सरकार र धितोपत्र बोर्डले अघि सारेको २१ बुँदे पुँजीबजार सुधार कार्ययोजना सकारात्मक भए पनि सुधारका कदम ढिला आएकाले त्यसको प्रभाव बजारमा देखिन केही समय लाग्ने रेग्मीको भनाइ छ । उनले बजार सुधारलाई तत्कालीन समस्या समाधानमा मात्र सीमित नगरी दीर्घकालीन संरचनागत सुधारसँग जोड्नुपर्ने बताए ।
रेग्मीले संस्थागत लगानीकर्ताको सहभागिता बढाउने हो भने कर प्रणालीमा समेत पुनरावलोकन आवश्यक रहेको बताए । उनका अनुसार व्यक्तिगत लगानीकर्ताले पुँजीगत लाभकर ३.७५ प्रतिशत तिर्नुपर्ने अवस्थामा संस्थागत लगानीकर्ताका लागि करको भार २५ प्रतिशतसम्म पुग्ने भएकाले संस्थागत लगानी बढाउन यसमा पुनर्विचार गर्नुपर्ने आवश्यकता छ ।
उनले आईपीओमा बुक बिल्डिङ विधि विस्तार गर्नुभन्दा पहिले योग्य संस्थागत लगानीकर्ताको दायरा फराकिलो बनाउनुपर्ने बताए । आईपीओ जारी गर्ने कम्पनीले लगानी जुटाउने उद्देश्य, रणनीतिक साझेदार र मुख्य लगानीकर्ताको भूमिका स्पष्ट गर्नुपर्ने उनको भनाइ छ । बुक बिल्डिङमा जाने कम्पनीको परियोजना प्रक्षेपण र व्यावसायीक सम्भाव्यता पनि योग्य संस्थागत लगानीकर्ता वा बुक बिल्डरले प्रभावकारी रूपमा मूल्यांकन गर्नुपर्ने उनले बताए ।
महासंघले प्राथमिक बजार सुधारका लागि सबै आईपीओमा बुक बिल्डिङ विधि अनिवार्य गर्नुपर्ने र कम्तीमा ३० प्रतिशत हिस्सा बुक बिल्डिङमार्फत निष्कासन गर्नुपर्ने प्रस्ताव गरेको छ । बुक बिल्डिङबाट निष्कासन हुने सेयरमध्ये संस्थागत लगानीकर्ता र सर्वसाधारणलाई ५०–५० प्रतिशत बाँडफाँड गर्ने व्यवस्था गर्नुपर्ने महासंघको सुझाव छ ।
महासंघले आईपीओ निष्कासन प्रक्रियामा कम्पनीको वित्तीय अवस्था, क्रेडिट रेटिङ तथा परियोजनाको सम्भाव्यतालाई वैज्ञानिक ढंगले मूल्यांकन गर्नुपर्ने बताएको छ । साथै, आईपीओ जारी गर्ने कम्पनीले रणनीतिक साझेदार तथा मुख्य प्रबन्धकको लगानी प्रतिशत पहिल्यै स्पष्ट गर्नुपर्ने र आधार मूल्यभन्दा कम आशय मूल्य पेश गर्न नपाइने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ ।
दोस्रो बजारतर्फ पनि प्रवद्र्धक तथा रणनीतिक लगानीकर्ताको सेयर बिक्रीलाई थप पारदर्शी बनाउनुपर्नेमा महासंघको जोड छ । रेग्मीले रणनीतिक साझेदार वा प्रवर्द्धकले सेयर बिक्री गर्दा कम्तीमा १५ दिनअघि नेप्सेमार्फत सार्वजनिक सूचना दिनुपर्ने र हाल कायम १ प्रतिशतको बिक्री सीमालाई बढाएर ५ देखि ७ प्रतिशत पुर्याउनुपर्ने बताए ।
तर, शुद्ध वित्तीय लगानीकर्ताको हकमा भने सेयर बिक्रीपछि उनीहरूको स्वामित्वमा आएको परिवर्तनका आधारमा मात्र सूचना सार्वजनिक गर्ने व्यवस्था उपयुक्त हुने उनको धारणा छ । लकिङ पिरियडलाई पनि कम्पनीको व्यावसायिक चक्र र अवस्थाअनुसार चरणबद्ध रूपमा खोल्नुपर्ने महासंघको सुझाव छ ।
महासंघले संस्थागत सुशासनलाई बलियो बनाउन लगातार पाँच वर्षसम्म मुनाफा आर्जन गर्न नसक्ने कम्पनीको सञ्चालक समिति पुनर्गठन गर्नुपर्ने र त्यस्ता कम्पनीको विवरण सार्वजनिक वेबसाइटमा अनिवार्य राख्नुपर्ने प्रस्ताव गरेको छ । सूचीकृत कम्पनीले लगानीकर्तालाई समयमै पर्याप्त सूचना उपलब्ध गराउने व्यवस्था थप प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिइएको छ ।
पुँजीबजारमा संस्थागत लगानीकर्ताको भूमिका विस्तार गर्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको लगानी सीमा ५० प्रतिशतसम्म पुर्याउनुपर्ने महासंघको सुझाव छ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता ठूला संस्थागत लगानीकर्तालाई बजारमा थप सक्रिय बनाउनुपर्ने पनि प्रस्ताव गरिएको छ ।
यता नेपाल स्टक ब्रोकर एसोसिएसनका उपाध्यक्ष नितेश कुमार अग्रवालले पनि बजारको विकासका लागि नेप्सेको संरचनागत सुधार आवश्यक रहेको बताए । उनले नेप्सेलाई निजीकरण गरेपछि नयाँ वित्तीय उपकरण भित्र्याउन र बजारलाई आधुनिक बनाउन सहज हुने धारणा राखे ।
अग्रवालका अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनको तुलनामा सेयर बजारको बजार पूँजीकरण अझै सानो छ । बजारको ठूलो हिस्सा अहिले प्राथमिक निष्कासन तथा प्रि–आईपीओतर्फ केन्द्रित हुँदा दोस्रो बजारको विकास अपेक्षित रूपमा हुन नसकेको उनको भनाइ छ ।
उनले लगानीकर्ताको मनोबल कमजोर रहेको अवस्थामा सरकारी नीतिमा स्पष्टता आवश्यक रहेको बताए । बजारमा सकारात्मक वातावरण बनाउन नियामक, सरकार, नेप्से, ब्रोकर तथा अन्य सरोकारवालाबीच निरन्तर समन्वय आवश्यक रहेको उनको धारणा छ ।
विदेशमा रहेका नेपालीलाई पनि पुँजीबजारमा आकर्षित गर्नुपर्ने अग्रवालले बताए । गैरआवासीय नेपालीका लागि राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्थाका कारण सेयर कारोबारमा सहजता नभएको भन्दै उनले प्रक्रिया सरल बनाउनुपर्ने आवश्यकता औंल्याए ।
समग्रमा निजी क्षेत्रका प्रतिनिधिहरूले पुँजीबजार सुधारलाई कर, आईपीओ र नियमनमा मात्र सीमित नगरी नेप्सेको संरचना, संस्थागत लगानी, वित्तीय उपकरण, सूचना प्रवाह र दोस्रो बजारको विस्तारसँग जोड्नुपर्ने धारणा अघि सारेका छन् । उनीहरूले सरकारबाट अघि सारिएका सुधारका योजनाको प्रभावकारी कार्यान्वयनसँगै दीर्घकालीन संरचनागत सुधारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।