गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ३१ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ६ करोड १८ लाख रुपैयाँ मात्र रहेकोमा यो ४१४.८० प्रतिशतको उच्च वृद्धि हो।
कम्पनीको विद्युत बिक्री आम्दानी २० करोड ४७ लाख रुपैयाँबाट २८८.२६ प्रतिशतले बढेर ७९ करोड ४९ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी ७९ करोड २९ लाख रुपैयाँबाट बढेर ७९ करोड ४९ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा ७३ करोड ३२ लाख रुपैयाँबाट बढेर ६९ करोड ५ लाख रुपैयाँ कायम भएको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको चुक्ता पूँजी १ अर्ब ३६ करोड ३६ लाख रुपैयाँ रहेको छ।कम्पनीको जगेडा कोष ५३ करोड ९३ लाख रुपैयाँबाट बढेर ८५ करोड ७४ लाख रुपैयाँ पुगेको छ भने कुल सम्पत्ति ४ अर्ब ७१ करोड ८९ लाख रुपैयाँबाट बढेर ५ अर्ब २३ करोड ७८ लाख रुपैयाँ पुगेको छ।
कम्पनीद्वारा ललितपुर र मकवानपुरको सिमानामा सञ्चालित २२ मेगावाटको बागमती साना जलविद्युत आयोजना गत २०८१ असोजको बाढी र पहिरोले क्षति पुर्याएकोमा पुनर्निर्माण सम्पन्न भई पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ। साथै, थप १० मेगावाट क्षमता अभिवृद्धि गरी कुल ३२ मेगावाटको पीपीए र सञ्चालन अनुमति पत्र प्राप्त गरिसकेको कम्पनीले जनाएको छ।
बाढी पहिरोका कारण क्षति व्यहोरेको आयोजनाको द्रुत पुनरुत्थान, थप क्षमता विस्तार (३२ मेगावाट कायम) र नाफामा ४०० प्रतिशतभन्दा बढीको वृद्धिले माण्डु हाइड्रोपावरलाई वित्तीय रूपमा थप मजबुत बनाएको छ। प्रतिशेयर आम्दानी ४ रुपैयाँ ५४ पैसाबाट बढेर २३ रुपैयाँ ३६ पैसा पुग्नु र १० प्रतिशत बोनस शेयर घोषणा हुनुले शेयरधनीहरूका लागि कम्पनीप्रति आकर्षण बढाएको देखिन्छ।
