नेपाल सरकारले इन्धनको खपत घटाउने र विदेशी मुद्रा सञ्चिति जोगाउने उद्देश्यले सातामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने नीति लागू गरेसँगै यसले देशको आन्तरिक पर्यटन क्षेत्रमा एउटा अभूतपूर्व तरङ्ग पैदा गरिदिएको छ। सङ्कटको समाधानका रूपमा ल्याइएको यो नीति अहिले शिथिल बनेको पर्यटकीय अर्थतन्त्रका लागि एउटा नयाँ संजीवन सावित भइरहेको छ।
नेपालले सातामा दुई दिन बिदा दिने निर्णय कुनै सहज वा रहरलाग्दो परिस्थितिमा गरेको होइन। विश्व बजारमा खाडी द्वन्द्वका कारण इन्धनको मूल्य अत्यधिक बढेपछि मुलुकभित्र चरम इन्धन सङ्कट र व्यापार घाटाको स्थिति सिर्जना भयो। सरकारले शोधनान्तर घाटा कम गर्न र आयातित पेट्रोलियम पदार्थको खपत घटाउनका लागि सरकारी कार्यालयहरूमा साताको दुई दिन बिदा दिने नीति अवलम्बन गर्यो।
सुरुमा यस नीतिलाई लिएर सेवाग्राही र सार्वजनिक सेवा प्रवाहमा समस्या आउने भन्दै आलोचना पनि भयो। विद्यालयहरूमा विद्यार्थीको कोर्स समयमै नसकिने चिन्ता शिक्षक र अभिभावकहरूमा अझै पनि छ। तर, यी तमाम व्यावहारिक जटिलताका बाबजुद यो निर्णयले मुलुकको पर्यटकीय गन्तव्यहरूमा भने निकै सकारात्मक र उत्साहजनक प्रभाव पारेको छ। कोरोना महामारी र आर्थिक मन्दीका कारण लामो समयदेखि थला परेको पर्यटन क्षेत्रलाई यसले तत्कालै प्राण भर्ने काम गरेको छ।
पहिले सातामा केवल एक दिन (शनिबार) मात्र बिदा हुँदा मानिसहरू काठमाडौँ वा अन्य शहरहरूबाट बाहिर टाढाका पर्यटकीय क्षेत्रमा जान हिचकिचाउँथे। एक दिनको बिदामा टाढाको यात्रा गरेर फर्किन भ्याइँदैनथ्यो र यात्रा निकै थकाइलाग्दो हुन्थ्यो। तर सातामा शनिबार र आइतबार गरी लगातार दुई दिन बिदा हुन थालेपछि मानिसहरूलाई पर्यटकीय क्षेत्रमा कम्तिमा एक रात बिताएर आरामसँग घर फर्किने पर्याप्त समय मिलेको छ।
यसले गर्दा अहिले मध्य र लामो दूरीका पर्यटकीय गन्तव्यहरूमा चहलपहल निकै बढेको छ। आन्तरिक पर्यटकहरू शुक्रबार साँझ वा शनिबार बिहानै आफ्नो यात्रा सुरु गर्छन्, गन्तव्यमा पुगेर शनिबारको रात र आइतबारको आधा दिन मज्जाले घुमघाम र मनोरञ्जनमा बिताउँछन् र आइतबार साँझसम्ममा घर फर्किन्छन्। यस नयाँ बानीले समग्र आन्तरिक पर्यटनको बजार शेयर (हिस्सा) लाई निकै फराकिलो बनाइदिएको छ।
साताको दुईदिने बिदाको सबैभन्दा ठूलो र प्रत्यक्ष फाइदा चितवनको सौराहा, पोखरा, लुम्बिनी र नगरकोट जस्ता स्थापित पर्यटकीय केन्द्रहरूले उठाइरहेका छन्। विशेष गरी चितवनको सौराहामा अहिले शनिबार र आइतबार पर्यटकहरूको उल्लेख्य भीड देख्न सकिन्छ। कोरोना महामारी र त्यसपछिको आर्थिक शिथिलताका कारण लामो समय संकट झेलेका सौराहाका होटल व्यवसायीहरूका लागि यो दुईदिने बिदा एउटा ठूलो बरदान सावित भएको छ।
