भारतमा युनाइटेड फोरम अफ बैंक युनियन्सको आह्वानमा सेप्टेम्बर २८ देखि ३० सम्म हुने हडतालका कारण बैंकिङ कारोबार प्रभावित हुँदा करिब १५ हजारदेखि २० हजार करोड भारतीय रुपैयाँसम्मका चेक भुक्तानी अड्किन सक्ने अनुमान गरिएको छ।
हडताल सुरु हुनुभन्दा ठीकअघि सेप्टेम्बर २६ मा चौथो शनिबार र २७ मा आइतबार परेकाले बैंकिङ सेवामा लगातार पाँच दिनसम्म ठूलो अवरोध आउन सक्ने अवस्था बनेको छ। यही कारण सरकारले अत्यावश्यक बैंकिङ सेवा सञ्चालनमा राख्न आइतबार पनि सरकारी बैंकका शाखा खोल्ने तयारी गरेको छ।
भारतमा बैंकिङ प्रणालीमार्फत दैनिक ठूलो परिमाणमा रकमको कारोबार हुन्छ। युपीआईमार्फत मात्रै दैनिक करिब ८८ हजार करोडदेखि १ लाख करोड भारतीय रुपैयाँसम्म कारोबार हुने गरेको समाचारमा उल्लेख छ। यसबाहेक चेक, एनईएफटी, आरटीजीएस, नगद कारोबार, कर्जा, सरकारी भुक्तानी तथा विदेशी मुद्रा कारोबारसमेत प्रभावित हुन सक्छन्।
तर बैंक हडतालका कारण रोकिएको सम्पूर्ण कारोबारलाई ‘नोक्सानी’ मान्न भने मिल्दैन। धेरै कारोबार हडतालपछि सम्पन्न हुन सक्छन् भने युपीआई, एटीएम, मोबाइल तथा इन्टरनेट बैंकिङजस्ता विद्युतीय सेवा सञ्चालनमा रहन सक्छन्। वास्तविक असर भने कारोबारमा भएको ढिलाइ, व्यवसायको नगद प्रवाहमा परेको दबाब र भुक्तानी चक्रमा आएको अवरोधबाट देखिनेछ।
बैंक कर्मचारी संगठनहरूले सातामा पाँच दिन मात्र बैंक खोल्ने व्यवस्था गर्नुपर्ने लगायतका माग अघि सारेका छन्। हडतालमा लाखौँ बैंक कर्मचारी सहभागी हुने बताइएको छ। भारतका निजी क्षेत्रका केही ठूला बैंक भने हडतालमा सहभागी नहुने भएकाले उनीहरूको सेवा सञ्चालनमा रहनेछ।
यसपटकको हडतालको समय झनै महत्त्वपूर्ण मानिएको छ। सेप्टेम्बर ३० भारतका बैंकहरूको अर्धवार्षिक हिसाब मिलान हुने महत्त्वपूर्ण दिन भएकाले त्यस दिन बैंकिङ कारोबार प्रभावित भएमा वित्तीय व्यवस्थापनमा थप दबाब पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।