विश्वभर फैलदैँ छायाँ जहाजको साम्राज्य : युद्ध र प्रतिबन्ध छल्दै विश्व बजारमा तेल पुर्याउने रहस्यमयी १५ सय जहाजहरु

Sep 13, 2026 02:14 PM Merolagani



 विश्व व्यापारका समुद्री मार्गमा अहिले दुई किसिमको व्यापारिक संसार देखिन थालेको छ।

एउटा अन्तर्राष्ट्रिय नियम, बीमा र पारदर्शी स्वामित्वमा चल्ने परम्परागत समुद्री व्यापार हो। अर्को भने ‘छायाँ जहाज’ भनिने त्यस्तो सञ्जाल हो, जसका जहाजले स्वामित्व लुकाउने, झण्डा परिवर्तन गर्ने, आफ्नो स्थान पहिचान गराउने प्रणाली बन्द गर्ने वा अस्पष्ट बीमा प्रयोग गर्नेजस्ता तरिकाबाट प्रतिबन्धित देशको तेल विश्व बजारमा पुर्‍याउने गर्छन्।  

अहिले यो कुनै सानो समूह रहेन । TankerTrackers.com को अनुमानअनुसार १,५०० भन्दा बढी तेलवाहक जहाज यस्तो सञ्जालमा जोडिएका छन्, जुन विश्वको कुल तेलवाहक जहाजको करिब पाँचौँ हिस्सा हुन आउँछ । अर्कोतर्फ युक्रेनको सरकारी प्रतिबन्धसम्बन्धी तथ्यांकले अगस्ट २०२६ मा १,४३० जहाजलाई ‘छायाँ जहाज’को सूचीमा राखेको छ। 

आखिर ‘छायाँ जहाज’ भनेको के हो ?

सामान्य भाषामा भन्नुपर्दा, अन्तर्राष्ट्रिय प्रतिबन्धबाट जोगिँदै तेल वा अन्य प्रतिबन्धित वस्तु ओसारपसार गर्ने अस्पष्ट संरचना भएका जहाजलाई छायाँ जहाज भनिन्छ।

यी जहाज सबै एउटै देशका हुँदैनन्। रुसको तेल निर्यातमा प्रयोग हुने जहाज यसको सबैभन्दा ठूलो उदाहरण भए पनि इरानलगायत प्रतिबन्धित तेल उत्पादकले पनि यस्ता सञ्जाल प्रयोग गर्छन्। यस्ता जहाजको स्वामित्व, व्यवस्थापन, झण्डा र बीमा फरक–फरक देश वा कम्पनीसँग जोडेर राखिन्छ। यसले वास्तविक मालिक वा सामानको वास्तविक स्रोत पत्ता लगाउन कठिन बनाउँछ।

प्रतिबन्ध लागेपछि यस्तो सञ्जाल किन आवश्यक भयो ?

रुस–युक्रेन युद्धपछि अमेरिका, युरोपेली संघ र बेलायतले रुसी तेलमाथि विभिन्न प्रतिबन्ध र मूल्य–सीमा लगाए। उद्देश्य थियो रुसले तेल बेचेर युद्धका लागि ठूलो विदेशी मुद्रा कमाउन नसकोस्।

तर विश्व बजारमा रुस ठूलो तेल उत्पादक भएकाले अर्को समस्या आयो। रुसको तेल पूर्ण रूपमा बजारबाट हट्यो भने विश्व बजारमा तेलको आपूर्ति घटेर मूल्य अत्यधिक बढ्न सक्थ्यो।

प्रतिबन्ध लगाउने देशहरू रुसी तेलको आम्दानी सीमित गर्न चाहन्थे, तर विश्व बजारलाई रुसी तेलको आपूर्ति पूर्ण रूपमा रोक्न पनि चाहँदैनथे। यही खाली ठाउँमा छायाँ जहाजको व्यापार विस्तार भयो।

रुसले पुराना तेलवाहक जहाज किन्ने, स्वामित्व परिवर्तन गर्ने, नयाँ कम्पनीमार्फत सञ्चालन गर्ने र विभिन्न देशको झण्डामुनि चलाउने क्रम बढायो।

एउटा जहाज कसरी ‘छायाँ’ बन्छ ?

यसमा प्रयोग हुने तरिका निकै रोचक छन्।

१. झण्डा परिवर्तन

एउटा जहाज कुनै देशमा दर्ता भएको हुन्छ। प्रतिबन्धबाट बच्न त्यसले अर्को देशको झण्डा लिन सक्छ।

२०२६ मा युरोपेली अधिकारीहरूले क्यामरुनको झण्डा गलत रूपमा प्रयोग गरिएका जहाजमाथि कारबाहीसमेत गरेका छन्। क्यामरुनले आफ्नो जहाज दर्ता प्रणाली दुरुपयोग भएको स्वीकार गर्दै दर्जनौँ जहाज हटाएको छ।

२. ‘एआईएस’ बन्द गर्ने

जहाज कहाँ छ भन्ने जानकारी प्रसारण गर्ने स्वचालित पहिचान प्रणाली (AIS) जहाजको निगरानीमा महत्त्वपूर्ण हुन्छ। तर छायाँ जहाजले कतिपय अवस्थामा यो प्रणाली बन्द गर्छ। त्यसपछि उपग्रह वा समुद्री निगरानी प्रणालीले जहाजको नियमित गतिविधि पत्ता लगाउन कठिन हुन्छ।

युक्रेनको प्रतिबन्धसम्बन्धी तथ्यांकमा यस्ता जहाजले ‘डार्क गतिविधि’ अर्थात् एआईएस संकेत बन्द गर्ने गरेको उल्लेख छ।

