नेप्सेको सर्टलिस्टमा परेका चार प्रतिस्पर्धी को हुन् ? उनीहरूको पृष्ठभूमि, योग्यता र पूँजी बजारप्रतिको दृष्टिकोण

Oct 06, 2026 06:07 PM Merolagani



सुवास निरौला
नेपालको एकमात्र धितोपत्र दोस्रो बजार सञ्चालक ‘नेपाल स्टक एक्सचेन्ज लिमिटेड’ (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्तिको प्रतिस्पर्धा अन्तिम चरणमा पुगेको छ। 

अर्थ मन्त्रालयद्वारा गठित ‘प्रमुख कार्यकारी अधिकृत छनोट तथा सिफारिस समिति’ले खुला प्रतिस्पर्धाका लागि आवेदन दिएका ८ जना उम्मेदवारहरूमध्येबाट कार्यविधिको मापदण्ड अनुसार ४ जनाको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरेको संक्षिप्त सूचीमा अनिल राज पौडेल, नवराज सापकोटा, नारायण प्रसाद सापकोटा र प्रताप सुवेदी रहेका छन्। सूचीमा भएका यी चारै जना उम्मेदवारलाई आगामी असोज २३ गते अर्थ मन्त्रालयमा नेतृत्व क्षमता, व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि डाकिएको छ।

दैनिक अर्बौं रुपैयाँको कारोबार हुने, ६० लाखभन्दा बढी लगानीकर्ता प्रत्यक्ष-अप्रत्यक्ष जोडिएको र मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) बराबरको पूँजीकरण धान्ने संवेदनशील संस्था नेप्सेको नेतृत्व कसको हातमा पुग्ला भन्ने चासो चौतर्फी चुलिएको छ। यसै सन्दर्भमा सर्टलिस्टमा परेका उम्मेदवारहरूसँग प्रत्यक्ष कुराकानी गरी उनीहरूको पृष्ठभूमि, योग्यता र पूँजी बजारप्रतिको दृष्टिकोण तथा पूँजी बजारका विज्ञ एवम् नेप्सेका पूर्व नेतृत्वको विश्लेषणसहित तयार पारिएको विस्तृत विवरण:

सर्टलिस्टमा परेका चार उम्मेदवार: को हुन् ? कस्तो छ पृष्ठभूमि ?

छनोट समितिले सार्वजनिक गरेको सूची नियाल्दा यसपटक नेप्सेको नेतृत्वका लागि मुख्य रूपमा दुई धार देखिएका छन्— एकातर्फ दशकौँ निजामती सेवामा बिताएका पूर्वप्रशासकहरू र अर्कोतर्फ वित्तीय तथा बैंकिङ क्षेत्रको प्रत्यक्ष व्यवस्थापकीय अनुभव भएका व्यक्तिहरू छन्। 

प्रताप सुवेदी : बैंकिङ र पब्लिक लिमिटेडको प्रत्यक्ष अनुभव

सर्टलिस्टमा परेकामध्ये प्रताप सुवेदी हाल कृषि विकास बैंक लिमिटेडका नायब महाप्रबन्धक (डीजीएम) का रूपमा कार्यरत छन्। उनीसँग लामो समयदेखि ‘क’ वर्गको वाणिज्य बैंक तथा पब्लिक लिमिटेड कम्पनीको माथिल्लो तहमा रहेर नीति निर्माण, वित्तीय व्यवस्थापन, जोखिम न्यूनीकरण तथा संस्थागत सुशासनको प्रत्यक्ष अनुभव छ।

सूचीकृत पब्लिक कम्पनीको संरचना, सञ्चालक समितिको कार्यशैली, साधारणसभा, सेयरधनीका अधिकार तथा नियामक निकाय नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्ड (सेबोन) का नीति-नियमलाई नजिकबाट बुझेका व्यक्ति भएकाले उनलाई व्यावसायिक बजारले एक बलियो दाबेदारका रूपमा हेरेको छ।

