६४ मेगावाटका दुई आयोजनामा बुद्धभूमि नेपाल हाइड्रोपावरले लगानी गर्ने, सिन्धुज्वालामा ५१ प्रतिशत स्वामित्व

Jul 22, 2026 01:00 PM Merolagani



बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडले जलविद्युत क्षेत्रमा आफ्नो लगानी र उत्पादन क्षमता विस्तार गर्ने भएको छ । 

कम्पनीले सिन्धुज्वाला हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित ६४ मेगावाट क्षमताका दुईवटा जलविद्युत आयोजनामा मुख्य लगानीकर्ताको रूपमा प्रवेश गर्ने निर्णय गरेको हो ।

बुद्धभूमि नेपाल हाइड्रोको साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले सिन्धुज्वाला हाइड्रोपावरमा ५१ प्रतिशत शेयर स्वामित्व कायम हुने गरी लगानी गर्ने निर्णय गरेको छ ।

यस लगानीसँगै बुद्धभूमिले सिन्धुज्वालाले निर्माण गर्न लागेको ४३ मेगावाटको अपर नेश्यम जलविद्युत आयोजना र २१ मेगावाटको अपर नेश्यम ए जलविद्युत आयोजनामा आफ्नो नियन्त्रण र सहभागिता सुनिश्चित गरेको छ ।

कम्पनीले आफ्नो लगानी पोर्टफोलियो विविधीकरण गर्ने र दीर्घकालीन आम्दानीका स्रोतहरू सुरक्षित गर्ने रणनीति अनुरूप यो नयाँ कदम चालेको जनाएको छ । पछिल्लो समय नेपालका जलविद्युत प्रवर्द्धकहरू बीच एकापसमा रणनीतिक साझेदारी गर्ने, आयोजनाहरू खरिद गर्ने वा संयुक्त लगानीमार्फत उत्पादन क्षमता बढाउने लहर चलेको छ । बुद्धभूमिको यो निर्णयलाई पनि सोही प्रवृत्तिको रूपमा हेरिएको छ ।

हाल बुद्धभूमि नेपाल हाइड्रो पावरले नुवाकोटमा ४.९९३ मेगावाटको तल्लो तादी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । नयाँ आयोजनाहरूमा लगानी गरेसँगै कम्पनीको आगामी दिनमा विद्युत् उत्पादन क्षमतामा उल्लेख्य वृद्धि हुने र शेयरधनीहरूलाई थप प्रतिफल दिन सक्षम हुने अपेक्षा गरिएको छ ।