गतआर्थिक वर्षको सो अवधिमा बढ्दो खराब कर्जा र ऋणात्मक लाभांश क्षमताका कारण दबाबमा रहेको देखिन्छ। प्रगति विवरण सार्वजनिक गर्ने सबै संस्थाको अवस्था समान छैन । यस अवधिमा छिमेक लघुवित्त सबैभन्दा अगाडि देखिएको छ । छिमेक लघुवित्तले एक अर्ब २९ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेर अग्रणी संस्थाको रुपमा देखिएको छ। छिमेकलाई पछ्याउँदै जीवन विकास लघुवित्तले एक अर्ब आठ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यी दुई संस्था अर्ब माथि नाफा कमाउने सूचीमा रहेका हुन्।

त्यसैगरी, समीक्षा अवधिमा डिप्रोक्स लघुवित्तले ९८ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको छ । वीन नेपाल लघुवित्तले सबैभन्दा कम ८३ लाख रुपैयाँ मात्र नाफा कमाएको छ। गत आर्थिक वर्षमा लघुवित्त कम्पनीहरुको ऋण असुली नहुँदा सबै संस्थाको नाफामा अपेक्षित सुधार नभएको देखिन्छ।
यस अवधिमा प्रतिफल अर्थात लाभांश क्षमताको दृष्टिकोणबाट हेर्दा जीवन विकास लघुवित्त सबैभन्दा आकर्षक देखिएको छ । यसको लाभांश क्षमता ८०.०४ प्रतिशत रहेको छ। जसको अर्थ यसले आफ्ना शेयरधनीलाई उल्लेख्य मात्रामा लाभांश वितरण गर्न सक्ने क्षमतामा रहेको छ । त्यस्तै नेस्डो समृद्ध लघुवित्तको ६९.१७ प्रतिशत र छिमेक लघुवित्तको ५९.७२ प्रतिशत लाभांश क्षमता रहेको छ । यद्यपि नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीले लाभांश वितरणमा लगानीको सिमाले गर्दा सो अनुसारको लाभांश प्राप्त गर्न सक्दैनन।
त्यसैगरी गत आर्थिक वर्षको असार महिनासम्ममा फरवार्ड, नेरुडे मिर्मिरे, सामुदायिक, गणपति, मानुषी, धौलागिरी र वीन नेपाल लघुवित्तको लाभांश क्षमता ऋणात्मक देखिएको छ । यसको सीधा अर्थ हुन्छ, यी कम्पनीहरू यस वर्ष आफ्ना लगानीकर्तालाई नाफाबाट लाभांश वितरण गर्न सक्ने अवस्थामा छैनन् ।

लघुवित्त क्षेत्रमा अहिले सबैभन्दा ठूलो चुनौतीको रूपमा खराब कर्जा देखिएको छ । लघुवित्तले लगानी गरेको ऋण समयमा उठ्न नसक्दा यस्तो कर्जा बढ्ने गरेको छ। लघुवित्तहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नेस्डो समृद्ध लघुवित्तको खराब कर्जा सबैभन्दा बढी २०.६६ प्रतिशत पुगेको छ। त्यस्तै धौलागिरीको २०.५२ प्रतिशत र नेरुडे मिर्मिरेको १९.८६ प्रतिशत खराब कर्जा रहेको छ। अर्कोतर्फ सपोर्ट माइक्रोफाइनान्सले भने २.१६ प्रतिशतमा मात्र खराब कर्जा सीमित राखेको छ ।
समीक्षा अवधिमा लघुवित्त कम्पनीहरुको प्रतिशेयर आम्दानीको हिसाबले सीवाईसी नेपाल लघुवित्त सबैभन्दा अब्बल देखिएको छ । यस लघुवितको प्रतिशेयर आम्दानी ११०.६६ रुपैयाँ रहेको छ। जसले कम्पनीको पुँजी परिचालन र नाफा कमाउने दक्षतालाई बलियो देखाउँछ। ग्लोबल आईएमई लघुवित्त र जीवन विकास लघुवित्तको पनि प्रतिशेयर आम्दानी ६१ रुपैयाँ भन्दा माथि रहेको छ ।