उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ जारी गर्दै तोकिएका वस्तुको उत्पादन तथा बिक्री बढाउने उद्योग र निर्यातकर्तालाई अधिकतम १० प्रतिशतसम्म प्रोत्साहन रकम दिने व्यवस्था गरेको हो।
नयाँ व्यवस्थाअनुसार उत्पादन वृद्धि, बिक्री मूल्य, निर्यातमा योगदान, मूल्य अभिवृद्धि, राजस्व र रोजगारी सिर्जनालगायतका सूचकका आधारमा उद्योगको मूल्याङ्कन हुनेछ। मूल्याङ्कनमा प्राप्त अङ्कका आधारमा बढेको बिक्री मूल्यको २ देखि १० प्रतिशतसम्म प्रोत्साहन रकम उपलब्ध गराइनेछ। उद्योगको वर्गीकरणअनुसार एउटा उद्योग वा निर्यातकर्ताले अधिकतम ३० लाखदेखि ८० लाख रुपैयाँसम्म पाउन सक्नेछन्।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ६५ को उपदफा (४) ले दिएको अधिकार प्रयोग गरी तयार पारिएको कार्यविधि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा मंसिर १० गते दर्ता भएको हो। मन्त्रालयका सचिव रुद्रसिंह तामाङले प्रमाणित गरेको कार्यविधि तुरुन्त लागू हुने उल्लेख छ।
स्वदेशी उत्पादन तथा उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, निर्यात प्रवर्द्धन र आयात व्यवस्थापन गर्ने उद्देश्यले सरकारले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमअन्तर्गत यो योजना ल्याएको हो। कार्यक्रमलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले प्रोत्साहन रकम वितरणदेखि उद्योगको मूल्याङ्कन, छनोट र अनुगमनसम्मको प्रक्रिया कार्यविधिमा तोकिएको छ।
उत्पादन र बिक्री बढाउने उद्योगलाई प्रोत्साहन
नयाँ कार्यविधिको मुख्य विशेषता उत्पादन तथा बिक्रीमा भएको वृद्धिलाई प्रोत्साहनको आधार बनाउनु हो। पुरानो व्यवस्थामा निर्यातको परिमाण र मूल्यका आधारमा नगद अनुदान दिइन्थ्यो। तर, नयाँ व्यवस्थामा उद्योगले आधार वर्षको तुलनामा पछिल्लो आर्थिक वर्षमा कति उत्पादन र बिक्री बढायो भन्ने विषयलाई मुख्य आधार बनाइएको छ।
कार्यविधिअनुसार मूल्याङ्कन गरिने आर्थिक वर्षभन्दा अघिल्लो आर्थिक वर्षलाई आधार वर्ष मानिनेछ। आधार वर्षको तुलनामा पछिल्लो आर्थिक वर्षमा कम्तीमा १० प्रतिशत उत्पादन अभिवृद्धि गरेको उद्योग मात्र कार्यक्रममा सहभागी हुन योग्य हुनेछ।
उत्पादन वृद्धि गणना गर्दा उत्पादित परिमाणलाई ४० प्रतिशत र बिक्री मूल्यलाई ६० प्रतिशत भार दिइनेछ। यसरी उत्पादनको वास्तविक परिमाण र बिक्री मूल्य दुवैमा भएको वृद्धिलाई समेटेर उद्योगको कार्यसम्पादन मूल्याङ्कन गरिनेछ।
प्रोत्साहन रकम भने कुल बिक्रीमा नभई आधार वर्षको तुलनामा बढेको बिक्री मूल्यमा मात्र गणना हुनेछ। त्यसका लागि पछिल्लो आर्थिक वर्षको उत्पादित वस्तुको कुल बिक्री मूल्यबाट आधार वर्षको सोही वस्तुको कुल बिक्री मूल्य घटाइनेछ। त्यसबाट प्राप्त रकमलाई मूल्याङ्कनमा प्राप्त अङ्कअनुसारको प्रोत्साहन दरले गुणन गरिनेछ।
