विपद् पुनर्निर्माणमा ४.७ अर्ब डलर आवश्यक : भारत, चीन र विश्व बैंकसँग वित्तीय प्याकेजको तयारी

Nov 06, 2026 01:33 PM Merolagani



अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी र त्रिशुली क्षेत्रमा गएको विपदपछि पुनर्निर्माणका लागि ४.७ देखि ५ अर्ब डलरसम्म आवश्यक पर्ने प्रारम्भिक अनुमान सार्वजनिक गरेका छन् । 

शुक्रवार सिंहदरबारमा आयोजित संसदीय विशेष समितिको बैठकमा उनले विपद्बाट भएको भौतिक र आर्थिक क्षति नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिव १० प्रतिशत रहेको जानकारी दिँदै सो रकम व्यवस्थापनका लागि सरकारले चरणवद्ध कार्ययोजना अघि बढाएको बताए । अर्थमन्त्री वाग्लेले भोटेकोशी र त्रिशूली क्षेत्रमा आएको बाढी–पहिरोले २.७ देखि २.८ अर्ब डलर बराबरको क्षति पु-याएको उल्लेख गर्दै ‘बिल्डिङ ब्याक बेटर’ (थप समृद्ध पूर्वाधार निर्माण) को अवधारणाअनुसार पुनर्निर्माणमा ठूलो लगानी आवश्यक रहेको बताए । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भएको १८ अर्ब रुपैयाँ संकलनलाई सरकारप्रति जनताको उच्च विश्वासको कडीका रूपमा अर्थमन्त्रीले अथ्र्याए। उनले उक्त रकम जथाभावी नबाँडी कार्यविधि र आवश्यकताका आधारमा खर्च गरिने स्पष्ट पारे ।

बजेट व्यवस्थापनका सम्बन्धमा उनले चालु आर्थिक वर्षको २१ खर्ब २४ अर्बको बजेट सीमा नाघ्ने गरी पूरक बजेट ल्याउनुभन्दा मौजुदा विनियोजनबाटै बजेटको पुनःप्राथमिकीकरण गरी काम गर्ने तयारी रहेको बताए । पूर्वाधार मन्त्रालयलाई जिम्मेवारी दिने र आवश्यकता परे आगामी वर्षको बजेटमा पुनर्निर्माणलाई प्राथमिकताका साथ समावेश गरिने उनको भनाइ छ । 

यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली विपद्पछिको पुनर्निर्माणका लागि आवश्यक पर्ने ४ देखि ५ अर्ब अमेरिकी डलर जुटाउन सरकारले भारत, चीन, विश्व बैंक र एशियाली विकास बैंकसँग कुटनीतिक तथा वित्तीय संवाद अघि बढाएको बताएका छन् ।

 

शुक्रवार संसदीय विशेष समितिको बैठकमा धारणा राख्दै उनले आगामी तीनदेखि पाँच वर्षभित्र पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउने प्रक्रिया शुरु भइसकेको बताएका हुन् । वाग्लेले नेपाललाई आवश्यक पर्ने पुनर्निर्माण स्रोतको करिव ८० प्रतिशत भारत, चीन, विश्व बैंक र एशियाली विकास बैंकबाट जुटाउन सकिने अपेक्षा गरिएको जानकारी दिए । बाँकी २० प्रतिशत अन्य विकास साझेदार तथा दातृ निकायबाट जुटाउने सरकारको योजना रहेको उनको भनाइ छ ।