अनिल राज पौडेल : वित्तीय संस्था, उद्यमशीलता र संस्थागत सुशासनको अनुभव

सर्टलिस्टका अर्का प्रतिस्पर्धी अनिल राज पौडेल उद्यमशीलता विकास तथा वित्तीय संस्थाहरूको व्यवस्थापकीय पृष्ठभूमिबाट आएका हुन्। आफ्नो पृष्ठभूमिबारे कुराकानी गर्दै पौडेलले भने "मैले राष्ट्रिय सहकारी विकास बोर्डमा रहेर वित्तीय क्षेत्रमै करिब २७–२८ वर्ष काम गरेँ। त्यहाँ रहँदा ‘स्थिरीकरण कोष’ को सञ्चालकका रूपमा साढे तीन वर्ष योगदान दिएँ। त्यसपछि रत्ननगर नगरपालिकामा २ वर्षभन्दा बढी विज्ञ सल्लाहकारका रूपमा काम गरेँ भने युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षको रूपमा नेतृत्व सम्हालेको अनुभव छ।"

पौडेलका अनुसार उनीसँग सार्वजनिक संस्था, उद्यमशीलता प्रवर्द्धन, परियोजना समन्वय, सार्वजनिक नीति तथा संस्थागत सुशासनको क्षेत्रमा काम गरेको लामो अनुभव छ। स्वरोजगार कोषबाट केही समयअघि राजीनामा दिएपछि हाल उनी पूर्णकालीन रूपमा कुनै संस्थामा आबद्ध छैनन्। बजारको विकासका लागि आधुनिक प्रविधि र संस्थागत सुशासन आवश्यक रहेको उनको बुझाइ छ।

नवराज सापकोटा : वित्तीय प्रशासन र अर्थशास्त्र पृष्ठभूमिका पूर्व सहसचिव

सर्टलिस्टमा पर्न सफल पूर्व सहसचिव नवराज सापकोटाले निजामती सेवामा २७ वर्ष बिताएका छन्। उनीसँग कानून (बीएल), व्यवस्थापन (एमबीएस) र सार्वजनिक प्रशासन (एमपीए) मा उच्च शिक्षा हासिल गरेको शैक्षिक योग्यता छ। विशेषगरी उनले एमबीएसमा 'फाइनान्स' (वित्त) विषयमा विशिष्टीकरण गरेका छन्। "मेरो निजामती सेवाको २७ वर्षे अवधिमध्ये १५ वर्षभन्दा बढी समय नेपालको आर्थिक तथा वित्तीय प्रशासनको क्षेत्रमा बितेको छ। म गृह मन्त्रालय मातहत दैलेख र बारा जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) भएँ। त्यसबाहेक खानेपानी मन्त्रालयको प्रवक्ता, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सहसचिवको भूमिका निर्वाह गरेर करिब पौने २ वर्षअघि सेवा निवृत्त भएको हुँ। मेरो अध्ययन फाइनान्स र कमर्स भएकाले पूँजी बजार तथा वित्तीय प्रशासन मेरो आफ्नै रुचि र दक्षताको क्षेत्र हो, त्यसैले नेप्सेको नेतृत्वका लागि दाबी गरेको हुँ।" आफ्नो पृष्ठभूमि र नेप्सेप्रतिको रुचिका विषयमा सापकोटाले स्पष्ट पारे।

नारायण प्रसाद सापकोटा :

निजामती सेवामा चार दशक लामो प्रशासनिक अनुभव

सर्टलिस्टमा समावेश अर्का उम्मेदवार नारायण प्रसाद सापकोटा नेपाल सरकारका पूर्व सहसचिव हुन्। उनले निजामती सेवामा झण्डै ४० वर्ष (स्थायी रूपमा ३९ वर्षभन्दा बढी) सेवा गरेका छन्, जसमध्ये २८ वर्ष अधिकृत स्तरको जिम्मेवारीमा रहेका थिए। "मैले सरकारी सेवामा ४० वर्ष बिताएको छु। यस क्रममा मुलुकका ५ वटा जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को जिम्मेवारी सम्हालेँ। त्यसैगरी १० भन्दा बढी महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाहरूमा कार्यकारी प्रमुखको रूपमा नेतृत्व गरेको छु। लामो प्रशासनिक अनुभव, जनसम्पर्क र नीतिगत व्यवस्थापनको सीप नै मेरो मुख्य पूँजी हो।" आफ्नो अनुभवबारे सापकोटाले भने।

विज्ञ तथा पूर्वसीईओको विश्लेषण : कस्तो नेतृत्व खोजिरहेको छ नेप्से ?

