२०२६ मा दशैअघिको अन्तिम कारोबार दिन नेप्से परिसूचक ८.२३ अंकले बढेर बन्द भएको छ। यसअघि २०२५ र २०२४ मा पनि बजार बढेको थियो। दशैंअघि बजार बढेको यो लगातार तेस्रो वर्ष हो। २०२५ मा नेप्से ११.५१ अंकले बढेको थियो। २०२४ मा ४.८५ अंक र २०२२ मा १६.२९ अंकले वृद्धि भएको थियो। तर २०२१ र २०२३ मा भने नेप्से सूचक घटेको देखिन्छ। २०२३ मा परिसूचक ४.०५ अंक र २०२१ मा २३.१९ अंकले घटेको थियो।

पछिल्ला पाँच वर्षको तथ्यांक हेर्दा दशैंअघिको अन्तिम कारोबार दिन तीन वर्ष बजार बढेको छ। दुई वर्ष घटेको छ। यसले दशैंअघि बजार सधै बढ्ने वा घट्ने निश्चित भने हुदैन। यस वर्षको पनि पछिल्ला केहि कारोबार दिनदेखि बजार निरन्तर रुपमा सामान्य अंकको सुधार हुँदै बढेको थियो। यस वर्षको दशैं अघिको अन्तिम कारोबार दिन शुक्रबार ८.२३ अंकको वृद्धि भएर बन्द भएको हो।
अहिले पछिल्ला दिनमा बजार सुधार हुनुमा नेपाल धितोपत्र बोर्डले बजार सुधारका लागि गरेको गतिविधि भएको लगानीकर्ताहरुले बताउने गरेका छन्। बिदाअघिको अन्तिम दिन शेयर खरिद गर्नेले भुक्तानी कारोबार तथा राफसाफको निर्धारित समय अनुसार पछि गर्नुपर्ने हुन सक्छ। यसले केही लगानीकर्तालाई खरिदतर्फ आकर्षित गर्न गरेको हुन सक्ने लगानीकर्ता विनय भट्टराईले बताए। तर यसो भन्दैमा दशैं अघि बजार बढ्छ नै भन्न नसकिने उनको भनाई छ।
नेप्सेले लगानीकर्ताको मनोविज्ञान अनुसार प्रतिकृया जनाएकाे हुन्छ। बजार घट्नु बढ्नुमा तिथी मितिले प्रभाव पार्दैन । तर त्यसमा लगानीकर्ताको बजार प्रतिको सकृयताले फरक पार्ने गरेको भट्टराईले बताए। हाल दशैं सुरु हुने भएर बजार बढ्न सुरु नभई धितोपत्र बोर्डले बजार सुधारका लागि गरेका नीतिगत व्यवस्थाकै कारण बजारमा सकारात्मकता सुरु भएको भट्टराईको बुझाई छ।
नेपाल धितोपत्र बोर्डले शेयर बिक्री गर्नुअघि आधारभूत शेयरधनीले सूचना दिनुपर्ने व्यवस्थामा संशोधन गरेपछि बजारको मनोभावनामा केही सुधार हुन सुरु भएको हाे । बजारमा सुधारका लागि आवश्यक नीतिगत आधार तयार हुँदै गएको छ। साथै हिजो मात्रै बोर्डले संस्थागत लगानीकर्तालाई ल्याउने गरी निर्देशिका जारी गरेको छ। जसले बजारमा संस्थागत लगानीकर्ताको उपस्थिती बढ्ने सम्भावना बढाएको उनले बताए ।
त्यसैगरी, बजारमा सुधारका लागि नीतिगत वातावरणसँगै वित्तीय स्रोतको व्यवस्था बन्दै जानेमा लगानीकर्ताहरुले विश्वास गरेका छन्। अहिले बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहेको र ब्रोकर कम्पनीमार्फत मार्जिन कारोबार सुविधा उपलब्ध हुन थालेको छ। मार्जिन कारोबार सुविधाले योग्य लगानीकर्तालाई शेयर धितोमा राखेर थप लगानी गर्ने अवसर दिएको हुन्छ। अझै पनि धेरै लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन्। दशैंतिहार पछि बजारले राम्रो गति समाउनेमा भट्टराईले विश्वास गरेका छन्।
तर पछिल्ला कारोबार दिनमा लगानीकर्ताको ध्यान कम मूल्यमा उपलब्ध आधारभूत रूपमा बलिया कम्पनीतर्फ केन्द्रित हुन थालेको छ। बजारमा ठूलो अंकको वृद्धि नभए पनि मूल्य घटेका कम्पनीको शेयर खरिद गर्ने अवसर सिर्जना भएको छ। यसले नेप्से विस्तारै परिपक्क हुँदै गएकाे संकेत गरेको लगानीकर्ताहरुको बुझाई छ।
पछिल्ला दिनमा विशेषगरी बैंकिङ, जीवन बीमा र केही जलविद्युत् कम्पनीका शेयरमा विस्तारै सुधार देखिन थालेको छ। यी क्षेत्रमा लगानीकर्ताको आकर्षण बढ्दै जानुले बजारमा क्षेत्रगत रूपमा खरिद चाप सिर्जना हुन थालेको भट्टराईको भनाइ छ। लाभांश दिने सम्भावना भएका कम्पनीतर्फ पनि लगानीकर्ताको आकर्षण बढेको छ। दशैंअघिका कारोबार दिनमा बजार सुस्त रहेपनि चाडपर्वपछि बजारले थप गति लिन सक्ने सम्भावना छ।