माटाेमा फर्किन बहुराष्ट्रिय कम्पनीहरु बीच वृहत सहकार्य, नेस्ले, म्याकडोनाल्ड्ससहित १४ ठूला कम्पनीले एकसाथ माटोमा लगानी गर्ने

Nov 19, 2026 05:34 PM Merolagani



विश्वका चर्चित खाद्य तथा खुद्रा व्यापार कम्पनीहरूबीच एउटा नयाँ सहकार्य सुरु भएको छ।

चकलेट, कफी, दूध, मासु, आलुका परिकार र अन्य खाद्यवस्तु बेचेर विश्वव्यापी बजार बनाएका कम्पनीहरू अब ती वस्तु उत्पादन हुने खेतबारीको माटो जोगाउने अभियानमा एकजुट भएका छन्।

नेस्ले, म्याकडोनाल्ड्स, मार्स, ड्यानोन, एल्डी, लिडल, मार्क्स एन्ड स्पेन्सरलगायत १४ कम्पनीले नोभेम्बर १७, २०२६ मा ‘रेजेन कम्प्याक्ट’ नामक साझा प्रतिबद्धतामा हस्ताक्षर गरेका छन्। विश्लेषकहरुले यो घटना बहुराष्ट्रिय कम्पनीहरु बीचको अहिलेसम्मकै सबैभन्दा वृहत सहकार्य भएको दावी गरेका छन् । 

रेजेन कम्प्याक्टमा को–को छन् ?

बेलायतमा आधारित परोपकारी संस्था ‘सर्कुलर बायोइकोनोमी एलायन्स’ (CBA) ले यो अभियानको नेतृत्व गरेको हो। सन् २०२० मा तत्कालीन प्रिन्स अफ वेल्स रहेका बेलायती राजा चार्ल्स तृतीयको पहलमा स्थापना भएको यो संस्थाले प्रकृतिमा आधारित र चक्रीय अर्थतन्त्रको विकासलाई प्रोत्साहन गर्दै आएको छ।

यस अभियानमा सहभागी १४ कम्पनी खाद्य उत्पादन, प्रशोधन, खुद्रा व्यापार, मासु, दुग्ध उत्पादन र कृषि आपूर्तिका विभिन्न क्षेत्रमा सक्रिय छन्।

सहभागी कम्पनीहरूमा स्पेनको एग्रोलिमेन, जर्मनीको एल्डी सुद, ड्यानोन, बेलायतको गेल्स, लिडल जीबी, मार्क्स एन्ड स्पेन्सर, मार्स, म्याक्केन फुड्स, म्याकडोनाल्ड्स, नेस्ले, न्युजिल्यान्डको सिल्भर फर्न फार्म्स, वेट्रोज, वाइल्डफार्म्ड र यो भ्याली रहेका छन्।

यसको विशेषता के छ भने यी कम्पनीका उच्च तहका अधिकारीहरूले नै प्रतिबद्धतामा हस्ताक्षर गरेका छन्। अर्थात् यसलाई सामान्य सामाजिक उत्तरदायित्व कार्यक्रमका रूपमा मात्र नभई कम्पनीको व्यावसायिक रणनीतिसँग जोड्ने प्रयास गरिएको छ।

मौसमको अनिश्चितता बढ्दै जाँदा खाद्य कम्पनीहरूका लागि कच्चा पदार्थको नियमित आपूर्ति सुनिश्चित गर्नु चुनौतीपूर्ण बन्दै गएको छ। म्याकडोनाल्ड्सले बेच्ने फ्रेन्च फ्राइजका लागि आलु चाहिन्छ, बर्गरका लागि मासु र गहुँबाट बनेका सामग्री चाहिन्छन्। नेस्लेका लागि कफी, दूध, कोको, अन्न र चिनी आवश्यक पर्छ। ड्यानोनका लागि दूध तथा कृषि उत्पादनको निरन्तर आपूर्ति चाहिन्छ।

यी वस्तु उत्पादन गर्ने किसानको खेतमा माटोको उर्वराशक्ति घट्यो, पानीको अभाव भयो वा मौसमको जोखिम बढ्यो भने अन्ततः कम्पनीकै उत्पादन र व्यापार प्रभावित हुन्छ।

म्याकडोनाल्ड्सका विश्वव्यापी प्रभावसम्बन्धी प्रमुख अधिकारी जोन ब्यानरले कम्पनीले ग्राहकलाई उपलब्ध गराउने खाद्य सामग्रीको गुणस्तर र मूल्य खेत तथा पशुपालन फार्मबाटै सुरु हुने बताएका छन्। किसानले उत्पादन गर्न नसके कम्पनीले आफ्नो परिचित परिकारसमेत नियमित रूपमा उपलब्ध गराउन नसक्ने उनको भनाइ छ।

