भन्सार विभागले एक सूचना जारी गर्दै गत असोज ८ गतेदेखि परेको निरन्तर वर्षाका कारण सडक अबरुद्ध भई उत्तरी छिमेकी मुलुक चीनसँग जोडिने कोरला नाकाबाट हुने सामान आयात–निर्यातको कार्य तत्कालका लागि प्रभावित बनेको जनाएको छ।
सडक विभागका अनुसार कोरिडोर अन्तर्गत पर्ने लाटीखोला, फर्से, जुकेखोला, केराबारी, गलेश्वर, रघुगंगा पुल, बैसरी (१, २ र ३), बेगखोला, महभिर, नैनीबगर, जलथले, सुकेबगर, दाना र लाटोखोला लगायतका दर्जनभन्दा बढी स्थानमा माथिबाट लेदोसहितको भीषण पहिरो खसेको छ। त्यसैगरी पोखरेबगर स्थित पुलको देब्रेतर्फको एप्रोच रोड बाढीले बगाएको छ भने तातोपानी कुण्ड, नार्च्याङ र खामभित्ता क्षेत्रमा नदीको उच्च बहावका कारण व्यापक बाटो कटान हुँदा सवारी साधन सञ्चालन पूर्ण रूपमा ठप्प बनेको छ।
सडक अवरुद्ध भएसँगै सडक विभाग र सो मातहतका निकायहरूले मर्मत तथा पहिरो पन्छाउने कामलाई द्रुत गतिमा अगाडि बढाएका छन्। अवरोध भएका केही स्थानहरूमा सफाइ गरी सडक सुचारु भइसकेको र अब मौसममा सुधार आई वर्षा रोकिएमा आगामी ३ देखि ६ दिनभित्र सम्पूर्ण सडक खण्ड पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। सडक विभागको निरन्तरको प्रयासबाट छिट्टै बाटो खुलाएर कोरला नाकाको व्यापार तथा यातायात सहज बनाइने विश्वास भन्सार विभागले व्यक्त गरेको छ।