काठमाडौँ उपत्यकामा एलपी ग्यासको मूल्य पुरानै मूल्य २ हजार ६० रुपैयाँमा बिक्री गर्न निर्देशन

Sep 17, 2026 03:38 PM Merolagani



नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौँ उपत्यकामा बजारीकरण गर्ने सम्पूर्ण ग्यास उद्योगहरूलाई निगमले तोकेको साविककै मूल्य प्रतिसिलिण्डर २ हजार ६० रुपैयाँमा नबढाई ग्यास बिक्री वितरण गर्न अनुरोध गरेको छ।

संघले एक प्रेस विज्ञप्ति जारी गर्दै २०८३ असोज २ गते शुक्रबारदेखि लागू हुने गरी उक्त मूल्यमा ग्यास बिक्री वितरण गर्न र आफ्ना बिक्रेताहरूलाई सोही अनुसार जानकारी गराउन आग्रह गरेको हो।

यसअघि भदाै १४ गते कृष्णभीर क्षेत्रमा त्रिशुली नदीमा आएको भीषण बाढीले पृथ्वी राजमार्गको केही खण्ड कटान गरेपछि सडक अवरुद्ध भएको थियो। सो अवस्थामा काठमाडौँ उपत्यकामा ग्यास बजारीकरण गर्ने उद्योगहरूले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषामा रहेका ग्यास उद्योगहरूमा सिलिण्डर रिफिल गरी ट्रकहरूमार्फत वैकल्पिक मार्गबाट ल्याएर एलपी ग्यास आपूर्ति गरिरहेका थिए।

त्यसबेलाको सास्ती र बढी ढुवानी खर्चलाई मध्यनजर गर्दै संघले भाद्र १८ गतेको निर्णय अनुसार प्रतिसिलिण्डर साविक मूल्य २ हजार ६० मा १०५ रुपैयाँ ३८ पैसा ढुवानी भाडा थप गरी जम्मा २ हजार १६५ रुपैयाँ ३८ पैसा नबढाई बिक्री वितरण गर्न अनुरोध गरेको थियो।

 अहिले अवरुद्ध सडक खण्डमा वैकल्पिक ट्र्याक खोली यातायात सहज रूपमा सञ्चालन भएसँगै एलपी ग्यास बुलेटहरू काठमाडौँ आउन थालेका छन्। ग्यास उद्योगहरूलाई अब वैकल्पिक मार्गबाट ग्यास ल्याउनुपर्ने बाध्यता हटेकाले ढुवानी भाडाबापत थप गरिएको रकम हटाई साविककै मूल्य कायम गर्न नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।