हारका बाबजुद क्यानडाले गोल अन्तरको टाइब्रेकरमा बोस्नियालाई पछि पार्दै आफ्नो इतिहासमा पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गर्न सफल भएको छ।
क्यानडाको बीसी प्लेस भ्यानकुभरमा भएको खेलमा स्विट्जरल्याण्डले घरेलु टोलीलाई स्तब्ध बनायो। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा स्विट्जरल्याण्डले आक्रामक खेल प्रदर्शन गरेको थियो। दोस्रो हाफको ४६औँ मिनेटमा स्विट्जरल्याण्डका रुबेन भार्गासले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि ५७औँ मिनेटमा जोहान मान्जाम्बीले गोल गर्दै स्विट्जरल्याण्डको अग्रता २–० मा पुऱ्याए।
खेलको ७६औँ मिनेटमा क्यानडाका सब्सटिच्युट खेलाडी प्रोमिस डेभिडले मैदान प्रवेश गरेलगत्तै आफ्नो पहिलो बल टचमै उत्कृष्ट भलीमार्फत गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए। खेलको अन्तिम समयमा अलिस्टेयर जोन्स्टन र डेरेक कोर्निलियसको प्रहारलाई स्विट्जरल्याण्डका गोलकिपर ग्रेगोर कोबेलले उत्कृष्ट बचाउ गरेपछि क्यानडा बराबरी गर्नबाट चुक्यो।
यस जितसँगै स्विट्जरल्याण्ड ७ अंकका साथ समूह बी को शीर्ष स्थानमा रहँदै अर्को चरणमा प्रवेश गरेको छ। क्यानडा भने पराजित भए पनि ४ अंकका साथ दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेको छ र अब लस एन्जलसमा हुने खेलमा समूह ए को उपविजेतासँग खेल्नेछ।
त्यस्तै, अमेरिकाको सिएटल स्टेडियममा भएको अर्को खेलमा बोस्नियाले एसियाली च्याम्पियन कतारमाथि सहज जित हात पार्यो। दुवै टोलीका लागि अघिल्लो चरण प्रवेशका लागि यो खेल जित्नैपर्ने दबाब थियो।
खेलको २९औँ मिनेटमा बोस्नियाका युवा खेलाडी केरिम् अलाज्बेगोभिचले बक्स बाहिरबाट उत्कृष्ट लङ सट प्रहार गर्दै टोलीलाई १–० को अग्रता दिलाए। ३४औँ मिनेटमा एडिन जेकोको क्रस कतारी डिफेन्डर सुल्तान अल-ब्रेकको खुट्टामा ठोकिएर आत्मघाती गोल हुन पुग्दा बोस्निया २–० ले अघि बढ्यो। पहिलो हाफ सकिनुअघि ४२औँ मिनेटमा कतारका कप्तान हसन अल-हैदोसले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए।
दोस्रो हाफमा कतारले बराबरीको प्रयास गरे पनि ८०औँ मिनेटमा बोस्नियाका सब्सटिच्युट खेलाडी इरमिन महमिचले गोल गर्दै टोलीको ३–१ को जित निश्चित गरे।यस जितसँगै बोस्नियाको पनि ४ अंक भएको छ, तर क्यानडासँग गोल अन्तर (टाइब्रेकर) मा पछि पर्दै तेस्रो स्थानमा चित्त बुझाउनु पर्यो। कतार भने १ अंकका साथ समूहको अन्तिम स्थानमा रहँदै विश्वकपबाट बाहिरिएको छ।