यता साधारण बचत र कल निक्षेपको हिस्सामा उल्लेख्य वृद्धि देखिएको छ। बैंक तथा वित्तीय संस्थाहरूमा जम्मा हुने कुल निक्षेपको प्रवृत्तिमा आएको यो फेरबदलले समग्र तरलता व्यवस्थापन, कोषको लागत र ब्याजदरलाई प्रत्यक्ष प्रभावित पारेको छ।

तथ्यांकहरूलाई नजिकबाट हेर्दा दुई वर्ष अगाडि अर्थात् विसं २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ७३ खर्ब ३ अर्ब ५३ करोड रुपैयाँ रहेको थियो, सो अवधिमा मुद्दती निक्षेपको आकार ३५ खर्ब ६ अर्ब ९७ करोड रुपैयाँ रहेको थियो भने बचत निक्षेप २६ खर्ब ७३ अर्ब ४४ करोड र कल निक्षेप ५४ खर्ब ७१ करोड रुपैयाँको हाराहारीमा रहेको थियो, त्यस समय कुल निक्षेपमा मुद्दती निक्षेपको हिस्सा करिब ४८ प्रतिशतको उच्च बिन्दुमा थियो, जसले बैंकिङ क्षेत्रमा दीर्घकालीन निक्षेपको बाहुल्यता रहेको देखाउँथ्यो तर महँगो ब्याजदर तिर्नुपर्ने बाध्यताका कारण बैंकहरूको कोषको लागत समेत उच्च थियो।
यसको ठीक विपरीत विसं २०८३ असार मसान्तसम्म आइपुग्दा निक्षेपको यो संरचनामा पूर्ण रूपमा नयाँ मोड आएको छ, पछिल्लो तथ्यांकअनुसार कुल निक्षेप बढेर ८३ खर्ब ११ अर्ब २४ करोड रुपैयाँ पुगेको छ भने मुद्दती निक्षेपको आकार घटेर २९ खर्ब २५ अर्ब ४१ करोड रुपैयाँमा झरेको छ, यसरी दुई वर्षको तुलना गर्दा कुल निक्षेप उल्लेखनीय रूपमा बढेतापनि मुद्दती निक्षेपको परिमाण भने ५ खर्ब ८१ अर्ब ५५ करोड रुपैयाँले घटेको स्पष्ट हुन्छ, यससँगै कुल निक्षेपमा मुद्दतीको हिस्सा घटेर ३५ प्रतिशतको आसपासमा सीमित भएको छ।
मुद्दती निक्षेपको हिस्सा यसरी घट्नुको मुख्य कारणमा बैंकहरूले मुद्दती निक्षेपमा दिने ब्याजदरमा आएको लगातारको गिरावट र अर्थतन्त्रमा लगानीको गति सुस्त हुनु मुख्य रूपमा जिम्मेवार छन् । ब्याजदर घट्न थालेपछि सर्वसाधारण तथा संस्थागत निक्षेपकर्ताहरूले लामो अवधिका लागि पैसा बैंकमा राख्नुभन्दा सहज रूपमा झिक्न सकिने बचत खाताहरूतर्फ आकर्षण देखाएका छन्, फलस्वरुप, २०८२ असारमा २६ खर्ब ७३ अर्ब रहेको बचत निक्षेप बढेर २०८३ असारमा ३८ खर्ब ९२ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ, यसैगरी, कल निक्षेपको हिस्सा पनि ५४ खर्ब ७१ अर्बबाट बढेर ७५ खर्ब २ करोड रुपैयाँ पुगेको छ जसले बजारमा छोटो अवधिको तरलता व्यापक रूपमा थुप्रिएको संकेत गर्छ।
निक्षेपको संरचनामा आएको यो फेरबदलले बैंकिङ तरलता र समग्र अर्थतन्त्रमा गहिरो प्रभाव पारेको छ, मुद्दती निक्षेप खुम्चिँदा र साधारण बचत तथा कल निक्षेप बढ्दा बैंकहरूको समग्र कोषको लागत घटेको छ, जसले गर्दा कर्जाको ब्याजदर एकल अंकमा झर्न सहयोग पुगेको छ, यद्यपि, बजारमा दीर्घकालीन स्रोतभन्दा छोटो अवधिको तरलता बढी हुँदा बैंकहरूलाई दीर्घकालीन प्रकृतिका ठूला परियोजनाहरूमा लगानी गर्न केही चुनौती थपिएको छ । निक्षेपको यो प्रवृत्तिगत विश्लेषणले केन्द्रीय बैंकलाई आगामी दिनमा मौद्रिक नीति तर्जुमा गर्दा बजारको वास्तविक तरलताको माग र ब्याजदर सन्तुलनमा गंम्भिर भएर सोच्नुपर्ने भएको छ।