यस विषयमा जानकार एक स्रोतका अनुसार यो समस्या कुनै क्लाउड नेटवर्कको गडबडी वा साइबर आक्रमणका कारण भएको होइन। कम्पनीको आफ्नै आन्तरिक कम्प्युटर प्रणालीमा गरिएको पछिल्लो अपडेटका कारण अनजानमै यो प्राविधिक समस्या निम्तिएको हो।
अन्य बैंक र ‘जेल’ नेटवर्कमा पनि प्रभाव
सोमबार बैंक अफ अमेरिका, वेल्स फार्गो र युएस बैंक (US Bank) लगायतका अन्य प्रमुख बैंकहरूमा पनि केही हदसम्म समस्या देखिएको थियो। यद्यपि, ती समस्याहरू मुख्यतया डिजिटल भुक्तानी सञ्जाल ‘जेल’ (Zelle) मार्फत चेस बैंकका खाताहरूमा रकम पठाउने क्रममा देखिएको पाइएको छ।
यस विषयमा स्पष्ट पार्दै युएस बैंकले भनेको छ, "हाम्रो आन्तरिक प्रणाली प्रत्यक्ष रूपमा प्रभावित भएको छैन। तर, अर्को वित्तीय संस्थासँग 'जेल' मार्फत भुक्तानी पठाउन वा प्राप्त गर्न खोज्ने ग्राहकहरूको कारोबारमा केही ढिलाइ हुन सक्छ," बैंक अफ अमेरिकाले पनि आफ्नो सेवा सामान्य रूपमा चलिरहेको जनाएको छ।
यता भुक्तानी सेवा प्रदायक ‘जेल’ ले भने आफ्नो नेटवर्क सामान्य रूपमा सञ्चालनमा रहेको दाबी गरेको छ। अमेरिकी बैंकहरूको समूह ‘अर्ली वार्निङ सर्भिसेज’ को स्वामित्वमा रहेको जेलले आफूहरूले उपभोक्ताको कोष आफैँसँग नराख्ने स्पष्ट पारेको छ। "सम्बन्धित वित्तीय संस्थामा देखिएको समस्याका कारण तिनका ग्राहकहरूले जेल भुक्तानीलगायतका सेवाहरूमा ढिलाइ भोग्नुपरेको हुन सक्छ," जेलका प्रवक्ताले भने।
चेस बैंकले पनि यो कुनै प्रणालीगत (सिस्टमेटिक) संकट नभएको र आफूहरूसँगको अन्तरबैंक कारोबार जोडिएका कारण मात्र अन्य बैंकका ग्राहकको कारोबार केही सुस्त भएको जनाएको छ।
लगातार प्रणालीगत असफलता : किन दोहोरिँदै छन् प्राविधिक गडबडी?
सोमबार चेस बैंकमा आएको अवरोधसँगै पछिल्लो समय प्रविधि क्षेत्रमा ठूला प्राविधिक गडबडीहरूको शृङ्खला नै देखिएको छ।
यसअघि गत बिहीबार माइक्रोसफ्टको सेवा अवरुद्ध हुँदा ७४ देशका लाखौँ मानिसको इमेल सेवा ठप्प भएको थियो। त्यसलगत्तै शुक्रबार अमेरिकी संघीय उड्डयन प्रशासन (FAA) को प्रणालीमा गडबडी आउँदा देशभरका उडानहरू आकस्मिक रूपमा रोक्नुपरेको (ग्राउन्ड स्टप) थियो। सोमबार दिउँसो युनाइटेड एयरलाइन्सको कम्प्युटर प्रणालीमा समस्या आउँदा पनि दर्जनौँ उडानहरू प्रभावित बन्न पुगेका थिए।
यी सबै घटनाका कारणहरू फरक–फरक छन्। माइक्रोसफ्टले विन्डोजको त्रुटि र ट्राफिक ओभरलोडलाई कारण मानेको थियो भने एफएएले राउटर व्यवस्थापनमा आएको समस्यालाई दोष दिएको थियो।
तर, यी घटनाहरूले एउटा साझा यथार्थलाई सतहमा ल्याइदिएका छन्— हामी दैनिक रूपमा भर पर्ने आधुनिक प्रविधि प्रणालीहरूको जटिलता र नाजुकता।
नोट्रे डेम विश्वविद्यालयका प्राध्यापक माइक च्यापलका अनुसार, "यी प्रत्येक घटनामा ठूलो प्रणालीको एउटा सानो भागमा देखिएको खराबी तीव्र गतिमा फैलियो, जसले गर्दा ठूलो अवरोध सिर्जना भयो।"
विशेषज्ञहरूका अनुसार आजको डिजिटल युगमा विभिन्न संस्थाहरू सीमित प्रविधि प्रणालीमा अत्यधिक निर्भर छन्। जसरी टाइटानिक जहाजको सुरक्षा संरचना इन्जिनियरहरूको अनुमानभन्दा बाहिर गएर असफल भएको थियो, त्यसैगरी अत्याधुनिक डिजाइन गरिएका प्रविधि प्रणालीहरू पनि अप्रत्याशित समस्याको सिकार हुने गर्छन्।
आर्टिफिसियल इन्टेलिजेन्स सुरक्षा कम्पनी 'कन्सेन्ट्रिक एआई' का संस्थापक मधु शशांक भन्छन्, "अबको मुख्य प्रश्न कुनै प्रणाली असफल हुन्छ कि हुँदैन भन्ने होइन, बरु एउटा प्रणाली असफल हुँदा त्यसले अरू कतिवटा सेवालाई प्रभावित पार्छ र त्यसलाई कति छिटो नियन्त्रणमा लिन सकिन्छ भन्ने हो।"