ब्रिक्स सम्मेलनका कारण नयाँ दिल्लीमा मर्सिडिजदेखि बीएमडब्ल्यूसम्मका विलासी गाडीको हाहाकार, सम्मेलन अवधिभर दिल्ली ठप्प

Sep 11, 2026 02:20 PM Merolagani



भारतको राजधानी नयाँ दिल्लीमा शनिबार देखि शुरु हुनेको ब्रिक्स शिखर सम्मेलनका कारण सुविधा सम्पन्न विलासी गाडीको चर्काे अभाव सृजना भएको छ। 

विदेशी राष्ट्रप्रमुख, मन्त्री, कूटनीतिज्ञ तथा उच्चपदस्थ प्रतिनिधिको आवागमनका लागि महँगा गाडीको माग बढेपछि विलासी गाडी भाडामा दिने व्यवसायीले छोटो समयमै ठूलो कारोबार गर्ने अवसर पाएका छन् ।

भारतले सेप्टेम्बर १२ र १३ मा नयाँ दिल्लीमा १८औँ ब्रिक्स शिखर सम्मेलन आयोजना गर्दैछ। सम्मेलनमा ११ सदस्य राष्ट्रका नेतासँगै १० साझेदार राष्ट्रका प्रतिनिधि सहभागी हुने तयारी छ। यति ठूलो अन्तर्राष्ट्रिय जमघटले दिल्लीको होटल, यातायात, सुरक्षा, खानपान र अन्य सेवा क्षेत्रमा माग बढाएको छ।

यही क्रममा मर्सिडिज, बीएमडब्ल्यू, अडी, टोयोटा भेलफायरलगायतका विलासी तथा उच्चस्तरीय गाडीको माग बढेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। ब्रिक्स सम्मेलनका लागि करिब ५०० विलासी गाडी परिचालन गर्ने सरकारले तयारी गरेको समाचारमा उल्लेख गरिएको छ। अभाव भएसंगै अन्य प्रदेशबाट समेत महंगो भाडा तिरेर त्यस्ता गाडीहरु नयाँ दिल्ली लैजाने क्रम चलिरहेको बताइएको छ ।

ब्रिक्स सम्मेलनका कारण पाँचतारे होटलहरु भरिभराउ भएका छन् । त्यसले गर्दा कोठाको मूल्यसमेत उच्च मात्रामा बढेको छ । केही विलासी कोठाको एक रातको भाडा १४ लाख भारतीय रुपैयाँसम्म पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। केही प्रमुख होटलमा सामान्य कोठाको भाडासमेत दुई लाख रुपैयाँभन्दा माथि पुगेको रिपोर्ट छ।

उता ब्रिक्स सम्मेलनका कारण दिल्लीमा सडक तथा यातायातमा व्यापक प्रतिबन्ध लगाइएको छ। २५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ, ३५ वटा प्रमुख मार्ग र ११ वटा होटललाई उच्च सुरक्षा क्षेत्रमा राखिएको छ।

स्मरण रहोस् ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका संस्थापक रहेको ब्रिक्समा पछि इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्स थपिएका छन्।

विदेशी पाहुनाका लागि ३५ सय कोठा बुक

विदेशी पाहुनाहरूका लागि सेन्ट्रल दिल्लीका १२ देखि १५ वटा प्रिमियम पाँच तारे होटलहरूमा ३५०० कोठाहरू बुक गरिएका छन्।

रुसी राष्ट्रपति पुटिन आईटीसी मौर्यामा बस्नेछन् भने चिनियाँ राष्ट्रपति सी जिनपिङ ताज प्यालेसमा बस्नेछन्। त्यस्तै दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा द ललित, इरानी राष्ट्रपति मसुद पेजेस्कियान द ओबेरोय र इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी शेराटन, यूएईका क्राउन प्रिन्स खालिद बिन मोहम्मद अल नाह्यान द लीला प्यालेस र ब्राजिलका विदेशमन्त्री माउरो भिएरा द इम्पेरियलमा बस्नेछन्।

सडकमा प्रतिबन्ध, सरकारी कार्यालय, अदालत, स्कुल, क्याम्पस बन्द

इन्दिरा गान्धी विमानस्थलदेखि कार्यक्रम स्थल भारत मण्डपमसम्मका ३५ भन्दा बढी मुख्य सडकहरूमा प्रतिबन्ध लगाइएको छ।


कनाट प्लेस, पटेल चोक लगायत २२ ठाउँमा सवारीसाधनको रुट परिवर्तन गरिएको छ। सेप्टेम्बर ११ देखि १३ सम्म दिल्लीमा सरकारी कार्यालय, विद्यालय र अदालतहरू बन्द गरिने भएको छ। त्यस्तै सुरक्षाको लागि ३० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । सेप्टेम्बर ११ देखि १३ सम्म दिल्लीको ३०० किलोमिटर दायराभित्र साना विमान र यूएभी उडानमा प्रतिबन्ध लगाएको छ। १०० किलोमिटरको दायरामा ड्रोन, प्याराग्लाइडर र साना हवाई उपकरण उडाउन रोक लगाइएको छ।

 




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।