ओमन हुँदै कुवेत उड्न लागेका २७ महिला विमानस्थलबाट नियन्त्रणमा, वैदेशिक रोजगारीको अवैध रुट फेला

Jun 18, 2026 05:04 PM Merolagani



पर्यटक (भिजिट) भिसाको आवरणमा अवैध रूपमा खाडी मुलुक जान लागेका २७ जना महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ।

 बुधबार राति फ्लाई दुबईको फरक-फरक उडानमार्फत ओमनको राजधानी मस्कटतर्फ प्रस्थान गर्न लागेका उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका २२ देखि २९ वर्ष उमेर समूहका महिलाहरूको पासपोर्टमा शङ्कास्पद कागजात भेटिएपछि विमानस्थल अध्यागमनले निगरानी बढाएको थियो। उनीहरूसँग ओमनको भिसा, हवाई टिकट र होटल बुकिङका कागजपत्र भए पनि सोही पासपोर्टमा कुवेतको भिसासमेत फेला परेको प्रहरीले जनाएको छ।

अध्यागमनको सूचनाका आधारमा प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट महिलाहरूलाई वैदेशिक रोजगारीका लागि प्रतिबन्धित मुलुक कुवेत पठाउन लागिएको खुलेको छ। तस्करहरूले ओमनको मस्कटलाई 'ट्रान्जिट' बनाएर उनीहरूलाई कुवेत पुर्‍याउने रुट तय गरेका थिए।

अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार मस्कट हुँदै कुवेत पुर्‍याएपछि स्थानीय एजेन्टहरूले नेपाली महिलाको अनुहार हेरेर घरेलु कामदारका रूपमा छनोट गर्ने र विभिन्न घरमा श्रम शोषणका लागि पठाउने तयारी थियो। विगतमा यसरी अवैध रूपमा पुर्‍याइएका महिलाहरू शारीरिक तथा यौनजन्य हिंसाको सिकार हुने गरेका घटना छन्।

प्रहरीले नियन्त्रणमा लिइएका महिलाहरूमाथि थप अनुसन्धान गरिरहेको छ भने उनीहरूलाई प्रलोभनमा पारेर विदेश पठाउन सक्रिय गिरोहको खोजी कार्य तीव्र बनाएको छ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।