उदाहरणका लागि कुनै साना उद्योगको आधार वर्षमा बिक्री मूल्य १० करोड रुपैयाँ रहेको र पछिल्लो आर्थिक वर्षमा बढेर १३ करोड रुपैयाँ पुगेको अवस्थामा बिक्री मूल्यमा ३ करोड रुपैयाँ वृद्धि भएको मानिनेछ। उक्त उद्योगले मूल्याङ्कनमा ८५ अङ्क प्राप्त गरेमा ८ प्रतिशत प्रोत्साहन दर लागू हुनेछ। यसअनुसार उद्योगले २४ लाख रुपैयाँ प्रोत्साहन पाउनेछ।
यसरी गणना भएको रकम र उद्योगको वर्गअनुसार तोकिएको अधिकतम सीमामध्ये जुन कम हुन्छ, त्यही रकम उपलब्ध गराइनेछ।
उद्योगको वर्गीकरणअनुसार ३० देखि ८० लाखसम्म
कार्यविधिले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा १७ को उपदफा (१) को खण्ड (ग), (घ) र (ङ) अनुसारका उद्योगलाई तीन समूहमा विभाजन गरी प्रोत्साहन रकमको अधिकतम सीमा निर्धारण गरेको छ।
जसअनुसार साना उद्योगले अधिकतम ३० लाख, मझौला उद्योगले ५० लाख र ठूला उद्योगले ८० लाख रुपैयाँसम्म प्रोत्साहन पाउन सक्नेछन्। कार्यक्रमका लागि विनियोजित बजेटमध्ये साना उद्योगका लागि ३० प्रतिशत, मझौला उद्योगका लागि ३५ प्रतिशत र ठूला उद्योगका लागि ३५ प्रतिशत बजेट छुट्याइने व्यवस्था छ।
यसको अर्थ कुनै उद्योगले मूल्याङ्कनमा उच्च अङ्क प्राप्त गरे पनि आफ्नो वर्गका लागि तोकिएको अधिकतम सीमाभन्दा बढी रकम पाउने छैन। त्यस्तै, गणनाबाट प्राप्त हुने रकम अधिकतम सीमाभन्दा कम भएमा कम रकम नै उपलब्ध हुनेछ।
५० अङ्क नल्याउने उद्योग प्रोत्साहनबाट वञ्चित
प्रोत्साहन रकम प्राप्त गर्न उद्योग वा निर्यातकर्ताले १०० पूर्णाङ्कको मूल्याङ्कनमा कम्तीमा ५० अङ्क ल्याउनुपर्नेछ। प्राप्त अङ्कका आधारमा प्रोत्साहन दर निर्धारण गरिएको छ।
९१ देखि १०० अङ्क प्राप्त गर्ने उद्योगले बढेको बिक्री मूल्यको १० प्रतिशत प्रोत्साहन पाउनेछन्। ८१ देखि ९० अङ्क ल्याउनेले ८ प्रतिशत, ७१ देखि ८० अङ्क ल्याउनेले ६ प्रतिशत र ६१ देखि ७० अङ्क ल्याउनेले ४ प्रतिशत पाउनेछन्। त्यस्तै, ५० देखि ६० अङ्क प्राप्त गर्ने उद्योगले २ प्रतिशत प्रोत्साहन पाउनेछन्। ५० भन्दा कम अङ्क प्राप्त गर्ने उद्योग भने कार्यक्रमका लागि अयोग्य हुनेछन्।
यसले उद्योगलाई उत्पादन र बिक्री मात्र बढाएर पुग्ने अवस्था राखेको छैन। निर्यात, मूल्य अभिवृद्धि, कर योगदान र रोजगारी सिर्जनामा पनि निश्चित उपलब्धि हासिल गर्नुपर्ने व्यवस्था गरेको छ।
उत्पादन वृद्धिलाई ५० र निर्यातलाई २० अङ्क
उद्योगको मूल्याङ्कनका लागि ६ वटा आधार तय गरिएको छ। कुल १०० अङ्कमध्ये उत्पादन अभिवृद्धिलाई सबैभन्दा बढी ५० अङ्क दिइएको छ। यसअन्तर्गत बिक्री मूल्यमा भएको वृद्धिका लागि ३० र उत्पादित परिमाणमा भएको वृद्धिका लागि २० अङ्क छुट्याइएको छ। दुवै सूचकमा २५ प्रतिशतभन्दा बढी वृद्धि हासिल गर्ने उद्योगले पूर्ण अङ्क पाउने व्यवस्था छ।
त्यस्तै, निर्यातमा योगदानका लागि २० अङ्क छुट्याइएको छ। कुल बिक्रीमा भारतबाहेकका तेस्रो मुलुकमा भएको निर्यातको हिस्सा ८० प्रतिशतभन्दा बढी भएमा २० अङ्क प्राप्त हुनेछ। निर्यातको हिस्सा २० देखि ४० प्रतिशतसम्म भएमा ८ अङ्क दिइनेछ।
