प्रधानमन्त्री बालेन शाह आज दिल्ली प्रस्थान गर्दै, सोमबार मोदीसँग उच्चस्तरीय वार्ता

Nov 22, 2026 06:43 AM Merolagani



प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) दुईदिने औपचारिक भ्रमणका लागि आज आइतबार छिमेकी मुलुक भारत प्रस्थान गर्दैछन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री शाह मंसिर ६ र ७ गते (नोभेम्बर २२ र २३) भारत भ्रमणमा जान लागेका हुन्। प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि शाहको यो पहिलो विदेश राजकीय भ्रमण हो।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह आज मध्याह्न १:४५ बजे नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को नियमित उडानमार्फत नयाँदिल्ली प्रस्थान गर्नेछन्। भारतीय समयअनुसार दिउँसो ३:१५ बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ३ मा अवतरण गरेपछि उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम तय भएको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ।

भ्रमण टोलीमा को–को छन् ?

प्रधानमन्त्री शाहको नेतृत्वमा रहने ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह तथा परराष्ट्र सचिव अमृत राईसहित नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू सहभागी छन्। यसका साथै निजी क्षेत्रका ५२ जना उद्योगी–व्यवसायी तथा सञ्चारकर्मीहरू पनि आफ्नै खर्चमा भ्रमण टोलीमा सहभागी हुँदैछन्।

यस्तो छ दुईदिने औपचारिक कार्यतालिका:

  • आइतबार (मंसिर ६ गते): नयाँदिल्ली पुगेपछि प्रधानमन्त्री शाहले साँझ ६:०० बजे होटल ताजमहलमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग शिष्टाचार भेटवार्ता गर्नेछन्। आइतबार अन्य औपचारिक कार्यक्रम तय गरिएको छैन।

  • सोमबार (मंसिर ७ गते): भ्रमणको दोस्रो दिन बिहान १०:०० बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहलाई विशेष 'गार्ड अफ अनर' सहित औपचारिक स्वागत गरिनेछ। त्यसपछि बिहान १०:४० बजे राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर उनले माल्यार्पण तथा श्रद्धाञ्जली अर्पण गर्नेछन्।

  • द्विपक्षीय वार्ता र सम्झौता: बिहान ११:०० बजे हैदरावाद हाउसमा प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच एकल (वान–टु–वान) तथा प्रतिनिधिमण्डलस्तरीय उच्चस्तरीय वार्ता हुनेछ। वार्तापछि दिउँसो १२:२५ बजे दुई देशबीच विभिन्न समझदारीपत्र (MoU) आदानप्रदान गर्नुका साथै दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेछन्। लगत्तै भारतीय प्रधानमन्त्री मोदीले शाहको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन्।

  • राष्ट्रपतिसँग भेट र स्वदेश फिर्ती: सोमबार अपराह्न ३:१५ बजे प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग राष्ट्रपति भवनमा शिष्टाचार भेटवार्ता गर्नेछन्। सम्पूर्ण औपचारिक कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ ४:५० बजे (भारतीय समय) नयाँदिल्लीबाट स्वदेश फर्कने कार्यतालिका रहेको छ।

भ्रमणका मुख्य एजेन्डा:

भ्रमणका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्धको समग्र समीक्षा हुनुका साथै हवाई प्रवेश मार्ग (भैरहवा, जनकपुर र महेन्द्रनगर रुट), अमलेखगञ्ज–चितवन पेट्रोलियम पाइपलाइन परियोजनाको शिलान्यास, ऊर्जा व्यापार, कनेक्टिभिटी, सूचना प्रविधि तथा बन्दरगाह सहकार्यलगायतका विषयमा महत्वपूर्ण छलफल र सहमति हुने अपेक्षा गरिएको छ।