उक्त एक्सचेन्जमा कारोबार गरिरहेका खास गरि साना तथा मझौला कम्पनीका लगानीकर्ताहरुको विचल्ली भएको भन्दै फेरि सञ्चालनको लागि तयारी गरिएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । पश्चिम बङ्गालमा विजेपी नेतृत्वमा नयाँ सरकार गठन भएपछि सरकार र एक्सचेन्ज व्यवस्थापनले यसलाई अत्याधुनिक प्रविधि र नयाँ बिजनेस मोडल (जस्तै स्टार्टअप र साना उद्योगका लागि विशेष बजार) सहित पुनः सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छन्।
सन् २०१३ मा एक्सचेन्जको कारोबार ठप्प भएपछि त्यहाँ सूचीकृत रहेका ३,५०० भन्दा बढी कम्पनीहरूका लाखौं शेयरधनीहरूले आफ्नो शेयर खरिद-बिक्री गर्न पाएका छैनन् । व्यापार सञ्चालनमै रहेका कम्पनीको शेयर पनि कागजी खोस्टो सरह बनेको छ र सर्वसाधारणको अर्बौँ रुपैयाँ बन्धक भएको छ। कलकत्ता स्टक एक्सचेन्जको विकास र पतनलाई लिएर कतिपय विश्लेषकहरु उक्त स्टक एक्सचेन्ज विश्वकै पूँजी बजारको लागि ‘अति नै नमिठो पाठशाला’ भएको बताउने गर्छन् ।
त्यहाँ सूचीकृत ठूला र बहु सूचीकृत कम्पनीहरू जस्तै ITC Limited, Tata Steel र Bata India जस्ता कम्पनीहरू कलकत्तासँगै मुम्बईको BSE र NSE मा पनि सूचीकृत यिनीहरूको शेयर कारोबारमा कुनै बाधा परेन र लगानीकर्ता सुरक्षित रहे।
बरको रूखमुनिबाट सुरु भएको २ सय वर्ष पुरानो इतिहास
कलकत्तामा सेयर कारोबारको १९६ वर्ष अगाडी सज् १८३० देखि नै सुरु भएको मानिन्छ । त्यतिबेला जब व्यवसायीहरू एउटा बरको रूखमुनि बसेर इस्ट इन्डिया कम्पनीको ऋण पत्रको व्यापार गर्थे । तर, यसले औपचारिक रूप १ डिसेम्बर १९०८ मा पायो, जब १६ जना प्रमुख स्टक ब्रोकरहरूले यसलाई व्यवस्थित रूपमा दर्ता गरे । सन् १९२८ मा कोलकातामा यसको भवन निर्माण भयो, जुन आज पनि यसको गौरवशाली अतीतको साक्षीका रूपमा उभिएको छ।
सन् १९९० को दशकको अन्त्यसम्ममा कलकत्ता स्टक एक्सचेन्जमा ३,५०० भन्दा बढी कम्पनीहरू सूचीकृत थिए। भारतका ठूला औद्योगिक घरानाहरू—टाटा, बिर्ला, गोयन्का र डालमिया—का कम्पनीहरूले आफ्नो व्यावसायिक यात्रा यहीँबाट सुरु गरेका थिए । सन् १९९७ मा अनलाइन ट्रेडिङ प्लेटफर्म C-STAR भित्रिएपछि यहाँ दैनिक ५०० करोडदेखि १,००० करोड भारु सम्मको कारोबार हुन्थ्यो, जसले भारतको कुल शेयर कारोबारको करिब १५ देखि २० प्रतिशत हिस्सा ओगट्थ्यो ।
मोडालिटी परिवर्तन र भ्रष्टाचारले निम्त्याएको विनास
कलकत्ता स्टक एक्सचेन्जको पतनको बीउ सन् २०००/२००१ को केतन पारेख शेयर घोटालासँगै रोपियो । शेयर बजारका खेलाडी केतन पारेख र कोलकाताका केही स्थानीय ब्रोकरहरू (जसलाई बजारमा थ्री मस्किटियर्स भनिन्थ्यो) मिलेर निश्चित कम्पनीहरूको शेयर मूल्यमा अस्वाभाविक चलखेल गरे ।
ब्रोकरहरूले बैंकको पैसा र एक्सचेन्जको मार्जिन प्रणालीको कमजोरीको फाइदा उठाउँदै अर्बौँ रुपैयाँको सट्टेबाजी गरे। सन् २००१ को मार्चमा जब यो बबल फुट्यो, ब्रोकरहरूले ११ करोड भारु भन्दा बढीको भुक्तानी डिफल्ट (Payment Default) गरे। एक्सचेन्जको आफ्नै सेटलमेन्ट फन्ड र मार्जिन प्रणाली ध्वस्त भयो। यस घोटालाले लगानीकर्ताको विश्वास यसरी तोड्यो कि बजारको साख रातारात माटोमा मिल्यो।
कारोबार स्थगन र वर्तमान अवस्था
घोटालापछि एक्सचेन्जको अवस्था बिस्तारै नाजुक बन्दै गयो । भारतको पुँजी बजार नियामक निकाय सेबीले क्षेत्रीय स्टक एक्सचेन्जहरूको सुरक्षाका लागि खुद सम्पत्ति र वार्षिक टर्नओभरका सम्बन्धमा नयाँ र कडा मापदण्डहरू ल्यायो।
कलकत्ता स्टक एक्सचेन्जले ती आधुनिक मापदण्डहरू र सफा क्लियरिङ हाउसको सर्त पुरा गर्न सकेन। अन्ततः सन् २०१३ मा सेबीले यसको ट्रेडिङ प्लेटफर्ममा कारोबार गर्न पूर्ण रोक लगायो। त्यसयता, यस एक्सचेन्जमा व्यापारिक कारोबार शून्य छ। सेबीले यसलाई अन्य क्षेत्रीय एक्सचेन्जहरू जस्तै सधैंका लागि बन्द गराउन खोजे पनि यो संस्था अदालत पुग्यो र हाल यो मामला कलकत्ता उच्च अदालतमा विचारधीन अवस्थामा छ।