अहिले सौराहाका होटल, लज, रिसोर्ट र रेस्टुरेन्टहरू सप्ताहान्तमा (वीकेन्ड) ग्राहकहरूले भरिभराउ हुने गरेका छन्। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा हात्ती सफारी, जिप सफारी, डुङ्गा सयर (क्यानोइङ) र चरा अवलोकन जस्ता गतिविधिमा पर्यटकहरूको आकर्षण निकै बढेको छ। राप्ती नदीको किनारमा साँझपख बस्ने र सूर्यास्तको दृश्यावलोकन गर्नेहरूको भीड पनि उस्तै लोभलाग्दो हुन्छ। सौराहाका होटल व्यवसायीहरूका अनुसार पहिले सप्ताहान्तमा कोठाहरू खाली हुने गरेकोमा अचेल पहिले नै बुकिङ नगरी आउने पर्यटकले कोठा पाउन समेत कठिन हुन थालेको छ।
होटल तथा पर्यटन व्यवसायीहरूका अनुसार सातामा दुई दिन बिदा हुँदा आन्तरिक पर्यटकहरूले उदारतापूर्वक खर्च गर्ने बानी बसालेका छन्। परिवारसहित घुम्न निस्कने परिपाटी बढेको छ। दुई दिनको फुर्सदले गर्दा मानिसहरू मानसिक रूपमा पनि ढुक्क भएर प्राकृतिक सौन्दर्यको आनन्द लिन पाउँछन्। सौराहाका होटल सञ्चालकहरूका अनुसार पहिले विदेशी पर्यटकको मात्र भर पर्नुपर्ने अवस्था रहेकोमा अहिले आन्तरिक पर्यटकको चापले मात्रै पनि व्यवसाय धान्न सहज भएको छ। आन्तरिक पर्यटनले स्थानीय उत्पादनको खपत बढाउन र रोजगारी सिर्जनामा समेत ठूलो मद्दत पुर्याएको छ।
यद्यपि, केही अर्थशास्त्रीहरूले भने एउटा फरक कोणबाट पनि विश्लेषण गरिरहेका छन्। उनीहरूका अनुसार हप्तामा दुई दिन बिदा दिँदा इन्धनको खपत घट्ने सरकारी दाबी विपरीत मानिसहरू घुमघामका लागि आफ्ना निजी सवारी साधन लिएर टाढा-टाढा पुग्ने हुनाले इन्धनको खपत झन् बढ्न सक्छ। तर, यसको प्रतिउत्तरमा पर्यटन व्यवसायीहरू भन्छन् कि यसरी खर्च हुने इन्धनले अन्ततः स्वदेशी अर्थतन्त्र र स्थानीय पर्यटन व्यवसायीको खल्तीमा पैसा पुर्याउने हुनाले यसलाई आर्थिक गतिशीलता र पूँजी प्रवाहका रूपमा सकारात्मक मानिनुपर्छ।
सङ्कटबाट अवसरको खोजी कसरी गर्न सकिन्छ भन्ने कुराको एउटा उत्कृष्ट उदाहरण हो नेपालको आन्तरिक पर्यटनमा साताको दुईदिने बिदाले ल्याएको यो उत्साह। विद्यालयको शैक्षिक क्यालेन्डर र सरकारी सेवा प्रवाहलाई असर नपर्ने गरी यो व्यवस्थालाई सन्तुलित ढंगले व्यवस्थापन गर्ने चुनौती सरकारसामु पक्कै छ। तर, यस व्यवस्थाले नेपालीहरूमा घुम्ने संस्कृतिको विकास गराउनुका साथै आन्तरिक पर्यटनलाई मुलुकको अर्थतन्त्रको बलियो जगका रूपमा स्थापित गर्न ठूलो भूमिका खेलेको छ। आगामी दिनमा पर्यटकीय पूर्वाधारहरूको विकास र प्रवर्द्धनात्मक प्याकेजहरू ल्याउन सके आन्तरिक पर्यटनको यो यात्रा अझै उचाइमा पुग्ने निश्चित छ।