यस दिन नेप्से परिसूचक १.४० अंक बढेर २६६५.५३ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स २.६९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९९ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। मंगलबार ५ अर्ब ६५ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५८ स्टकको ५९ हजार १८५ पटकको कारोबारमा ७ अर्ब ४३ करोड ९३ लाख ६६ हजार रुपैयाँबराबरको २ करोड १२ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेपाल पुनर्बीमा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन १२० रुपैयाँ २० पैसा बढेर ९२१ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। मन्त्रीपरिषदको बैठकले नेपाल पुनर्बीमा कम्पनीमा नेपाल सरकारको थप हकप्रद शेयर लगानी गर्न सहमति प्रदान गर्ने निर्णय गरेसँगै यस दिन कम्पनीको शेयरमूल्य उच्च बढेको हो। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको शेयरमूल्य साढे ११ प्रतिशत बढेको छ भने श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ। कारोबारमा आएको सिभिल बैंक डिबेञ्चर २०८८ को मूल्य यस दिन सर्वाधिक ६.३४ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८५ करोड ८४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन घोराही सिमेन्ट इण्डष्ट्रीको ५१ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम ३६ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक ६.१८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन व्यापार उपसमुहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी बढेको छ भने जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।