दुई महिनामा वैदेशिक निर्यात व्यापारमा ६१ प्रतिशतको बृद्धि : निर्यात बढे पनि व्यापार घाटा सवा तीन खर्ब नाघ्यो

Sep 23, 2026 05:25 PM Merolagani



चालु आर्थिक वर्षको साउन र भदौ महिनामा मुलुकको वैदेशिक व्यापारमा उत्साहजनक सुधार देखिएको छ। पहिलो दुई महिनाको अवधिमा आयात र निर्यात दुवैमा उल्लेख्य वृद्धि भए पनि व्यापार घाटाको आकार अझै फराकिलो बन्दै गएको छ। 

भन्सार विभागले सार्वजनिक गरेको हालैको तथ्यांक अनुसार मुलुकको बाह्य व्यापारमा सकारात्मक र चुनौतीपूर्ण दुवै पाटा देखिएका छन्।

समीक्षा अवधिमा मुलुकको कुल वैदेशिक व्यापार ३५ दशमलव ६४ प्रतिशतले वृद्धि भएर चार खर्ब ७८ अर्ब १० करोड रुपैयाँ नाघेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कुल वैदेशिक व्यापार तीन खर्ब ५२ अर्ब रुपैयाँको हाराहारीमा रहेको थियो। व्यापार विस्तार हुनुमा आयातसँगै निर्यातमा आएको उच्च छलाङले मुख्य भूमिका खेलेको छ।

निर्यात व्यापारमा ६१ प्रतिशतकाे वृद्धि

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपाली वस्तु तथा उत्पादनको निर्यातमा ६१ दशमलव ८६ प्रतिशतको विशाल वृद्धि देखिएको छ। गत वर्षको सोही अवधिमा ४७ अर्ब ३१ करोड रुपैयाँमा सीमित रहेको निर्यात यस पटक बढेर ७६ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। यससँगै कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा पनि १३ दशमलव ४२ प्रतिशतबाट बढेर १६ दशमलव शून्य दुई प्रतिशत पुगेको छ। वनस्पति घिउ, तेलजन्य वस्तुहरू, चिया, कफी, मसला र हस्तकलाका वस्तुहरूको निर्यातमा आएको वृद्धिका कारण कुल निर्यात व्यापारले गति लिएको देखिन्छ।

व्यापार घाटा बढ्दाे

निर्यात बढे तापनि मुलुकको आयातको माग उच्च नै रहेका कारण व्यापार घाटामा दबाब कायम छ। समीक्षा अवधिमा आयात ३१ दशमलव ५८ प्रतिशतले बढेर चार खर्ब एक अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। नेपालमा पेट्रोलियम पदार्थ, वनस्पति तथा पाम तेलका कच्चा पदार्थहरू, सवारीसाधन र रासायनिक मलको आयात सबैभन्दा धेरै हुने गरेको छ। आयातको यो ठूलो आकारका कारण मुलुकको व्यापार घाटा २६ दशमलव शून्य दुई प्रतिशतले बढेर तीन खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। गत वर्षको पहिलो दुई महिनामा व्यापार घाटा दुई खर्ब ५७ अर्ब रुपैयाँ रहेको थियो।

 

भन्सार नाकाहरुमा वीरगञ्जकाे हिस्सा ठूलाे

मुलुकमा हुने कुल वैदेशिक व्यापारमध्ये सबैभन्दा ठूलो हिस्सा वीरगन्ज नाकाले ओगटेको छ। वीरगन्ज नाकाबाट मात्र कुल आयातको करिब ४९ प्रतिशत र निर्यातको करिब ४४ प्रतिशत कारोबार भएको छ। त्यसैगरी, भैरहवा र विराटनगर नाकाहरू पनि वैदेशिक व्यापारका प्रमुख केन्द्रका रूपमा रहेका छन्।

समग्रमा, चालु आर्थिक वर्षको सुरुवाती महिनाहरूमा देखिएको निर्यातको उच्च वृद्धि अर्थतन्त्रका लागि सकारात्मक संकेत भए पनि आयात नियन्त्रण र आन्तरिक उत्पादन प्रवर्द्धनमार्फत व्यापार घाटालाई सन्तुलनमा राख्न थप ठोस आर्थिक नीतिको खाँचो देखिएको छ।