अर्कोतर्फ, दक्षिण अफ्रिकाले बलियो मानिएको दक्षिण कोरियालाई १–० ले स्तब्ध पार्दै मेक्सिकोसँगै अन्तिम ३२ (नकआउट चरण) को टिकट काटेको छ। यस नतिजासँगै दक्षिण कोरिया र चेकिया दुवै प्रतियोगिताको समूह चरणबाटै बाहिरिएका छन्।
मेक्सिको सिटीस्थित ऐतिहासिक एज्टेका स्टेडियम (मेक्सिको सिटी स्टेडियम) मा ८० हजारभन्दा बढी घरेलु समर्थकमाझ भएको खेलमा मेक्सिकोले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा मेक्सिकोले लगातार तीन गोल थप्न सफल भयो। लुइस रोमोको उत्कृष्ट पासलाई सदुपयोग गर्दै २२ वर्षीय लेफ्ट–ब्याक माटेओ चाभेजले आकर्षक गोल गरी मेक्सिकोलाई सुरुवाती अग्रता दिलाए। राष्ट्रिय टोलीका लागि यो उनको पहिलो गोल हो।
त्यस्तै, खेलको ६० औँ मिनेटमा जर्ज सान्चेजको प्रहार चेकियाका गोलकिपरले बचाउने प्रयास गर्दा रिबाउन्ड भएको बललाई जुलियान क्विनोनेसले गोलको दिशा दिँदै मेक्सिकोको अग्रता २–० बनाए। खेलको इन्जुरी समयमा रोबर्टो अल्भारोडोको क्रसमा सब्सटिच्युट मिडफिल्डर अल्भारो फिडाल्गोले गोल गर्दै मेक्सिकोको ३–० को जित पक्का गरे।
खेलको ७८औँ मिनेटमा मेक्सिकोका दिग्गज गोलकिपर गुइलेर्मो ‘मेमो’ ओचोआ मैदान प्रवेश गर्दै आफ्नो छैटौँ विश्वकप खेल्ने कीर्तिमान बनाए, जतिबेला रंगशालामा उपस्थित दर्शकहरूले उनलाई उठेर सम्मान दिएका थिए।
मेक्सिकोको मोन्टेरे स्टेडियममा अत्यधिक गर्मीका बीच भएको खेलमा दक्षिण अफ्रिकाले दक्षिण कोरियामाथि ऐतिहासिक जित हासिल गर्यो। नकआउट चरणमा पुग्न दक्षिण कोरियालाई बराबरी मात्रै पर्याप्त थियो भने दक्षिण अफ्रिकालाई जित्नैपर्ने दबाब थियो।
पहिलो हाफ रक्षात्मक खेलेको दक्षिण अफ्रिकाका लागि ६२औँ मिनेटमा युवा फरवार्ड थापेलो मासेकोले उत्कृष्ट गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए। खेलको दोस्रो हाफको सुरुवातमै दक्षिण कोरियाका स्टार खेलाडी सन ह्युङ-मिन मैदान प्रवेश गरे पनि दक्षिण अफ्रिकाको कडा रक्षापंक्ति तोड्न सकेनन्। दक्षिण अफ्रिकाका गोलकिपर रोनवेन विलियम्सले केही उत्कृष्ट बचाउ गर्दै टोलीलाई जित दिलाए।