१० पूर्णाङ्कमा ६.५९ अंक प्राप्त गर्दै नेपाल यस वर्ष ९०औँ स्थानमा रहेको हो। अघिल्लो वर्षको प्रतिवेदनमा नेपाल ६.५८ अंकसहित ८९औँ स्थानमा रहेको थियो। वरीयतामा एक स्थानको सामान्य गिरावट देखिए पनि नेपालको समग्र प्राप्ताङ्क कोभिड–१९ महामारीपूर्वको अवस्थामा फर्किएको प्रतिवेदनले देखाएको छ। सन् २०१९ मा ६.५२ अंकसहित ९८औँ स्थानमा रहेको नेपालको स्थिति सन् २०२० मा खस्किएर ६.३१ अंक (१००औँ स्थान) पुगेको थियो।
पाँच मुख्य क्षेत्रमा नेपालको अवस्था
आर्थिक स्वतन्त्रता मापन गरिने मुख्य पाँच खम्बा (Pillars) मा नेपालको प्राप्ताङ्क र विश्व वरीयता यसप्रकार रहेको छ:
१. सरकारको आकार (Size of Government) : ७.२५ अंक (विश्व वरीयता: ५१औँ)
२. कानुनी प्रणाली र सम्पत्तिको अधिकार (Legal System & Property Rights) : ४.८२ अंक (विश्व वरीयता: ९६औँ)
३. सबल मुद्रामा पहुँच (Sound Money) : ७.५७ अंक (विश्व वरीयता: १०१औँ)
४. अन्तर्राष्ट्रिय व्यापारको स्वतन्त्रता (Freedom to Trade Internationally) : ६.३९ अंक (विश्व वरीयता: ११७औँ)
५. कर्जा, श्रम तथा व्यवसायको नियमन (Regulation) : ६.९० अंक (विश्व वरीयता: ५०औँ)
तथ्याङ्कअनुसार नेपालको कानुनी निष्पक्षता, सम्पत्तिको अधिकार संरक्षण तथा अन्तर्राष्ट्रिय व्यापारमा रहेको अवरोधका कारण समग्र वरीयता पछाडि परेको देखिन्छ।
दक्षिण एसियामा नेपालको स्थिति
दक्षिण एसियाली मुलुकहरूमध्ये भुटान ६.७१ अंकसहित ८२औँ र भारत ६.६२ अंकसहित ८८औँ स्थानमा रहँदै नेपालभन्दा अगाडि छन्। नेपाल (९०औँ) पछि श्रीलंका ५.९८ अंकसहित ११९औँ, बंगलादेश ५.८१ अंकसहित १२९औँ र पाकिस्तान ५.७० अंकसहित १३३औँ स्थानमा रहेका छन्।
विश्वका शीर्ष र पुछारका देशहरू
प्रतिवेदनअनुसार विश्वमै सबैभन्दा उच्च आर्थिक स्वतन्त्रता भएको मुलुकका रूपमा हङकङ (८.५३ अंक) पहिलो स्थानमा कायमै छ। त्यसपछि क्रमशः स्वीट्जरल्यान्ड (दोस्रो), सिंगापुर (तेस्रो), न्युजिल्यान्ड (चौथो) र संयुक्त राज्य अमेरिका (पाँचौँ) शीर्ष पाँचमा परेका छन्। आयरल्यान्ड, डेनमार्क, अस्ट्रेलिया, मौरिसस क्रमशः छैटौँदेखि नवौँ स्थानमा रहँदा फिनल्यान्ड, नेदरल्यान्ड्स र बेलायत १०औँ स्थानमा संयुक्त रूपमा रहेका छन्।
सूचीको सबैभन्दा पुछार (१६५औँ स्थान) मा भेनेजुएला (२.९४ अंक) रहेको छ। त्यस्तै जिम्बावे (१६४औँ), सुडान (१६३औँ), लिबिया (१६२औँ), म्यानमार (१६१औँ) र इरान (१६०औँ) सबैभन्दा कम आर्थिक स्वतन्त्रता भएका देशहरूमा परेका छन्।
आर्थिक स्वतन्त्रता र मानव कल्याण
प्रतिवेदनले आर्थिक स्वतन्त्रता र नागरिकको जीवनस्तरबीच प्रत्यक्ष सम्बन्ध रहेको पुष्टि गरेको छ:
-
प्रतिव्यक्ति आय : आर्थिक स्वतन्त्रताको माथिल्लो २५ प्रतिशत (Freest Quartile) मा रहेका देशहरूको प्रतिव्यक्ति औसत आम्दानी ६५,५९६ अमेरिकी डलर रहेको छ, जुन तल्लो २५ प्रतिशतमा रहेका देशहरूको औसत आम्दानी (९,५५२ डलर) भन्दा ६.९ गुणा बढी हो।
-
विपन्नको स्तर : खुला अर्थतन्त्र भएका मुलुकका सबैभन्दा गरिब १० प्रतिशत नागरिकको न्यूनतम आम्दानी थ्रेसहोल्ड कम स्वतन्त्र भएका मुलुकको तुलनामा ७.१ गुणा बढी ($९,१६५ विरूद्ध $१,२८९) छ।
-
औसत आयु र स्वास्थ्य : उच्च आर्थिक स्वतन्त्रता भएका मुलुकका नागरिकको औसत आयु ८०.७ वर्ष रहेको छ भने कमजोर आर्थिक स्वतन्त्रता भएका मुलुकमा यो ६७.१ वर्ष मात्र छ। साथै, स्वतन्त्र अर्थतन्त्रमा शिशु मृत्युदर निकै न्यून र वातावरण तुलनात्मक रूपमा सफा रहेको प्रतिवेदनमा उल्लेख छ।
विश्वका करिब ९० देशका थिंक ट्याङ्कहरूको सञ्जाल ‘इकोनोमिक फ्रिडम नेटवर्क’ सँगको सहकार्यमा फ्रेजर इन्स्टिच्युटले सन् १९९६ देखि यो वार्षिक प्रतिवेदन निरन्तर प्रकाशन गर्दै आएको छ।