लगातारको अविरल वर्षासँगै आएको बाढी, पहिरोमा मृत्यु हुनेको संख्या १२ पुग्यो, ७ जना बेपत्ता

Sep 27, 2026 03:33 PM Merolagani



लगातारको अविरल वर्षासँगै आएको बाढी, पहिरोका कारण देशभर १२ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार पछिल्लो २४ घण्टामा मात्रै ६ जनाको मृत्यु भएको हो ।

असोज ८ गतेदेखि हालसम्म बाढी, पहिरो र अविरल वर्षाका कारण मृत्यु हुनेको संख्या १२ पुगेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जाकारी दिइन् । उनकाअनुसार ७ जना सम्पर्कविहीन रहेका छन् । पाल्पामा एक जना तथा पछिल्लो २४ घण्टामा वागलुङमा चार र म्याग्दीमा दुई जना गरी बेपत्ता हुनेको संख्या ७ पुगेको उनले जानकारी दिइन् । सम्पर्कविहीनहरुको खोजी कार्य जारी रहेको उनले जानकारी दिइन्।

मौसम पूर्वानुमान महाशाखाले वर्षा तथा सम्भावित जोखिमबारे पूर्वानुमान गरेपछि प्राधिकरणले सोही आधारमा तयारी गरेको उनको भनाई छ । जोखिमका आधारमा रेड, एम्बर र येलो अलर्ट भएका क्षेत्र पहिचान गरी स्थानीय प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहलाई पूर्वतयारी र उद्धारका लागि टोली परिचालन गरिएको उनले जानकारी दिइन् । विशेषगरी हिमाली क्षेत्रमा भारी वर्षासँगै हिमपातको सम्भावना देखिएपछि पर्यटक तथा ट्रेकर्सलाई लक्षित गरी छुट्टै सूचना जारी गरिएको उनको भनाई छ । हालसम्म ९ हजारभन्दा बढी पर्यटकलाई सुरक्षित स्थानमा झारिएको उनले बताइन् । प्राधिकरणले अंग्रेजी भाषामा समेत एडभाइजरी जारी गरी विदेशी पर्यटक तथा यात्रुलाई मौसम र जोखिमबारे जानकारी गराएका थिए ।

उनले भनिन्, ‘असोज ७ गते देखि वर्षा हुन थाल्यो, नेपालका विभिन्न भू–भागमा त्यो बेला देखि अहिलेसम्मको हेर्दा खेरि मानवीय क्षति अलिकति कम देखिएको छ, हिजोसम्म ६ जनाको थियो भने अहिले पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । हालसम्म १२ जना मृत्यु भएको देखिएको छ । विशेषगरी यो बाढी, पहिरो, अविरल वर्षा कारणले भएको छ । अब बेपत्तामा पाल्पामा ९ गते एकजना बेपत्ता हुनुभएको थियो, घर पहिरोले पुरिएर उहाँ सम्पर्कविहीन हुनुहन्छ भने पछिल्लो २४ घण्टा भित्रमा बाग्लुङमा चार जना र म्याग्दीमा दुई जना गरेर ६ जना बेपत्ता हुनुहुन्छ ।’

उनले सम्भावित जोखिमलाई ध्यानमा राख्दै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, स्थानीय तहका प्रमुख तथा विपद् प्रतिकार्यमा खटिने अन्य निकायसँग निरन्तर सूचना आदान–प्रदान भइरहेको बताइन् । प्राधिकरणले ह्वाट्सएप, भाइबरलगायत डिजिटल माध्यमबाट नदी बेसिन, वर्षाको अवस्था र प्रभावित क्षेत्रबारे नियमित जानकारी संकलन तथा सम्प्रेषण गरिरहेको छ । उनकाअनुसार गण्डकी र लुम्बिनी प्रदेशलाई जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको थियो । कालीगण्डकी र नारायणी नदी बेसिनमा कतिपय स्थानमा अति भारी वर्षा भएपछि नदीको बहाव बढेको र कटानसमेत भएको उनले बताइन् ।