३. समुद्रमै तेल अर्को जहाजमा सार्ने

एउटा जहाजले प्रतिबन्धित तेल बोकेर समुद्रमा जान्छ। त्यसपछि अर्को जहाजसँग समुद्रमै जोडिएर एक जहाजबाट अर्को जहाजमा तेल सारिन्छ। 

यसलाई ship-to-ship transfer भनिन्छ। यसरी पहिलो जहाजमा लोड भएको तेल अर्को जहाजमा पुगेपछि यसको वास्तविक स्रोत पत्ता लगाउन कठिन हुन्छ। पछिल्लो समय ओमानको तटीय क्षेत्रमा समेत यस्ता गतिविधि बढेको रिपोर्ट छ।

४. स्वामित्वको जालो

एउटा जहाजको वास्तविक मालिक एउटै कम्पनी नहुन सक्छ। स्वामित्व एउटा कम्पनी, व्यवस्थापन अर्को कम्पनी, जहाजको झण्डा अर्को देश र बीमा अर्को संस्थासँग जोडिन्छ।

KSE Institute का अनुसार २०२६ मा छायाँ जहाजको व्यवस्थापन र स्वामित्व संरचनामा चीन, रुस र संयुक्त अरब इमिरेट्ससँग सम्बन्धित संस्थाहरूको ठूलो भूमिका देखिएको छ।

सबैभन्दा ठूलो ग्राहक को ?

छायाँ जहाजले बोक्ने रुसी कच्चा तेलको प्रमुख गन्तव्यमा चीन र भारत देखिन्छन्। KSE Institute को २०२६ को तथ्यांकअनुसार अप्रिलमा छायाँ जहाजमार्फत ढुवानी भएको रुसी कच्चा तेलमध्ये करिब ३५ प्रतिशत चीन र ३२ प्रतिशत भारततर्फ गएको थियो।

मे महिनाको तथ्यांकमा चीन करिब ३० प्रतिशत र भारत २१ प्रतिशत रहेको देखिन्छ। महिनाअनुसार हिस्सा परिवर्तन भए पनि यी दुई एसियाली बजार प्रमुख गन्तव्य रहेको तस्वीर स्पष्ट छ।

पुराना र जोखिमपूर्ण जहाज किन प्रयोग गरिन्छ ?

छायाँ जहाजको अर्को ठूलो समस्या यही हो । KSE Institute का अनुसार २०२६ को मे महिनामा रुसी कच्चा तेल बोक्ने छायाँ जहाजमध्ये ९३ प्रतिशत १५ वर्षभन्दा पुराना थिए। तेलजन्य उत्पादन बोक्ने छायाँ जहाजमध्ये पनि ९१ प्रतिशत १५ वर्षभन्दा पुराना थिए।

पुराना जहाज आफैंमा गैरकानुनी होइनन्। तर अत्यधिक पुरानो, कमजोर मर्मत गरिएको, अस्पष्ट स्वामित्व भएको र पर्याप्त बीमा नभएको जहाजलाई संवेदनशील समुद्री मार्गमा चलाउँदा जोखिम निकै बढ्छ।

यही कारणले १८ प्रमुख समुद्री राष्ट्रले छायाँ जहाजलाई विश्व समुद्री व्यापारको सुरक्षा र नियममा आएको संरचनात्मक परिवर्तनको संकेत भनेका छन्।

बीमा नभए दुर्घटना भयो भने ?

सामान्य व्यापारिक जहाजसँग दुर्घटना, प्रदूषण र तेस्रो पक्षको क्षतिको जोखिम व्यवस्थापन गर्न ठूलो बीमा हुन्छ। तर छायाँ जहाजमध्ये धेरैसँग परम्परागत अन्तर्राष्ट्रिय बीमा छैन।

यसको एउटा वास्तविक उदाहरण यसै वर्ष देखियो। रुसी तेल बोकेको ‘Caroline Bezengi’ नामको छायाँ जहाज ओमानको तट नजिक विस्फोटक वस्तु/माइनसँग ठोक्किएपछि क्षतिग्रस्त भयो। जहाजमा परम्परागत सुरक्षा तथा दायित्व बीमा नभएका कारण तेल चुहावट वा सफाइको खर्च कसले बेहोर्ने भन्ने समस्या उत्पन्न भयो।

अझ गम्भीर कुरा, २०२६ मा केही रुसी छायाँ जहाजले अस्तित्वमै नभएको कम्पनीको बीमा प्रमाणपत्र प्रयोग गरेको आरोपसमेत सार्वजनिक भएको छ।

युक्रेनी गुप्तचर मूल्यांकनमा ‘Seaguard P&I’ नामको कम्पनीसँग जोडिएको बीमा प्रमाणपत्र वास्तविक नभएको दाबी गरिएको छ। यद्यपि त्यस दाबीलाई सबै पक्षबाट स्वतन्त्र रूपमा पुष्टि गरिएको छैन।

इरान युद्धपछि झन विस्तार

पहिले ‘छायाँ जहाज’ भन्ने शब्द मुख्यतः रुसी तेल निर्यातसँग जोडिन्थ्यो। अहिले यसको दायरा इरानतर्फ पनि विस्तार भएको छ। अमेरिकाले सेप्टेम्बर ५ मा तीन इरानी तेलवाहक जहाजमाथि हमला गर्दा ती जहाजलाई इरानी ‘shadow network’सँग जोडिएको बताएको थियो। इरानले भने त्यसको जवाफमा अमेरिकी जहाज र तेलवाहकमाथि कारबाही गरेको दाबी गरेको थियो।

यसले छायाँ जहाज अब प्रतिबन्ध छल्ने आर्थिक उपकरण मात्र नभएर युद्ध र भू–राजनीतिक संघर्षको हिस्सा बन्न थालेको देखाउँछ।