६८ वर्ष पुरानो ‘रेकर्ड’ को बराबरी, ४४ वर्ष पुरानो अर्काे ‘रेकर्ड’ तोडिने अवस्था, के यो विश्वकप ‘रेकर्ड’हरुको ‘रेकर्ड’ तोडिने विश्वकप बन्न लागेको हो ?

Jun 16, 2026 04:03 PM Mero lagani



विश्वकप फुटवल प्रतियोगिता शुरु भएको ५ दिन पुरा भएको छ ।

अहिलेसम्म जसरी खेलका नतिजाहरु आइरहेका छन्, तिनीहरुलाई हेर्दा यो विश्वकप विश्वकपमा ‘रेकर्ड’हरुको ‘रेकर्ड’ तोडिने विश्वकप बन्न लागेको हो कि भन्ने देखिदैछ । यसो त प्रतियोगिता शुरु हुनु अगाडि नै यो विश्वकपले अनेकौं ‘रेकर्ड’हरु कायम गरिसकेको छ ।

प्रतियोगिता शुरु भएका पाँचौं दिनमा आइपुग्दा यस पटकको विश्वकपले ६८ वर्ष पुरानो ‘रेकर्ड’ को बराबरी गरिसकेको छ भने ४४ वर्ष पुरानो अर्काे ‘रेकर्ड’ तोडिने सम्भावना देखिएको छ । त्यो हो, बराबरी खेल (Draw Matches) को रेकर्ड ।

जुन ११ देखि शुरु भएको विश्वकपमा जुन १५ सम्म अर्थात ५ दिनको अवधिमा कुल १६ वटा खेलहरू सम्पन्न भइसकेका छन्।

यी १६ खेलहरूमध्ये ६ वटा खेलहरू बराबरी मा टुंगिएका छन्
१. क्यानडा विरुद्ध बोस्निया एन्ड हर्जगोभिना (१-१) 
२. नेदरल्यान्ड्स विरुद्ध जापान (२-२)
३. स्पेन विरुद्ध केप भर्ड (०-०_
४. बेल्जियम विरुद्ध इजिप्ट (१-१)
५. साउदी अरब विरुद्ध उरुग्वे (१-१)
६. इरान विरुद्ध न्युजिल्यान्ड (२-२)


त्यसमध्ये पनि विशेष रोचक तथ्य के छ भने जुन १५ (प्रतियोगिताको पाँचौँ दिन) का सबै ४ वटै खेलहरू बराबरीमा सकिएका थिए। विश्वकपको इतिहासमा एउटै दिन खेलिएका सबै ४ वटा खेल बराबरी भएको यो ६८ वर्षपछिको पहिलो घटना हो । यसअघि सन् १९५८ को स्वीडेन विश्वकपमा जुन १५ कै दिन एकैसाथ ४ खेल बराबरी भएका थिए । अर्थात् यसपटकको विश्वकपमा ६८ वर्षको रेकर्डको बराबरी भैसकेको छ ।

अहिलेसम्म भएका बराबरीका खेलहरुको संख्या हेर्दा ४४ वर्ष पुरानो अर्काे रेकर्ड तोडिने सम्भावना अध्यधिक देखिएको छ ।

विश्वकपको एउटै संस्करणमा सबैभन्दा धेरै बराबरी खेलहरू भएको कीर्तिमान सन् १९८२ को स्पेन विश्वकप को नाममा छ। स्पेनमा खेलिएको १२ औँ फिफा विश्वकप इटालीले जितेको थियो । फाइनल खेलमा इटालीले पश्चिम जर्मनीलाई ३-१ गोल अन्तरले पराजित गर्दै आफ्नो तेस्रो विश्वकप उपाधि चुमेको थियो ।

उक्त विश्वकपमा कुल १७ वटा खेलहरू बराबरी (Draw Matches) मा टुंगिएका थिए जसमध्ये १६ वटा खेल पहिलो र दोस्रो समूह चरणमा भएका थिए।