मूल्य अभिवृद्धिका लागि १० अङ्क छुट्याइएको छ। ७० प्रतिशतभन्दा बढी मूल्य अभिवृद्धि गर्ने उद्योगले पूरा १० अङ्क पाउनेछन् भने ३० देखि ५० प्रतिशतसम्म मूल्य अभिवृद्धि गर्नेले ६ अङ्क पाउने व्यवस्था छ। मूल्य अभिवृद्धि गणना गर्दा कारखाना मूल्य (एक्स–फ्याक्ट्री प्राइस) बाट विदेशी कच्चा पदार्थको मूल्य घटाइनेछ। यसको विवरण लेखापरीक्षकबाट प्रमाणित गराएर पेस गर्नुपर्नेछ।
त्यस्तै, आधार वर्षको तुलनामा आयकरमा भएको वृद्धिका आधारमा राजस्व योगदानबापत अधिकतम १० अङ्क दिइनेछ। रोजगारी सिर्जनाका लागि ५ अङ्क छुट्याइएको छ। यसमा सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकको प्रतिशतलाई आधार मानिनेछ।
उद्योगको भौगोलिक अवस्थिति मूल्याङ्कनको अर्को आधार हो। यसका लागि ५ अङ्क छुट्याइएको छ। अति अविकसित क्षेत्रमा रहेका उद्योगले ५ अङ्क पाउनेछन् भने अन्य क्षेत्रका उद्योगले २ अङ्क प्राप्त गर्ने व्यवस्था छ।
यसरी मूल्याङ्कन गर्दा उत्पादन वृद्धिलाई ५० प्रतिशत भार दिइएको छ भने निर्यातलाई २० प्रतिशत। बाँकी ३० प्रतिशत भार मूल्य अभिवृद्धि, राजस्व योगदान, रोजगारी र भौगोलिक अवस्थिति गरी चारवटा सूचकमा बाँडिएको छ।
२२ समूहका वस्तुले पाउनेछन् प्रोत्साहन
कार्यविधिको अनुसूची–१ मा प्रोत्साहन कार्यक्रममा समावेश गरिएका २२ समूहका वस्तु तोकिएका छन्। कृषि, खाद्य प्रशोधन, वन तथा जडीबुटी, हस्तकला, कपडा, छाला, जुत्ता, फर्निचर र औषधिजन्य उत्पादनसम्मका उद्योगलाई कार्यक्रममा समेटिएको छ।
कृषि तथा खाद्यजन्य वस्तुतर्फ प्रशोधित चिया, कफी, अलैँची, अदुवा (सुठो, स्लाइसिङ, तेल तथा पाउडर), बेसार, मसला र प्रशोधित मह समावेश छन्। त्यसैगरी प्रशोधित दूध तथा दुग्धजन्य पदार्थ, तरकारी, फलफूल, च्याउ र तिनका प्रशोधित सामग्रीले पनि प्रोत्साहन पाउनेछन्।
टिस्युकल्चर तथा एग्रो फरेस्ट्री प्रविधिबाट उत्पादित बिरुवा, चाउचाउ, बिस्कुट, पास्ता, चिजबल्सजस्ता खाद्य प्रशोधन उत्पादन, स्प्रिङ वाटर, वाइन–साइडर तथा पुष्पजन्य उत्पादन पनि सूचीमा छन्।
त्यस्तै, कपास खेती तथा प्रशोधन, प्राङ्गारिक मल, बेत, बाँस, अल्लोजस्ता प्राकृतिक रेशाजन्य उत्पादन र गैरकाष्ठ वन पैदावारलाई समेटिएको छ। फर्निचर, पार्केटिङ, सिजनिङ, प्लाइउड तथा कम्पोजिट बोर्डजस्ता काठका सामग्री पनि प्रोत्साहनका लागि योग्य हुनेछन्।
प्रशोधित जडीबुटी तथा सारयुक्त तेल, लोक्ताबाट बनेको हाते कागज र त्यसका सामग्री, हस्तकला तथा काष्ठकलाका वस्तु पनि सूचीमा छन्।
वस्त्र तथा छालाजन्य उत्पादनतर्फ ऊनी गलैँचा, पस्मिना, यार्न, टेक्सटाइल, ऊनी तथा फेल्टका सामान, प्रशोधित छाला र छालाजन्य सामग्री, जुत्ता–चप्पल तथा तयारी पोसाक समावेश छन्। यसबाहेक प्रशोधित पत्थर, पत्थरजडित गरगहना र आयुर्वेदिक औषधि पनि प्रोत्साहन पाउने वस्तुको सूचीमा छन्।
