कुथेली बुखारी स्मल हाइड्रोपावरमा उछाल, १८ प्रतिशत बोनसपछि लगानीकर्तालाई कति नाफा?

Oct 09, 2026 05:54 AM Merolagani



बिहीबारको बजारमा कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा १५ प्रतिशतले बढेर कारोबार भयो। यस दिन सो कम्पनीको अन्तिम मूल्य ९२४ रुपैयाँ पुगेको छ।

नेप्सेमा कारोबार हुने कम्पनीमा १५ प्रतिशत अर्थात सर्किट लेभलमा कारोबार हुनेमा कुथेली बुखारी एक्लो कम्पनी होइन। दैनिक कुनै न कुनै कम्पनीको शेयर सर्किट लेभलमा कारोबार हुन्छ। निरन्तर घटेको बजार र विगत लामो समयदेखि साईडवयजमा रहेको कम्पनीमा एकाएक खरिद चाप बढेपछि लगानीकर्ताहरुको ध्यान खिचेको हो। बिहीबार बिहान कम्पनीले १८ प्रतिशत बोनस शेयरसहित लाभांश घोषणा गरेको छ। असोज २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बिहीबार कम्पनीका ५७ हजार ४९८ कित्ता शेयर पाँच करोड नौ लाख ४२ हजार ७५९ रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ। अघिल्लो कारोबार दिन यस कम्पनीको शेयर मूल्य ८०४ रुपैयाँको हाराहारीमा कारोबार भएको थियो। बिहीबार ९२४ रुपैयाँ पुगेपछि प्रतिकित्ता १२० रुपैयाँ ६० पैसाले मूल्य बढेको हो। यसरी अघिल्लो दिन ८०४ रुपैयाँमा १०० कित्ता शेयर किनेर बिहीबार ९२४ रुपैयाँमा बिक्री गर्ने लगानीकर्ताले १२ हजार रुपैयाँ नाफा कमाउँछन्। ५ प्रतिशत पूँजीगत लाभकर लाग्ने हिसाब गर्दा ६०० रुपैयाँ कर तिरेपछि ११ हजार ४०० रुपैयाँ नाफा बाँकी रहन्छ। यसमा ब्रोकर कमिसन तथा अन्य कारोबार खर्च भने समावेश गरिएको छैन। दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताले लाभांश र दोस्रो पूँजीगत लाभ कर मार्फत नाफा आर्जन गर्न सक्छन। सोही अनुसार बुधबारको बजारमा शेयर खरिद गर्ने लगानीकर्ताले पूँजीगत लाभ कर पनि राम्रै आर्जन गरेका छन। नेपालको राफसाफ प्रणाली 'टी प्लस टु' को रहेको छ। सो अनुसार बुधबार खरिद भएको शेयर शुक्रबार राफसाफ हुनेछ।

तर बिहीबार ९२४ रुपैयाँमा शेयर खरिद गर्ने लगानीकर्ताले भने १५ प्रतिशतको मूल्यवृद्धिबाट नाफा कमाइसकेको हुँदैन। उसको खरिद मूल्य नै ९२४ रुपैयाँ हुन्छ। त्यसैले भविष्यमा ९२४ रुपैयाँभन्दा माथि शेयर बिक्री गरेपछि मात्र पूँजीगत लाभ हुन्छ। उदाहरणका लागि ९२४ रुपैयाँमा १०० कित्ता शेयर किनेर एक हजार रुपैयाँमा बिक्री गरेमा ७ हजार ६०० रुपैयाँ बराबरको नाफा हुन्छ।

कम्पनीले १८ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ। कम्पनीको अंकित मूल्य १०० रुपैयाँ भएकाले १८ प्रतिशत बोनसको अर्थ १०० कित्ता शेयर हुने लगानीकर्ताले १८ कित्ता थप शेयर पाउने भन्ने हो।यही १८ प्रतिशतलाई आजको बजार मूल्य ९२४ रुपैयाँसँग तुलना गर्दा डिभिडेन्ड यील्ड करिब १.९५ प्रतिशत हुन्छ। यसको गणना १८ रुपैयाँलाई ९२४ रुपैयाँले भाग गरी १०० ले गुणा गरेर गरिन्छ।

सामान्य अर्थमा डिभिडेन्ड यील्ड भनेको शेयरको हालको बजार मूल्यको तुलनामा कम्पनीले एक वर्षमा दिने लाभांशबाट लगानीकर्ताले कति प्रतिशत प्रतिफल पाउँछ भन्ने अनुपात हो। यसको सूत्र हो। डिभिडेन्ड यील्ड = प्रति शेयर वार्षिक लाभांश-हालको बजार मूल्य × १०० हुन्छ ।

त्यसैले एउटै लाभांश दिने कम्पनीको शेयर मूल्य बढेमा डिभिडेन्ड यील्ड घट्छ भने शेयर मूल्य घटेमा डिविडेड यील्ड बढ्छ। यस कम्पनीको हकमा पनि १८ प्रतिशत बोनसलाई अंकित मूल्यका आधारमा १८ रुपैयाँ मानेर ९२४ रुपैयाँको बजार मूल्यसँग तुलना गर्दा करिब १.९५ प्रतिशत देखिन्छ। तर यसको अर्थ लगानीकर्ताले नगद रकम पाउने होइन। कम्पनीले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो ।त्याे तत्काल पाउने पनि होइन्। कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेर पनि कम्पनीको पूँजीको संरचना परिवर्तन भएपछि मात्रै लगानीकर्ताको हातमा सो लाभांश वास्तविक रुपमा पाउने हाे। कम्पनीका शेयरधनीले आफ्नो माउ शेयर कम्पनीको बुकक्लोज पछि बिक्री गरे पनि सो दरको लाभांश सुनिश्चित भएको हुन्छ ।

डिभिडेन्ड यील्ड किन महत्त्वपूर्ण?

डिभिडेन्ड यील्डले लगानीकर्तालाई शेयरमा लगानी गरेबापत लाभांशबाट प्राप्त हुने सम्भावित वार्षिक प्रतिफल बुझ्न मद्दत गर्छ। नियमित आम्दानी खोज्ने लगानीकर्ताका लागि यो उपयोगी सूचक हो। यसकै आधारमा विभिन्न कम्पनीको लाभांश प्रतिफल तुलना गर्न सकिन्छ।

तर उच्च डिभिडेन्ड यील्ड देखिँदैमा कम्पनी राम्रो नै हुन्छ भन्ने हुँदैन। कहिलेकाहीँ कम्पनीको शेयर मूल्य धेरै घटेका कारण पनि यील्ड उच्च देखिन सक्छ। यसलाई डिभिडेन्ड ट्रयाप भनिन्छ। त्यसैले लाभांशसँगै कम्पनीको नाफा, लाभांश वितरणको क्षमता, वित्तीय अवस्था र भविष्यको व्यवसायलाई हेरेर लगानी गर्नुपर्ने सुझाव जानकारहरुको  छ ।

त्यस्तै, नयाँ तथा तीव्र गतिमा विस्तार भइरहेका कम्पनीले आफ्नो नाफा लाभांशका रूपमा वितरण नगरी व्यवसाय विस्तारमा लगानी गर्न सक्छन्। त्यस्ता कम्पनीको यील्ड कम वा शून्य हुन सक्छ। तर शेयर मूल्य बढेर लगानीकर्तालाई पूँजीगत लाभबाट राम्रो प्रतिफल दिन सक्ने सम्भावना पनि हुन्छ।