माटो बचाउने पाँच सिद्धान्त

रेजेन कम्प्याक्टले पुनरुत्पादक कृषिका लागि पाँचवटा आधारभूत सिद्धान्त अघि सारेको छ।

पहिलो, किसान केन्द्रित र प्रकृतिमा आधारित कृषि। किसानलाई केवल उत्पादन गर्ने श्रमिकका रूपमा होइन, माटो, पानी र जैविक विविधताको संरक्षण गर्ने प्रमुख साझेदारका रूपमा हेर्ने अवधारणा हो। खेतीको विधि परिवर्तन गर्दा किसानको अनुभव, आवश्यकता र आम्दानीलाई प्राथमिकता दिनुपर्ने यसको मान्यता छ।

दोस्रो, जलवायु र आर्थिक जोखिम सहन सक्ने कृषि। खडेरी, बाढी, रोग र तापक्रम परिवर्तनजस्ता चुनौती सामना गर्न सक्ने उत्पादन प्रणाली विकास गर्नु यसको उद्देश्य हो। एउटै बालीमा निर्भरता घटाउने, पानी सञ्चय गर्ने र माटोको जैविक पदार्थ बढाउने उपाय यसमा पर्छन्।

तेस्रो, समग्र प्रणालीमा आधारित कृषि। माटो, पानी, वनस्पति, पशुपालन र मानिसलाई अलग–अलग विषयका रूपमा नभई एकअर्कासँग जोडिएको प्रणालीका रूपमा हेर्ने सोच हो। खेतमा उत्पादन बढाउने नाममा पानी वा जैविक विविधता नष्ट गर्नु दीर्घकालीन समाधान होइन भन्ने यसको मान्यता छ।

चौथो, स्थानीय अवस्थाअनुसार खेती। सबै देश, क्षेत्र र किसानका लागि एउटै खेती विधि उपयुक्त हुँदैन। माटोको प्रकृति, वर्षा, तापक्रम, भूगोल, किसानको क्षमता र बजारको अवस्थाअनुसार अभ्यास परिवर्तन गर्नुपर्ने हुन्छ।

पाँचौँ, पारदर्शी र किफायती प्रणाली। किसानले अपनाएको विधिले वास्तवमै माटो, पानी र जैविक विविधतामा सुधार ल्यायो कि ल्याएन भन्ने मापन गर्नुपर्छ। सुधारको खर्च किसानले मात्र बेहोर्नुपर्ने अवस्था सिर्जना गर्नु हुँदैन।

यी पाँच सिद्धान्तले पुनरुत्पादक कृषिलाई वातावरण संरक्षणको नाराभन्दा पनि उत्पादन र बजारसँग जोडिएको व्यावसायिक प्रणालीका रूपमा अघि बढाउन खोजेका छन्। 

पुनरुत्पादक कृषि के हो?

पुनरुत्पादक कृषि (Regenerative Agriculture) भन्नाले माटोको स्वास्थ्य सुधार्ने, पानीको संरक्षण गर्ने, जैविक विविधता बढाउने र कृषि प्रणालीको दीर्घकालीन उत्पादन क्षमता कायम राख्ने खेती पद्धतिलाई बुझिन्छ।

परम्परागत खेतीमा मुख्य ध्यान तत्काल उत्पादन बढाउन केन्द्रित हुन सक्छ। पुनरुत्पादक कृषिमा भने अहिलेको उत्पादनसँगै आगामी वर्षमा पनि जमिन उर्वर रहिरहने अवस्था बनाउने प्रयास गरिन्छ।

यसका लागि खेतमा बाली चक्र परिवर्तन गर्ने, खेत खाली नराखी ढाक्ने बाली लगाउने, कम जोताइ गर्ने, कम्पोस्ट तथा जैविक मल प्रयोग गर्ने, कृषि वन प्रणाली अपनाउने र पशुपालनलाई खेतीसँग जोड्ने अभ्यास गरिन्छ।

उदाहरणका लागि, गहुँ काटेपछि खेत लामो समय खाली राख्नुको सट्टा माटो ढाक्ने दलहन वा अन्य आवरण बाली लगाउन सकिन्छ। यसले माटोमा जैविक पदार्थ थप्न, पानी सोस्ने क्षमता बढाउन र झारपात नियन्त्रण गर्न मद्दत गर्छ।

त्यस्तै, खेतमा रूख लगाएर बाली उत्पादन गर्ने कृषि वन प्रणालीले माटो संरक्षण, तापक्रम व्यवस्थापन, जैविक विविधता र किसानको अतिरिक्त आम्दानीमा योगदान पुर्‍याउन सक्छ। पशुपालनलाई व्यवस्थित रूपमा खेतीसँग जोड्दा गोबरबाट जैविक मल उत्पादन गर्न र पोषक तत्त्वको चक्र कायम राख्न सकिन्छ।

यसको अर्थ सबै रासायनिक मल वा आधुनिक प्रविधि हटाउनुपर्छ भन्ने होइन। स्थानीय माटो परीक्षण र उत्पादनको आवश्यकताअनुसार मलखादको सन्तुलित प्रयोग गर्दै माटोको दीर्घकालीन स्वास्थ्य सुधार्नु यसको उद्देश्य हो। 

कम्पनीहरूले किसानलाई कसरी सहयोग गर्नेछन् ?

