तिहार बिदापछिको पहिलो कारोबार दिन नेप्से नकारात्मक, कारोबार रकममा पनि कमी

Nov 13, 2026 03:13 PM Merolagani



तिहार बिदापछिको पहिलो कारोबार दिन नेप्से परिसूचक नकारात्मक भएर बन्द भएको छ। तिहारको पूर्वसन्ध्यमा सकारात्मक भएको नेप्से, तिहारपछि भने घटेको हो।

शुक्रबार नेप्से परिसूचक ६.३२ अंक घटेर २६४८.८९ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.५८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२३ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। गत शुक्रबार ३ अर्ब ५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३५ स्टकको ३१ हजार ३२३ पटकको कारोबारमा ३ अर्ब ५ करोड ४२ लाख ७४ हजार रुपैयाँबराबरको ७८ लाख ४४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयरमूल्य सर्वाधिक ७.५६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ भने एशियन हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य यस दिन सर्वाधिक ९.५६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन घोराही सिमेन्ट इण्डष्ट्री शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४० करोड ७ लाख ४२ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सानिमा माइ हाइड्रोपावर र श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको साढे १६ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम ९ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक ८३.५८ अंकले घटेको छ।