अन्ततः अमेरिका र इरानबीच सहमति, तेलको मूल्य घट्यो

Jun 15, 2026 08:25 AM Merolagani



३ महिनाभन्दा लामो समयदेखि युद्धरत अमेरिका र इरानबीच अन्ततः सहमती भएको छ । युद्ध अन्त्यका लागि सहमति भएको घोषणापछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ।

शुरुदेखि नै युद्ध अन्त्यको लागि मध्यस्तता गरिरहेका पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफका अनुसार लेबननसहित सबै मोर्चामा हुने सैन्य कारबाही अन्त्य गर्ने सहमति भएको छ। उनका अनुसार उक्त सम्झौतामा आगामी शुक्रवार स्विट्जरल्यान्डमा औपचारिक हस्ताक्षर हुनेछ।

अमेरिका र इरान दुवैले सहमती भएको घोषणा गरे पनि के के विषयमा सम्झौता भयो भन्ने बारेमा स्पष्टरुपमा केही खुलाएका छैनन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौतामा हस्ताक्षर भएपछि तेलको आपूर्ति पुनः सुरु हुने बताएका छन्। उनले स्ट्रेट अफ होर्मुजको प्रयोग स्थायी रूपमा निःशुल्क हुने दाबी पनि गरेका छन्।

अन्तिम सम्झौताका लागि ६० दिन भित्रमा वार्ता हुने तय भएको उनले बताएका छन्।

इरानी सञ्चारमाध्यमहरूले अमेरिकाले इरानमाथि लगाएको सामुद्रिक नाकाबन्दी ३० दिनभित्र अन्त्य गरिने सहमति भएको जनाएका छन्।

स्मरणरहोस् अमेरिका र इजरेलले फेब्रुअरी २८ मा इरानमाथि व्यापक हमला सुरु गरेका थिए। जबाफमा इरानले अमेरिकालाई सहयोग गरिरहेका खाडी राष्ट्रहरूमा आक्रमण गर्‍यो र विश्वभरिका लागि तेल र प्राकृतिक ग्यासको प्रमुख ढुवानी मार्ग होर्मुज जलमार्ग बन्द गरेको थियो। त्यस्ले विश्वव्यापी ढुवानी च्यानल अवरुद्ध भएको थियो ।

अमेरिका र इरानबीच गत एप्रिलमा दुई साताका लागि युद्धविराम सहमति भएको थियो। उक्त युद्धविरामलाई दुवै पक्षले निरन्तरता दिएको बताए पनि त्यसयता दुवै पक्षबीच छिटपुट आक्रमण भइरहेका थिए।

ऊर्जा बजारमा हलचलः कच्चा तेलको मूल्यमा भारी गिरावट

सैन्य तनाव घट्ने र शान्ति सम्झौता हुने निश्चित भएसँगै अन्तर्राष्ट्रिय ऊर्जा बजारमा कच्चा तेलको मूल्य तीव्र गतिमा ओरालो लागेको छ। युद्ध चर्किएर तेलको मूल्य प्रति ब्यारेल १५० डलरसम्म पुग्न सक्ने प्रक्षेपण गरिरहेका विश्लेषकहरू यो नयाँ घटनाक्रमपछि तरंगित भएका छन्। सम्झौताको घोषणा लगत्तै बजारमा देखिएको गिरावट यसप्रकार छः

  • ब्रेन्ट क्रुड – ४.१ प्रतिशत घट्यो
  • डब्लुटिआई – ४.७ प्रतिशत घट्यो

कच्चा तेलको मूल्यमा आएको यो गिरावट गत मार्च महिना यताकै सबैभन्दा न्यून स्तर हो। यसले विश्वभर बढ्दै गएको उपभोक्ता महँगी र उत्पादनमूलक उद्योगहरूको इन्धन लागतमा तत्कालका लागि ठूलो राहत दिने अपेक्षा गरिएको छ।

यदि आगामी शुक्रबार स्विट्जरल्याण्डमा हुने औपचारिक हस्ताक्षर कार्य बिना कुनै अवरोध सम्पन्न भएमा, बजार विश्लेषकहरूका अनुसार कच्चा तेलको मूल्य अझ घटेर प्रति ब्यारेल ७० डलर देखि ७५ डलरको स्थिर दायरामा आउन सक्छ। तर, शुक्रबार अगावै क्षेत्रीय गुटहरूबीच पुनः तनाव उत्पन्न भएमा तेल बजार फेरि अस्थिर बन्न सक्ने जोखिम पनि कायमै छ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।