सर्टलिस्टमा परेका चार उम्मेदवारको पृष्ठभूमि सार्वजनिक भएसँगै पूँजी बजार वृत्तमा यसको औचित्य र सम्भावित प्रभावबारे बहस सुरु भएको छ। चारमध्ये दुई जना पूर्वप्रशासक (सहसचिव), एक जना वित्तीय/संस्थागत पृष्ठभूमि भएका र एक जना वाणिज्य बैंकका उच्च व्यवस्थापक रहेका छन्। नेप्सेकै एक पूर्व प्रमुख कार्यकारी अधिकृत तथा पूँजी बजार विज्ञसँग गरिएको संवादमा उनले यस सर्टलिस्टलाई बजारको आवश्यकता र प्राविधिक यथार्थको कसीमा यसरी विश्लेषण गरे। पूर्वसीईओका अनुसार नेप्से आफैँमा एउटा नाफामूलक पब्लिक लिमिटेड कम्पनी हो, जहाँ कर्पोरेट संस्कृति, व्यापारिक रणनीति र शेयरधनीप्रति उत्तरदायित्व प्रमुख हुन्छ। "निस्वार्थ र वस्तुगत रूपमा हेर्ने हो भने नेप्सेको नेतृत्वका लागि पब्लिक लिमिटेड कम्पनीको कार्यशैली र वित्तीय बजारको प्रत्यक्ष अनुभव भएका व्यक्ति नै बढी उपयोगी हुन्छन्। चार जनामध्ये प्रताप सुवेदी कृषि विकास बैंक जस्तो ठूलो पब्लिक कम्पनीको उच्च व्यवस्थापन (डीजीएम) मा रहेकाले उनलाई कर्पोरेट संरचना, वित्तीय बजार र पब्लिक लिमिटेड कम्पनीका आयामबारे प्रत्यक्ष ज्ञान छ। बजार सञ्चालनका लागि यो पहिलो सकारात्मक पक्ष हो।"

"अनिल पौडेलसँग स्वरोजगार कोष, स्थिरीकरण कोष र अन्य निकायमा बसेर नीतिगत तथा संस्थागत सुशासनमा काम गरेको अनुभव छ। वित्तीय क्षेत्रमा लामो समय बिताएका कारण उनी संस्थागत सुधार र व्यवस्थापकीय समन्वयका लागि दोस्रो उपयुक्त विकल्प हुन सक्छन्," अनिल राज पौडेलको दाबेदारीलाई विश्लेषण गर्दै विज्ञले भने।

 प्रशासनिक अनुभव भर्सेस पूँजी बजारको प्राविधिक जटिलता

दुई जना पूर्व सहसचिवहरू (नवराज सापकोटा र नारायण प्रसाद सापकोटा) को दाबेदारीमाथि विज्ञको टिप्पणी केही फरक छ। निजामती प्रशासन र शान्ति-सुरक्षा (सीडीओ) को अनुभव उत्कृष्ट भए तापनि पूँजी बजार जस्तो अत्यन्त संवेदनशील, सूचना प्रविधिमा आधारित र चौबीसै घण्टा गतिशील रहने 'रियल-टाइम फाइनान्सियल मार्केट' सञ्चालन गर्न प्रशासनिक ढाँचा कति प्रभावकारी होला भन्नेमा संशय रहेको उनी बताउँछन्।

