यस नतिजासँगै समूह ई मा जर्मनी र आइभोरी कोस्टको समान ६–६ अंक भएको छ। यद्यपि, गोल अन्तरको आधारमा जर्मनी (समूह विजेता) र आइभोरी कोस्ट (उपविजेता) बन्दै अन्तिम ३२ (नकआउट चरण) मा प्रवेश गरेका छन् भने इक्वेडर ऐतिहासिक जितका बाबजुद अघिल्लो चरण पुग्न असफल भएको छ।
न्युयोर्क न्युजर्सी स्टेडियममा भएको खेलमा यसअघि नै नकआउट चरणमा पुगिसकेको जर्मनीलाई इक्वेडरले कडा चुनौती दिँदै स्तब्ध पारिदियो। नकआउटको आश जिवित राख्न इक्वेडरलाई यो खेल जित्नैपर्ने दबाब थियो। खेलको दोस्रो मिनेटमै जर्मनीका स्टार विङ्गर लेरोय सानेले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, जर्मनीको त्यो खुसी धेरै समय टिक्न पाएन। खेलको नवौँ मिनेटमा इक्वेडरका युवा फरवार्ड निल्सन आङ्गुलोले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।
दोस्रो हाफमा दुवै टोलीले आक्रामक खेल खेलेका थिए। खेलको ७७औँ मिनेटमा इक्वेडरका गोन्जालो प्लाटाले सानदार गोल गर्दै टोलीलाई २–१ को ऐतिहासिक जित दिलाए। हारका बाबजुद अघिल्ला दुई खेलमा ठूलो गोल अन्तर (विशेष गरी कुरासाओ विरुद्ध ७–१ को जित) निकालेका कारण जर्मनी समूह विजेता बन्न सफल भयो।
त्यस्तै, फिलाडेल्फिया स्टेडियममा भएको समूह ई को अर्को खेलमा आइभोरी कोस्टले विश्वकपमा डेब्यु गरिरहेको क्यारिबियन राष्ट्र कुरासाओमाथि सहज जित निकाल्यो। अघिल्लो चरण प्रवेशका लागि आइभोरी कोस्टलाई बराबरी मात्रै पर्याप्त थियो। आइभोरी कोस्टको जितमा स्टार फरवार्ड निकोलस पेपे नायक बने। उनले खेलको दुवै हाफमा एक–एक गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
पेपेले खेलको सातौँ मिनेटमा गोल गर्दै आइभोरी कोस्टलाई सुरुवाती अग्रता दिलाएका थिए। पछि, खेलको ६४औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–० को स्थितिमा पुऱ्याए। कुरासाओका गोलकिपर एलोय रुमले केही उत्कृष्ट बचाउ गरे पनि आफ्नो टोलीलाई हारबाट जोगाउन सकेनन् र कुरासाओ १ अंकका साथ प्रतियोगिताबाट बाहिरियो।