संजीव मानन्धरको नेतृत्वमा प्राइम कमर्सियल बैंकको वित्तीय सुदृढीकरण

Jul 25, 2026 05:56 PM Merolagani



प्राइम कमर्सियल बैंक लिमिटेड (PCBL) का संस्थापक प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर सेवानिवृत्त भएपछि २०८० भदौ ८ गतेदेखि चार्टर्ड एकाउन्टेन्ट संजीव मानन्धर बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भए।

बैंकको स्थापनाकालदेखि नै महाप्रबन्धकको रूपमा लामो समय जिम्मेवारी सम्हाल्दै आएका मानन्धर, संस्थापक सीईओ नारायण दासको सेवानिवृत्तिपछि २०८० साउन १७ गतेदेखि नै कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको रूपमा नेतृत्व सम्हाल्दै आएका थिए। प्राइम बैंकमा आबद्ध हुनुपूर्व उनले नेपाल इन्भेष्टमेन्ट बैंकबाट बैंकिङ करिअरको थालनी गर्नुका साथै राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनसँग आबद्ध रहेर समेत अनुभव सङ्गालेका थिए। प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएपश्चात् बैंकको समग्र कार्यसम्पादन, वित्तीय व्यवस्थापन र सेवा प्रवाहमा महत्वपूर्ण सुधारहरू आएका छन्।

वित्तीय स्थिरता र नाफाको सुदृढीकरण

चुनौतीपूर्ण आर्थिक परिस्थिति तथा बैंकिङ क्षेत्रले सामना गरेको उच्च तरलता र ब्याजदरको उतारचढावका बीच बैंकको वित्तीय अवस्थालाई स्थिर राख्न उनले कडा वित्तीय अनुशासन अवलम्बन गरेका छन्। कोषको लागतलाई नियन्त्रणमा राख्दै ब्याजदरको प्रतिस्पर्धामा सन्तुलन कायम गर्न चालिएका रणनीतिक कदमहरूले बैंकको खुद ब्याज आम्दानी र मुख्य सञ्चालन मुनाफालाई सुरक्षित राख्न ठूलो सहयोग पुर्याएको छ।

कर्जा तथा निक्षेपको जोखिम व्यवस्थापन

अर्थतन्त्रमा आएको शिथिलताका कारण बैंकिङ क्षेत्रमा बढेको निष्कृय कर्जालाई व्यवस्थापन गर्न उनको नेतृत्वमा विशेष नीतिगत कडाइ अपनाइएको छ। जोखिमयुक्त क्षेत्रमा कर्जा प्रवाह गर्दा उच्च सतर्कता अपनाइनुका साथै बिग्रँदै गएका कर्जाको असुली र व्यवस्थापनलाई व्यवस्थित बनाउन प्रशासनिक संयन्त्रलाई थप क्रियाशील बनाइएको छ। यसका साथै, नेपाल राष्ट्र बैंकको निर्देशन र कानुनी दायराभित्रै रहेर कर्जा तथा निक्षेप अनुपातलाई सन्तुलनमा राख्न निक्षेप सङ्कलन र कर्जा विस्तारलाई पनि उत्तिकै व्यवस्थित पारिएको छ।

सांगठनिक निरन्तरता र आन्तरिक सुशासन

बैंकको स्थापनाकालदेखि नै उच्च पदमा रहेर काम गरिसकेको हुनाले उनलाई बैंकको आन्तरिक कार्यशैली, संस्थागत संस्कृति र ग्राहकहरूसँगको सम्बन्धबारे पूर्ण जानकारी थियाे। नीतिगत निर्णय लिँदा र तिनको कार्यान्वयन गर्दा अन्योल कम हुनुका साथै नेतृत्वमा आएको यो निरन्तरता र अनुभवले बैंकको आन्तरिक सुशासनलाई अझ बलियो बनाउन महत्वपूर्ण टेवा पुर्याएको छ।

शाखा सञ्जाल र ग्राहक सेवाको विस्तार

देशका सातै प्रदेशका शहरी तथा ग्रामीण क्षेत्रसम्म बैंकिङ सेवा प्रभावकारी रूपमा पुर्याउन शाखा सञ्जालको विस्तारलाई निरन्तरता दिइएको छ। पारम्परिक बैंकिङ सेवाका साथै ग्राहकको बदलिँदो चाहना र प्रविधिमैत्री बैंकिङको आवश्यकतालाई मध्यनजर गर्दै डिजिटल माध्यमहरूलाई थप भरपर्दो, सुरक्षित र सहज बनाउन विशेष जोड दिइएको छ।

जेठ मसान्तसम्मको बैंकको वित्तीय अवस्था

राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म प्राइम कमर्सियल बैंकको मुख्य पुँजी करिब २८ अर्ब ३४ करोड र कुल पुँजीकोष करिब ३२ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। त्यस्तै, प्राथमिक पुँजी पर्याप्तता अनुपात १०.३९ प्रतिशत र कुल पुँजी पर्याप्तता अनुपात ११.७४ प्रतिशत कायम भएको छ। बैंकले यस अवधिसम्म करिब २ खर्ब ६८ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरी करिब २ खर्ब २४ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ, जसबाट बैंकको कर्जा तथा निक्षेप अनुपात ८३.३७ प्रतिशतमा सीमित रहेको छ।

बैंकको खुद तरलता अनुपात २७.३७ प्रतिशत र वैधानिक तरलता अनुपात २५.४१ प्रतिशत कायम रहेको छ, जसले समग्र अर्थतन्त्रको शिथिलताका बाबजुद पनि बैंकसँग पर्याप्त तरलता सुरक्षा रहेको देखाउँछ। वित्तीय नतिजाअन्तर्गत, यस समीक्षा अवधिसम्म बैंकले आफ्नो व्यवसायलाई निरन्तरता दिँदै खुद मुनाफा तथा आम्दानीका सूचकहरूलाई समेत सन्तुलित राख्न सफल भएको छ। नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थासम्बन्धी मासिक तथ्यांक अनुसार प्राइम कमर्सियल बैंक लिमिटेडको खुद मुनाफा ३ अर्ब ७४ करोड ९४ लाख रुपैयाँ कायम भएको छ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।