"सामान्य प्रशासन, गृह वा स्थानीय तह हाँक्नु र स्टक एक्सचेन्ज हाँक्नु विल्कुलै फरक विधा हुन्। नेप्सेमा दैनिक हजारौँ कारोबार, अन्तर्राष्ट्रिय प्रविधि, ब्रोकर, मर्चेन्ट बैंकर, लगानीकर्ता र विदेशी साझेदारहरूसँग डिल गर्नुपर्ने हुन्छ। निजामती सेवाका अवकाशप्राप्त कर्मचारीहरूको नियुक्तिले संस्थालाई फेरि पनि परम्परागत सरकारी अड्डाजस्तो बनाउने जोखिम रहन्छ। यद्यपि, नवराज सापकोटाको फाइनान्सको शैक्षिक पृष्ठभूमि र वित्तीय प्रशासनको अनुभवले उनलाई केही हदसम्म प्राविधिक रूपमा सहयोग गर्न सक्छ।"

छनोट प्रक्रिया र अन्तर्वार्ता तालिका

अर्थ मन्त्रालयको सिफारिस समितिले असोज २३ गतेका लागि उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरणको समय तालिका यस प्रकार तोकेको छ।

 

(नोट: समितिले सबै उम्मेदवारहरूलाई तोकिएको समयभन्दा ३० मिनेट अगावै उपस्थित हुन निर्देशन दिएको छ।

नयाँ नेतृत्व सामुन्ने रहेका प्रमुख चुनौती र अपेक्षा

नेप्सेको नयाँ प्रमुख कार्यकारी अधिकृत जो-कोही नियुक्त भए पनि उनका अगाडि अवसरभन्दा बढी चुनौतीका चाङहरू छन्।

  1. प्रविधि सुधार र आधुनिक ट्रेडिङ पूर्वाधार: नेप्सेको अनलाइन कारोबार प्रणाली (NOTS) लाई अत्याधुनिक, सुरक्षित र त्रुटिरहित बनाउनु नयाँ नेतृत्वको पहिलो प्राथमिकता हुनेछ।

  2. नयाँ वित्तीय औजारको विकास: इक्विटी (साधारण शेयर) मा मात्र सीमित रहेको नेपाली पूँजी बजारमा डेरिभेटिभ्स, इन्डेक्स फन्ड, सर्ट सेलिङ र ऋणपत्र (बन्ड मार्केट) लाई प्रभावकारी बनाउनु पर्नेछ।

  3. नेप्सेको पुनर्संरचना तथा रणनीतिक साझेदार: सरकारी स्वामित्वको बाहुल्य रहेको नेप्सेको पुनर्संरचना गर्दै निजीकरण वा विदेशी रणनीतिक साझेदार भित्र्याउने वर्षौँदेखिको एजेन्डालाई तार्किक निष्कर्षमा पुर्‍याउनु पर्नेछ।

  4. लगानीकर्ताको विश्वास र पारदर्शिता: बजारमा हुने भित्री कारोबार (इन्साइडर ट्रेडिङ), मूल्य चलखेल र कर्नरिङजस्ता विकृति रोक्न बजार निगरानी (सर्भिलेन्स) संयन्त्रलाई पूर्ण स्वचालित बनाउनु अनिवार्य छ।

अबको बाटो

सिफारिस समितिले कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको प्राप्ताङ्कका आधारमा चारमध्ये उत्कृष्ट तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नेछ। त्यसपछि मन्त्रिपरिषद् बैठकले ती तीन जनामध्येबाट एक जनालाई आगामी चार वर्षका लागि नेप्सेको सीईओमा नियुक्त गर्नेछ।

अब अर्थ मन्त्रालय र सरकारले नेप्सेलाई दलीय भागबण्डा र राजनीतिक पहुँचका आधारमा अवकाशप्राप्त कर्मचारीको व्यवस्थापन गर्ने थलो बनाउँछ कि पूँजी बजारको मर्म बुझेको व्यावसायिक नेतृत्व चयन गर्छ— त्यसैमा आगामी दिनमा समग्र पूँजी बजारको भविष्य र लगानीकर्ताको मनोबल निर्भर रहनेछ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।