स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब ४४ करोड रुपैयाँ बढी भुक्तानी, मंसिरसम्मको सम्पूर्ण बक्यौता फछ्र्यौट

Jul 03, 2026 01:48 PM Merolagani



स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षमा हालसम्म सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई भुक्तानी गरेको छ । बोर्डले कुल २३ अर्ब ४४ करोड २ लाख ९८ हजार १६ रुपैयाँ भुक्तानी गरेको हो।

बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै उक्त भुक्तानीसँगै वि.सं. २०८२ साल मंसिर मसान्तसम्मको सम्पूर्ण दाबी बक्यौता फछ्र्यौट भएको जानकारी दिएको हो ।

बोर्डका अनुसार मंसिर महिना पछिको दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन र दिगो वित्तीय स्रोत सुनिश्चितताका लागि सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय र पहल भइरहेको छ । सीमित स्रोतसाधन र संरचनागत चुनौतीका बाबजुद स्वास्थ्य बीमा कार्यक्रमले नागरिकको उपचारमा हुने व्यक्तिगत खर्च न्यूनीकरण गरी वित्तीय जोखिमबाट संरक्षण प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

दिगो वित्तीय स्रोत र संयन्त्र पूर्ण रूपमा स्थापित हुन नसक्दा सेवा प्रदायक संस्थाहरूलाई समयमै भुक्तानी गर्न कतिपय अवस्थामा असहज स्थिति सिर्जना भएको स्वीकार गर्दै बोर्डले यसप्रति आफू सजग रहेको जनाएको छ । बोर्डले सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई भुक्तानीको प्रक्रिया जारी रहेकाले बिमित नागरिकहरूको उपचारमा कुनै पनि अवरोध सिर्जना नगरी निर्धारित मापदण्ड बमोजिम गुणस्तरीय सेवा निरन्तर उपलब्ध गराइदिन हार्दिक अनुरोध समेत गरेको छ ।

साथै, बोर्डले बिमित सेवाग्राहीहरूलाई पनि स्वास्थ्य बीमा सेवाको जिम्मेवार र सही सदुपयोग गर्न आग्रह गरेको छ । अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न र चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आवश्यकताभन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन बोर्डले अपिल गरेको छ । स्वास्थ्य बीमा कार्यक्रमको दिगोपना र प्रभावकारिता कायम राख्न सबै सरोकारवालाहरूको भूमिका महत्वपूर्ण हुने बोर्डको भनाइ छ ।




के सरकारले शेयर कारोबारमा ट्रान्जेक्सन ट्याक्स लगाउन लागेको हो ?

Jun 28, 2026 05:08 PM

सुवास निरौला 

पछिल्लो समय सामाजिक सञ्जालमा शेयर बजारका विश्लेषक तथा लगानीकर्ता विष्णुप्रसाद बस्यालले फेसबुकमा लेखेको एउटा स्टाटसले शेयर बजारका आम लगानीकर्तामा ठूलो भ्रम र अन्योल सिर्जना गरिदिएको छ।