चाडबाडमा जुनसुकै ब्रान्डको सिलिन्डर साट्न पाउने कुरा आजै टुङ्गो लाग्ने, कुन–कुन ग्यास साटिन्छन् ?

Oct 08, 2026 04:02 PM Merolagani



सुवास निरौला
दशैँ–तिहारजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा काठमाडौँ उपत्यकामा एलपी ग्यासको सहज आपूर्ति र उपभोक्ताको सहजताका लागि जुनसुकै ब्रान्डको खाली सिलिन्डर साटेर अर्को ब्रान्डको भरी सिलिन्डर लिन पाइने व्यवस्था गर्ने विषयमा छलफल सुरु भएको छ। 

चाडबाडका बेला आफूसँग भएको कम्पनीको ग्यास नपाएर सास्ती खेपिरहेका उपभोक्तालाई लक्षित गर्दै नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघबीच यस्तो गृहकार्य अगाडि बढेको हो।यद्यपि यो व्यवस्था औपचारिक रूपमा लागू भइसकेको छैन। डिलरहरू र उद्योगीहरूबीचको छलफलपछि यसको अन्तिम मोडालिटी तय गरिने तयारी छ।

नेपाल आयल निगमका प्रबन्ध निर्देशक (एमडी) नागेन्द्र शाहले चाडपर्वको समयमा उपभोक्तालाई एउटा वा दुईवटा खाली सिलिन्डर हुँदा पनि ग्यास नपाएर सास्ती नहोस् भनेर उद्योगीहरूलाई सकारात्मक रूपमा समाधान खोज्न आग्रह गरिएको बताएका छन्। "हामीले ग्यास व्यवसायी साथीहरूलाई उपभोक्ताको समस्यालाई मध्यनजर गरेर केही होमवर्क गर्नुस् भनेका हौँ। मान्छेसँग एउटा–दुईटा खाली सिलिन्डर हुन्छ, त्यसलाई कहाँबाट हुन्छ व्यवस्थापन गरिदिनुस् भनिएको हो। उद्योगीहरूले पनि होमवर्क गरेर प्रस्ताव ल्याउँछौँ भनेका छन्। कहाँ दिने, कति परिमाणमा दिने भन्ने तथ्य बाहिर आएपछि मात्रै निगमले यसबारे औपचारिक निर्णय दिन्छ," प्रबन्ध निर्देशक शाहले भने। उनका अनुसार उद्योगीहरूको ठोस प्रस्ताव आएपछि मात्रै यसलाई कार्यान्वयनमा ल्याइनेछ।

उपत्यकामा छुट्टै आउटलेट खोल्ने तयारी : 

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा साझा आउटलेट खोलेर जुनसुकै कम्पनीको सिलिन्डर साट्ने व्यवस्था मिलाउन डिलरहरूसँग छलफल भइरहेको जानकारी दिएका छन्। डिलरहरूको नियमित पसलमा भन्दा पनि छुट्टै बिक्री केन्द्र (आउटलेट) मार्फत यो सेवा दिने योजना बनाइएको छ। अध्यक्ष चन्दले भने, "यदि कुराकानी मिल्यो भने हामी काठमाडौँका चार–पाँच वा आठ–दस ठाउँमा उद्योगीहरू मिलेर छुट्टै आउटलेट खोल्दिन्छौँ। डिलरहरूकामा होइन, बाहिरबाटै यस्तो सेवा दिने सोच छ। उपभोक्ताले आफ्नो भएको जुनसुकै सिलिन्डर त्यहाँ छोडेर उपलब्ध ग्यास लैजान पाउँछन्। पछि त्यो संकलित सिलिन्डर उद्योगीहरूले आ–आफ्नो उद्योगमा साटासाट गर्नेछन्," उनले सिलिन्डर साट्दा उपभोक्तामाथि थप आर्थिक भार नपरोस् भन्ने मुख्य उद्देश्य रहेको प्रस्ट पारे। "सामान्यतया अर्को ब्रान्डको सिलिन्डर साट्दा डिलरले अतिरिक्त पैसा लिने गर्छन्। त्यो नहोस्, उपभोक्ताले अतिरिक्त शुल्क तिर्न नपरोस् र सहजै ग्यास पाउन् भन्ने हाम्रो चाहना हो," चन्दले थपे।

अहिलेसम्म कुन–कुन ब्रान्डका सिलिन्डर साट्न पाउने विषयमा छलफल ?

अध्यक्ष चन्दका अनुसार प्रारम्भिक चरणमा काठमाडौँ उपत्यकामा बढी बजार हिस्सा भएका प्रमुख ग्यास उद्योगहरूलाई यस अभियानमा समेट्ने गरी छलफल भएको छ। अहिलेसम्मको छलफलमा समेटिएका मुख्य ग्यास ब्रान्डहरू यस प्रकार छन्:

  • नेपाल ग्यास

  • एचपी ग्यास

  • बाबा ग्यास

  • श्री ग्यास

  • सगर ग्यास

  • एभरेस्ट ग्यास

  • सुगम ग्यास

  • साईबाबा ग्यास

  • सिद्धार्थ ग्यास (अघिल्लो बैठकमा सहभागी नभए पनि साझा निर्णयपछि समेटिन सक्ने)

यी कम्पनीका सिलिन्डर उपभोक्ताले तोकिएको आउटलेटमा बुझाएर त्यहाँ मौजुद रहेको जुनसुकै ब्रान्डको भरी सिलिन्डर लिन सक्ने गरी संयन्त्र बनाउन लागिएको हो।

काठमाडौँ उपत्यका लक्षित योजना

देशका अन्य भागको तुलनामा काठमाडौँ उपत्यकामा मात्र ग्यासको केही असहजता देखिएकाले यो योजना उपत्यका केन्द्रित गरिएको संघले जनाएको छ। पछिल्लो समय परेको अविरल वर्षा र बाढीपहिरोले सडक अवरुद्ध हुँदा तथा सार्वजनिक बिदाका कारण उपत्यकामा आपूर्ति व्यवस्था केही प्रभावित भएको थियो।

अध्यक्ष चन्दका अनुसार तराई तथा प्रदेश नम्बर ५, ६ र ७ का पहाडी जिल्लाहरू (सुर्खेत, धनगढी, महेन्द्रनगर आदि) मा ग्यासको आपूर्ति पूर्ण रूपमा सहज भइसकेको छ। उपत्यकामा मात्र समस्या देखिएकाले दशैँभरका लागि भए पनि यो व्यवस्था तुरुन्त (सकेसम्म भोलिदेखि नै) लागू गर्ने प्रयास भइरहेको छ। डिलर र उद्योगीबीच आज बिहीबार अपराह्न ४ बजे बस्ने बैठकले सहमति जुटाएमा कुन–कुन स्थानमा आउटलेट राख्ने र कहिलेदेखि वितरण सुरु गर्ने भन्ने विषयको अन्तिम टुंगो लाग्नेछ।