हेलो सरकारमा उजुरीको चाङ : तलब, दसैँ भत्ता र ग्यास अभावदेखि अनलाइन ठगीसम्मका १,७५५ गुनासो

Oct 10, 2026 Merolagani



बडादसैँ नजिकिएसँगै नागरिकका दैनिक समस्या, चाडपर्वलक्षित सास्ती र प्रशासनिक ढिलासुस्तीविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित 'हेलो सरकार' मा जनगुनासोको चाङ लागेको छ। 

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो पाँच दिन (असोज १८ देखि २२ गते) को अवधिमा मात्रै नागरिकहरूबाट १ हजार ७५५ वटा गुनासा दर्ता भएका छन्।

दसैँको मुखमा दर्ता भएका उजुरीहरूमा अधिकांश चाडपर्व, उपभोक्ता हित र श्रमिकका समस्यासँग सम्बन्धित छन्। विशेषगरी विभिन्न प्रतिष्ठान तथा कम्पनीमा कार्यरत श्रमिकहरूले नियमित मासिक तलब र दसैँ भत्ता भुक्तानी नपाएको गुनासो तीव्र रूपमा उठाएका छन्। त्यसैगरी, बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखाइएको, सामान खरिद गर्दा बिल बिजक जारी नगरिएको तथा दसैँमा घर फर्कने सर्वसाधारणसँग हवाई र स्थलगत सवारीसाधनले चर्को भाडा असुलेको भन्दै यात्रुहरूले हेलो सरकारमा उजुरी टिपाएका छन्।

 

प्रशासनिक क्षेत्रतर्फ कतिपय स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारीहरूको तलबभत्ता रोकिएको र सेवा प्रवाह ठप्प भएको विषय पनि हेलो सरकारमा पुगेको छ। यसका साथै भन्सार तस्करी तथा राजस्व छली, सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार छानबिनका उजुरी, सामाजिक सञ्जालमार्फत हुने अनलाइन ठगी तथा किसानले समयमा रासायनिक मल नपाएको विषयमा समेत नागरिकले ध्यानाकर्षण गराएका छन्। यति मात्र नभई, वैदेशिक रोजगारीका सिलसिलामा साइप्रसमा रहेका नेपालीले कन्सुलर सेवा लिन भोगेको कठिनाइदेखि विद्यालयमा विद्यार्थीको कपाल काट्ने अनुशासनसँग सम्बन्धित विषयसमेत गुनासोका रूपमा दर्ता भएका छन्।

प्रधानमन्त्री कार्यालयको तथ्याङ्कअनुसार प्राप्त १ हजार ७५५ गुनासामध्ये १ हजार १७४ वटाको समाधान गरिएको छ भने ११९ वटा पूर्ण रूपमा फर्छ्यौट भएका छन्। बाँकी ६५४ वटा गुनासा हाल समाधानको प्रक्रियामा रहेका छन्। यस अवधिमा टेलिफोन (ल्यान्डलाइन) मार्फत ३ हजार २ वटा कल आएकोमा १ हजार ७७२ वटा व्यवस्थापन गरिएको थियो। त्यस्तै, मोबाइल फोनमार्फत प्राप्त ७८८ गुनासो तथा सोधपुछमध्ये ६३२ वटाको व्यवस्थापन गरिएको छ।

नागरिकबाट आएका गुनासाहरूको छिटोछरितो सम्बोधन र सहजीकरणका लागि हाल बागमती प्रदेशस्थित विभिन्न जिल्लाका कार्यालयहरूमा हेलो सरकारको टोलीले स्थलगत अनुगमनसमेत गरिरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।