भोटेकोसी बाढीले बैंकका शाखा पनि बगायो, कर्मचारीसँग सम्पर्क कठिन

Aug 26, 2026 12:29 PM Merolagani



रसुवाको टिमुरे क्षेत्रमा बुधबार बिहान आएको भोटेकोसीको भीषण बाढीले बस्ती र भौतिक संरचनासँगै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा समेत ठूलो क्षति पुर्‍याएको छ।

नेपाल बैंकर्स संघका अनुसार बाढी प्रभावित क्षेत्रमा रहेका विभिन्न बैंकका शाखा कार्यालयमा क्षति पुगेको प्रारम्भिक जानकारी आएको छ। तर सञ्चार सेवा अवरुद्ध भएकाले कर्मचारी तथा शाखासँग सम्पर्क हुन नसक्दा क्षतिको यकिन विवरण संकलन गर्न कठिन भइरहेको संघले जनाएको छ।

नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार बाढीको जानकारी पाएलगत्तै संघले आकस्मिक बैठक बसेर क्षतिको विवरण संकलन तथा उद्धारका विषयमा छलफल गरेको थियो। बैठकले प्रभावित क्षेत्रमा रहेका बैंकका कर्मचारीको उद्धारका लागि सम्बन्धित सरकारी निकायसँग अनुरोध गर्ने निर्णय गरेको छ।

कोइरालाका अनुसार केही कर्मचारी अझै सम्पर्कमा आएका छैनन्। उनले सञ्चार सम्पर्क स्थापित हुन थालेपछि क्षतिको विवरण क्रमशः संकलन गरिने बताए।

संघका अनुसार बाढी प्रभावित टिमुरे क्षेत्रमा नबिल, लक्ष्मी सनराइज, हिमालयन, एनएमबी, ग्लोबल आइएमई, माछापुच्छ्रे, सानिमा र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलगायतका शाखा सञ्चालनमा थिए।

बाढीले शाखा कार्यालय, बैंकिङ उपकरण तथा अन्य भौतिक संरचनामा पुर्‍याएको क्षतिको पूर्ण विवरण भने उद्धार तथा सञ्चार सेवा सहज भएपछि मात्र स्पष्ट हुने देखिएको छ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।