे संयुक्त घोषणा गरेका छन् ।
- जुन २०२३ मा एनसीएचएल र एनपीसीआईबीच हस्ताक्षर भएको समझदारीपत्रअन्तर्गत ए२ए क्रस बोर्डर भुक्तानी लेनदेनको सञ्चालन।
- भारतको विकास सहयोगमा निर्मित नेपालमा भूकम्पपछिको ७२ वटा स्वास्थ्य क्षेत्र र १२ वटा सांस्कृतिक क्षेत्रको पुनर्निर्माण परियोजनाहरू हस्तान्तरण ।
- ‘भ्वाइस फर्स्ट’ भाषा अनुवाद प्लेटफर्मका निम्ति राष्ट्रिय डिजिटल पूर्वाधारको सहनिर्माणका लागि काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङको डिजिटल सार्वजनिक पूर्वाधार र कृत्रिम बुद्धिमत्ता केन्द्र र डिजिटल भारत भाशिनी डिभिजनबीच समझदारीपत्र आदानप्रदान ।
यसअघि, भारतीय विदेशमन्त्री जयशंकरले भेटमा विकास सहयोग, कनेक्टिभिटी, ऊर्जा, विशेष गरी जलविद्युत् विकास, शिक्षा, स्वास्थ्य, क्यापासिटी बिल्डिङ, डिजिटल, संस्कृति र खेलकुदलगायत नेपाल–भारत साझेदारीका बारेमा विस्तृत छलफल भएको बताएका थिए।
मन्त्री खनाल आज (जेठ २४ गते) स्वदेश फर्कने कार्यक्रम छ।