तर, एउटै उद्योग वा निर्यातकर्ताले एक आर्थिक वर्षमा अनुसूचीमा उल्लिखित कुनै एक वस्तुका लागि मात्र प्रोत्साहन रकम प्राप्त गर्न सक्नेछ।
निर्यातकर्ताको परिभाषा पनि फराकिलो
कार्यविधिले निर्यातकर्ताको परिभाषामा आयात–निर्यात कोड (एक्जिम कोड) प्राप्त गरेका उद्योगलाई मात्र नभई स्वदेशी उद्योगबाट तोकिएका वस्तु खरिद गरी निर्यात गर्ने निर्यात प्रवर्द्धन गृहलाई समेत समेटेको छ।
भारतबाहेकका मुलुकलाई तेस्रो मुलुकका रूपमा परिभाषित गरिएको छ। नेपाल राष्ट्र बैंकले तोकेको परिवर्त्य विदेशी मुद्रामा तेस्रो मुलुकमा गरिएको निकासीलाई मात्र यस कार्यक्रमका लागि निर्यात मानिनेछ।
यस व्यवस्थाले स्वदेशी उत्पादन खरिद गरी अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने निर्यात प्रवर्द्धन गृहलाई पनि कार्यक्रममा सहभागी हुने बाटो खोलेको छ। तर, निर्यातको परिभाषा र भुक्तानीको माध्यमसम्बन्धी सर्त पूरा गर्नुपर्नेछ।
आवेदनका लागि लेखापरीक्षण र कर चुक्ता अनिवार्य
कार्यक्रममा सहभागी हुन उद्योग वा निर्यातकर्ता प्रचलित कानूनअनुसार दर्ता भई नियमित नवीकरण भएको हुनुपर्नेछ। स्थायी लेखा नम्बर (प्यान) वा मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएको, आधार वर्ष र पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न गरेको तथा आधार वर्षको कर चुक्ता प्रमाणपत्र भएको हुनुपर्नेछ।
त्यस्तै, आधार वर्षको तुलनामा पछिल्लो आर्थिक वर्षमा कम्तीमा १० प्रतिशत उत्पादन वृद्धि हासिल गरेको प्रमाणित गर्नुपर्नेछ। सरकारी बक्यौता बाँकी नरहेको, कालोसूचीमा नपरेको र सोही आर्थिक वर्षमा अर्को सरकारी निकायबाट समान प्रकृतिको प्रोत्साहन सुविधा नलिएको स्वःघोषणा पनि गर्नुपर्नेछ।
आवेदनसँग उद्योग दर्ता तथा नवीकरण प्रमाणपत्र, प्यान वा भ्याट दर्ता प्रमाणपत्र, लेखापरीक्षण प्रतिवेदन, कर चुक्ता प्रमाणपत्र, उत्पादन वृद्धि पुष्टि गर्ने बिलबिजक तथा प्रज्ञापनपत्र र बैंकिङ कारोबारको प्रमाण पेस गर्नुपर्नेछ।
उद्योग विभागले कम्तीमा २१ दिनको समय दिएर राष्ट्रियस्तरका दैनिक पत्रिका तथा विभागको वेबसाइटमार्फत आवेदन आह्वान गर्नेछ। इच्छुक उद्योग वा निर्यातकर्ताले तोकिएको ढाँचामा आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्। विद्युतीय माध्यमबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
मूल्याङ्कन समितिमा राष्ट्र बैंक र भन्सारका प्रतिनिधि
प्राप्त आवेदनको मूल्याङ्कन उद्योग विभागको साना तथा मझौला उद्योग प्रवर्द्धन शाखाका निर्देशकको संयोजकत्वमा रहने समितिले गर्नेछ। समितिमा नेपाल राष्ट्र बैंक र भन्सार विभागका प्रतिनिधिसमेत रहने व्यवस्था गरिएको छ।
समितिले आवेदनको योग्यता, पेस गरिएका कागजात तथा कार्यविधिमा तोकिएका मूल्याङ्कनका आधार परीक्षण गरी योग्यताक्रमसहित प्रोत्साहनका लागि सिफारिस गर्नेछ। त्यसपछि उद्योग विभागले उपलब्ध बजेटको सीमाभित्र रहेर रकम स्वीकृत गर्नेछ।