यसबाहेक, सन् २०१० को दक्षिण अफ्रिका विश्वकपमा १६ खेल तथा सन् १९९८ फ्रान्स र २०२२ कतार मा १५–१५ खेलहरू बराबरी भएका थिए ।

फिफाको आधिकारिक नियम अनुसार, नकआउट चरणमा अतिरिक्त समय पछि पनि बराबरी भएर पेनाल्टी सुटआउटबाट नतिजा निकालिएका खेलहरूलाई पनि तथ्याङ्कमा बराबरीकै रूपमा गनिन्छ। स्मरणरहोस् सन् २०२२ को विश्वकपको फाइनल पनि निर्धारित समयमा २-२ र त्यसपछिको अतिरिक्त समयमा ३-३ को रोमाञ्चक बराबरी भएपछि । अन्ततः पेनाल्टी सुटआउटमा अर्जेन्टिना ४-२ ले विजयी हुँदै विश्वविजेता बनेको थियो ।

सहभागी संख्याको हिसाबले हेर्ने हो भने, फुटबल विश्वकपको इतिहासमै सबैभन्दा ठूलो सहभागिता चालू २०२६ को विश्वकप मा भएको छ।

फिफाले यसै संस्करणदेखि टोलीहरूको संख्या ३२ बाट बढाएर ४८ पुर्याएकाले देश,खेलाडी र प्रशिक्षकसहित समग्र टोलीका सदस्यहरूको संख्याले इतिहासकै सबै रेकर्ड तोडेको छ।

यसअघि सन् १९९८ देखि २०२२ सम्मका विश्वकपमा ३२-३२ टोलीहरू मात्र सहभागी हुन्थे।

खेलाडीहरूको संख्या

फिफाले आधिकारिक रूपमा पुष्टि गरे अनुसार यस विश्वकपमा रेकर्ड १,२४८ जना खेलाडीहरू सहभागी छन्। प्रत्येक ४८ टोलीलाई बढीमा २६ जना खेलाडीको टोली राख्ने अनुमति दिइएको थियो। यसअघि २०२२ मा ३२ टोली हुँदा कुल ८३२ खेलाडी मात्र थिए ।

यस्तै प्रत्येक देशको एक-एक जना मुख्य प्रशिक्षक हुने नियम अनुसार यस पटक ४८ जना मुख्य प्रशिक्षकहरू रणनीतिक युद्ध मैदानमा छन् ।

अन्य सहभागीहरू

फिफाको नियम अनुसार प्रत्येक टोलीले खेलाडी बाहेक आफ्नो प्राविधिक टोली (सहायक प्रशिक्षक, गोलकिपर प्रशिक्षक, भिडियो विश्लेषक),मेडिकल टोली (डाक्टर,फिजियोथेरापिस्ट) र व्यवस्थापकहरू गरी थप २० देखि २५ जना आधिकारिक सदस्यहरू लैजान पाउँछन्।

यस हिसाबले ४८ वटा टोलीका तर्फबाट मात्रै करिब १,००० देखि १,२०० जना अफिसियलहरू खेल मैदान र क्याम्पमा प्रत्यक्ष सहभागी छन्।

यति धेरै संख्यामा टोली, खेलाडी, प्रशिक्षक प्राविधिक टोलीको सहभागिताको हिसाबले यो विश्वकपमा अनेकौं रेकर्डहरु पहिले नै बनिसकेका छन् ।

 




सहयोग नगर्ने कर्मचारी संयन्त्र ढाल्ने पुरानै अस्त्र: २०४८ को गिरिजाबाबुको नजिर पछ्याउँदै वर्तमान सरकार

Jun 13, 2026 11:49 AM

सुवास निरौला

"२०४८ सालमा गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुनुभो। त्यतिखेर हामी अहिले जस्तो बुढा थिएनौँ। पृथ्वी नै तीन बित्ता उचाल्न  सकिन्छ भन्ने हामीमा उत्साह थियो।