रेजेन कम्प्याक्टको महत्त्वपूर्ण पक्ष किसानलाई एक्लै खेती विधि परिवर्तन गर्न नछोड्ने प्रतिबद्धता हो।

परम्परागत खेतीबाट पुनरुत्पादक खेतीमा जान किसानलाई सुरुमा थप खर्च, तालिम, प्राविधिक सहयोग र केही अवस्थामा उत्पादन घट्ने जोखिमसमेत हुन सक्छ। उदाहरणका लागि, कम जोताइ गर्ने उपकरण किन्नुपर्ने हुन सक्छ, नयाँ आवरण बालीका लागि बीउ चाहिन सक्छ वा खेतमा रूख लगाउँदा केही वर्षसम्म उत्पादन व्यवस्थापन गर्नुपर्ने हुन्छ।

यस्तो अवस्थामा कम्पनीहरूले किसानलाई दीर्घकालीन खरिद सम्झौता, प्राविधिक सहयोग, तालिम तथा प्रत्यक्ष आर्थिक सहायता उपलब्ध गराउने सम्भावित उपाय अघि सारेका छन्। कृषि विज्ञ, वित्तीय संस्था, गैरसरकारी संस्था र किसान संगठनलाई एउटै सहयोग प्रणालीमा जोड्ने योजना पनि यसको हिस्सा हो।

तर यहाँ एउटा महत्त्वपूर्ण तथ्य बुझ्नुपर्छ। १४ कम्पनीले हस्ताक्षर गरेको यो कम्प्याक्टले प्रत्येक कम्पनीका लागि निश्चित रकम लगानी गर्ने वा निश्चित हेक्टर जमिनमा पुनरुत्पादक खेती लागू गर्ने बाध्यकारी परिमाण तोकेको छैन। कम्पनीहरूले आफ्ना प्राथमिकताअनुसार योजना बनाउने, प्रगति पारदर्शी रूपमा मापन गर्ने र किसानको नेतृत्वमा काम गर्ने प्रतिबद्धता जनाएका हुन्।

त्यसैले यो घोषणा आफैँमा किसानको खातामा पैसा पुगिसकेको वा लाखौँ हेक्टर जमिनको खेती विधि परिवर्तन भइसकेको प्रमाण होइन। यसको वास्तविक सफलता आगामी वर्षमा हुने लगानी, किसानसँगको सम्झौता र सार्वजनिक प्रगति विवरणबाट मापन गर्नुपर्नेछ। 

नेस्लेको आफ्नै लक्ष्य : सन् २०३० सम्म आधा कच्चा पदार्थ पुनरुत्पादक कृषिबाट

यो अभियानमा सहभागी नेस्लेले यसअघि नै पुनरुत्पादक कृषिसम्बन्धी आफ्नै लक्ष्य सार्वजनिक गरिसकेको छ।

कम्पनीका अनुसार सन् २०२५ मा उसका प्रमुख कृषि सामग्रीमध्ये २०.७ प्रतिशत पुनरुत्पादक कृषि अभ्यास अपनाउने किसानबाट खरिद गरिएको थियो। सन् २०३० सम्म यो हिस्सा ५० प्रतिशत पुर्‍याउने उसको लक्ष्य छ।

नेस्लेले कफी, कोको, दूध, अन्न, मासु, चिनी, तरकारी र अन्य कृषि सामग्रीको आपूर्ति प्रणालीमा किसानसँग सहकार्य गरिरहेको जनाएको छ। कम्पनीले पाँच लाखभन्दा बढी किसान र डेढ लाख आपूर्तिकर्तासँग जोडिएका आफ्ना केही कृषि आपूर्ति प्रणालीमा तालिम, प्राविधिक सहयोग र खेती सुधारका कार्यक्रम सञ्चालन गरिरहेको पनि उल्लेख गरेको छ।

यसले पुनरुत्पादक कृषि कम्पनीको बजार रणनीतिसँग कसरी जोडिन सक्छ भन्ने देखाउँछ। कच्चा पदार्थको आपूर्ति दीर्घकालीन रूपमा सुरक्षित भयो भने कम्पनीको उत्पादन लागत, गुणस्तर र बजार स्थिरतामा पनि लाभ पुग्न सक्छ।

 

 




सुनचाँदीको मूल्यमा भारी गिरावट

Nov 18, 2026 10:46 AM

नेपाली बजारमा मंसिर २ गते, बुधबार पनि सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको हो।