प्रतिकित्ता १ हजार ११९ भारु निष्कासन मूल्य (इश्यू प्राइस) रहेको जियोको सेयर बम्बई स्टक एक्सचेन्ज (बीएसई) र नेसनल स्टक एक्सचेन्ज (एनएसई) मा २१ प्रतिशतले बढेर १ हजार ३५८ भारुमा सूचीकृत भएको हो।सूचीकरणसँगै जियो प्लेटफर्म्स रिलायन्स इन्डस्ट्रिजपछि बजार पूँजीकरण (मार्केट क्याप) का आधारमा भारतकै दोस्रो ठूलो कम्पनी बन्न सफल भएको छ। पहिलो दिनको कारोबारसँगै जियोको बजार पूँजीकरण १२.५० लाख करोड भारु पुगेको छ। योसँगै जियोले १२.१० लाख करोड भारु बजार पूँजीकरण रहेको प्रतिस्पर्धी कम्पनी भारती एयरटेललाई पछि पारेको छ। हाल भारतको सबैभन्दा ठूलो कम्पनी रिलायन्स इन्डस्ट्रिजको बजार पूँजीकरण १५.९९ लाख करोड भारु रहेको छ।
१०० अर्ब डलरको विश्वस्तरीय क्लबमा जियो
आईपीओमार्फत नै १०० अर्ब अमेरिकी डलरभन्दा बढी बजार पूँजीकरण हासिल गर्ने जियो प्लेटफर्म्स विश्वकै चौथो संस्थापक-नेतृत्वयुक्त कम्पनी बनेको छ। योसँगै जियो मेटा (फेसबुक), अलिबाबा र एलन मस्कको स्पेसएक्सजस्ता विश्वका शीर्ष कम्पनीहरूको क्लबमा सामेल भएको छ।
कुन वर्गबाट कति पर्यो आवेदन ?
गत अक्टोबर २१ देखि २३ सम्म निष्कासन खुला गरिएको जियोको आईपीओ समग्रमा२२.१९ गुणाओभरसब्सक्राइब (मागभन्दा बढी आवेदन) भएको थियो। एनएसईका अनुसार विभिन्न वर्गमा परेको आवेदन विवरण यस प्रकार छ:
- योग्य संस्थागत लगानीकर्ता (QIBs) :७०.५५ गुणा
- गैर-संस्थागत लगानीकर्ता (NII) :१४.०० गुणा
- खुद्रा लगानीकर्ता (Retail) :२.७२ गुणा
- कुल आवेदन :२२.१९ गुणा
१० वर्षे यात्रा : निःशुल्क सिम वितरणदेखि विश्व कीर्तिमानी आईपीओसम्म
५ सेप्टेम्बर २०१६ मा रिलायन्सले 'जियो' ब्रान्डमार्फत बजार प्रवेश गर्दा निःशुल्क सिम कार्ड र ६ महिनासम्म निःशुल्क द्रुत गतिको इन्टरनेट बाँडेको थियो। त्यतिबेला सिम लिन जियो स्टोरहरूमा सर्वसाधारणको थेगिनसक्नु भीड लागेको थियो।
ठीक १० वर्षपछि, जब कम्पनीले भारतको इतिहासकै सबैभन्दा ठूलो आईपीओ जारी गर्यो, लगानीकर्ताहरू त्यसैगरी ओइरिए। विश्वभरमै १ करोडभन्दा बढी आवेदन प्राप्त गर्ने पहिलो आईपीओको कीर्तिमान बनाएको जियोले निष्कासन भएको १०० मिनेटभित्रै पूर्ण आवेदन (फुल्ली सब्स्क्राइब्ड) पाउँदै ३ दिनभित्र ७ वटा नयाँ वित्तीय रेकर्ड कायम गरेको छ।