सोमबार नेप्से परिसूचक ४३.८९ अंक घटेर २५१३.४२ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ६.६८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४१ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ३ अर्ब ७८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४७ स्टकको ६८ हजार १३७ पटकको कारोबारमा ३ अर्ब ६४ करोड ८६ लाख ९हजार रुपैयाँबराबरको ९३ लाख २२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १३.१६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन घोराही सिमेन्ट इण्डष्ट्रीको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ भने ७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०९१ को मूल्य ६ प्रतिशत बढेको छ। कारोबारमा आएको मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयर यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ४८ रुपैयाँ ७० पैसा घटेर २७६ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। यस दिन रसुवागढी हाइड्रोपावर कम्पनीको शेयरमूल्य साढे ११ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोड ३८ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन सर्वोत्तम पेन्ट्सको करिब १६ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम १२ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अंक बढेको छ। कारोबारमा आएको निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन सर्वाधिक ५.०३ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।