नवलपरासी १ हजार बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण

प्राधिकरणका अनुसार नवलपुर, चितवन, पाल्पा, पर्वतलगायत जिल्लामा बाढी, कटान र पहिरोको जोखिम देखिएको छ । पर्वतमा केही घर बाढीले बगाएको छ । तर स्थानीय प्रशासनले जोखिमयुक्त बस्तीका बासिन्दालाई समयमै सुरक्षित स्थानमा सारेकाले मानवीय क्षति हुन नपाएको प्राधिकरणकी प्रवक्ता महतले बताइन् । उनकाअनुसार नवलपरासी क्षेत्रमा पनि १ हजार १ सयभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको उनले बताइन् । म्याग्दीमा उद्धारका लागि दुईवटा हेलिकोप्टर परिचालन गरिएको छ ।

उनले भनिन्, ‘हामीले सुरुदेखि नै गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रलाई बढी जोखिममा रहेको भनेर पहिचान गरेका थियौँ । अहिले वास्तविक अवस्था पनि त्यहीअनुसार देखिएको छ । विशेषगरी कालीगण्डकी र नारायणी नदी बेसिनका विभिन्न स्टेसनमा अति भारीसम्मको वर्षा रेकर्ड भएको छ । ती नदी बेसिनबाट प्रभावित हुन सक्ने क्षेत्रमा पनि जोखिम बढेको छ । नवलपुर, चितवन, पाल्पा, पर्वतलगायतका जिल्लामा त्यसको प्रभाव देखिएको छ । पर्वतमा केही घर बगेको जानकारी आएको छ । तर त्यहाँका बासिन्दालाई अघिल्लो बेलुका नै सुरक्षित स्थानमा स्थानान्तरण गरिसकिएको हुँदा मानवीय क्षति हुन पाएन । त्यसैगरी, नवलपरासी र सिक्किम क्षेत्रमा पनि करिब एक हजार एक सयभन्दा बढी बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिसकिएको थियो । यस्ता धेरै ठाउँ छन्, जहाँ जोखिमको पूर्वानुमान गरेर पहिले नै नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । उद्धारको विषयमा पनि हामीले प्राथमिकताका आधारमा काम गरिरहेका छौँ। कतिपय ठाउँमा अझै पनि समस्या छ । अहिले भर्खरै दुईवटा हेलिकप्टर उद्धारका लागि म्याग्दी प्रस्थान गरिसकेका छन् । आवश्यकताअनुसार जोखिममा रहेका नागरिकको उद्धार र सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम जारी छ ।’

उद्धारपछि सुरक्षित स्थानमा राखिएका नागरिकका लागि खाना तथा अन्य आवश्यक सामग्रीको व्यवस्थापन स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारसँगको समन्वयमा भइरहेको छ । स्थानीय तथा प्रदेशस्तरका गोदाममा रहेका सामग्रीसँगै प्राधिकरणको केन्द्रिय गोदाम र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित गोदामबाट समेत आवश्यकताअनुसार राहत सामग्री पठाइरहेको प्राधिकरणले जनाएको छ । महतकाअनुसार तत्कालको जोखिम भने अझै टरेको छैन । आईतवार रातिसम्म केही क्षेत्रमा वर्षा जारी रहन सक्ने भएकाले नदीको बहाव थप बढ्ने र बाढी पहिरो आउने खतरा रहेको उनले बताइन् ।




जागिरको खोजीमा भूपु मन्त्री: श्रद्धा श्रेष्ठले नेपालमा बसालेको संस्कारले दिएको गम्भीर सन्देश

Sep 23, 2026 02:43 PM

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि झण्डै साढे तीन दर्जन आकाँक्षीहरुले आवेदन दिएका छन् । त्यसमध्येकी एक पात्र हुन् श्रद्धा श्रेष्ठ।