नेप्से करेक्सन जारी, कारोबार रकममा पनि गिरावट

Nov 02, 2026 03:09 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार करेक्सन भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचक ३२.६५ अंक घटेर २६५७.५० विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.९३ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९८ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। गत शुक्रबार ८ अर्ब ८९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४३ स्टकको ७० हजार २२८ पटकको कारोबारमा ७ अर्ब १८ करोड ३७ लाख १३ हजार रुपैयाँबराबरको १ करोड ९८ लाख २२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बेनी हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक १३.५८ प्रतिशत बढेको छ। त्यस्तै, १३ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको शेयरमूल्य यस दिन साढे ८ प्रतिशतभन्दा बढी बढेको छ भने मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ। कारोबारमा आएको सानिमा लार्ज क्याप फण्डको इकाईमूल्य यस दिन करिब ५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३७ करोड ६३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन ग्लोबल आइएमई बैंकको करिब साढे २९ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने कुमारी बैंकको करिब २८ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.८८ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।