नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार, गत असार २६ गते शुक्रबारदेखि साउन १ गते शुक्रबारसम्मको अवधिमा सुनको मूल्यमा ५ हजार ३०० रुपैयाँको गिरावाट आएको हो ।
महासंघकाअनुसार, गत २६ गते सुन प्रतितोला करिब २ लाख ८७ हजार ४०० रुपैयाँ हाराहारीमा कारोबार भएको थियो । २८ गते आइपुग्दा मूल्यमा ६०० रुपैयाँले वृद्धि भई प्रतितोला २ लाख ८८ हजार रुपैयाँ पुगेको देखिन्छ ।

असार २९ गते सोमबारदेखि सुनको मूल्यमा गिरावट सुरु भएको चार्टले देखाउँछ । २९ गते सोमबार घटेर २ लाख ८५ हजार ५०० हाराहारीमा झरेको सुन ३० गते झनै ओरालो लाग्दै करिब २ लाख ८४ हजार २०० रुपैयाँमा आइपुगेको थियो । यो साताभरिको तथ्याङ्कमा ३० गते सुनको मूल्य सबैभन्दा न्यून विन्दुमा आइपुगेको देखिन्छ ।
महिनाको अन्तिम दुई दिन अर्थात् ३१ र ३२ गते भने सुनको मूल्यमा पुनः सामान्य सुधार आएको थियो । ३१ गते ८०० रुपैयाँले बढेर करिब २ लाख ८४ हजार ८०० रुपैयाँ पुगेको थियो । त्यस्तै असार ३२ गते पनि ४०० रुपैयाँले मूल्य वृद्धि भई २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यद्यपि, नयाँ महिनाको पहिलो दिन अर्थात् साउन १ गते भने सुनको मूल्यमा पुनः भारी गिरावट आएको छ । ३२ गतेको तुलनामा करिब ३ हजार १०० रुपैयाँ भन्दा बढीले घटेर साउन १ गते सुन प्रतितोला करिब २ लाख ८२ हजार १०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मागमा आउने परिवर्तन र आर्थिक गतिविधिका कारण नेपाली बजारमा पनि सुनको मूल्यमा यसरी दिनहुँजसो उतारचढाव आइरहेको व्यवसायीहरु बताउँछन् ।