छनोट भएका उद्योगलाई प्रोत्साहन रकम विद्युतीय कोष हस्तान्तरण (ईएफटी) प्रणालीमार्फत सिधै सम्बन्धित उद्योगको बैंक खातामा जम्मा गरिनेछ।
कार्यक्रमको अनुगमन तथा समन्वयका लागि उद्योग विभागका महानिर्देशकको संयोजकत्वमा समन्वय समिति रहनेछ। झुटा विवरण वा कागजात पेस गरेर प्रोत्साहन रकम लिएको पाइएमा प्रचलित कानूनअनुसार रकम असुलउपर गरिनेछ। कार्यक्रमका लागि विनियोजित रकमको बढीमा ३ प्रतिशतसम्म व्यवस्थापन खर्च गर्न सकिने व्यवस्था पनि कार्यविधिमा छ।
साढे ६ अर्ब वितरणपछि रोकिएको थियो निर्यात अनुदान
सरकारले आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत निर्यातमा नगद अनुदान दिने नीति ल्याएको थियो। स्वदेशी उत्पादनको निर्यात बढाउने र अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुको प्रतिस्पर्धात्मक क्षमता सुधार गर्ने उद्देश्यले सुरु गरिएको उक्त व्यवस्थालाई पछि ‘निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि, २०७५’ मार्फत व्यवस्थित गरिएको थियो। उक्त कार्यविधिको दोस्रो संशोधन २०७९ असोज ३१ मा राजपत्रमा प्रकाशित भएको थियो।
पुरानो व्यवस्थामा शतप्रतिशत स्वदेशी कच्चा पदार्थ प्रयोग गरी कम्तीमा ५० प्रतिशत मूल्य अभिवृद्धि गर्ने वस्तुको निर्यातमा ५ प्रतिशत र कम्तीमा ३० प्रतिशत मूल्य अभिवृद्धि गर्ने वस्तुमा ४ प्रतिशत नगद अनुदान दिने व्यवस्था थियो। ठूलो परिमाणमा निर्यात गर्ने वस्तुमा भने ८ प्रतिशतसम्म अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको थियो।
२०८१ कात्तिकसम्म सरकारले निर्यातकर्तालाई करिब साढे ६ अर्ब रुपैयाँ नगद अनुदान वितरण गरिसकेको थियो। तर, पछिल्ला वर्षमा बजेट अभावका कारण अनुदान भुक्तानीमा समस्या देखियो। निर्यातकर्ताले निर्यात गरिसकेपछि पनि वर्षौंसम्म अनुदान रकम नपाउने अवस्था सिर्जना भयो।
२०८२ असारसम्म निर्यातकर्ताले करिब ६ अर्ब रुपैयाँ बराबरको अनुदान दाबी गरेका थिए। त्यसमध्ये नेपाल राष्ट्र बैंकले ३ अर्ब १७ करोड रुपैयाँ स्वीकृत गरेको भए पनि १ अर्ब १९ करोड ७० लाख रुपैयाँ मात्र भुक्तानी भएको थियो। यसले पुरानो अनुदान प्रणालीमा सरकारको दायित्व बढ्दै गएको र भुक्तानी व्यवस्थापन चुनौतीपूर्ण बनेको देखाएको थियो।
निर्यात अनुदान हटाएर नयाँ कार्यक्रम ल्याउने निर्णय
आर्थिक वर्ष २०८२/८३ को बजेटले उत्पादनमा आधारित राष्ट्रिय अनुदान नीति बनाउने घोषणा गरेपछि सरकारले पुरानो निर्यात अनुदान प्रणाली हटाएर नयाँ व्यवस्था ल्याउने तयारी थालेको थियो।
सोही क्रममा २०८२ असोज २४ मा उद्योग विभागले सूचना जारी गर्दै चालु आर्थिक वर्षमा थप दायित्व सिर्जना हुने गरी निर्यात अनुदानका नयाँ निवेदन नलिने जनाएको थियो। यस निर्णयका कारण २०८१/८२ मा निर्यात गरेका उद्योगले समेत पुरानो व्यवस्थाअनुसार अनुदान प्राप्त गर्ने बाटो बन्द भयो।
सरकारको निर्णयप्रति नेपाल उद्योग वाणिज्य महासंघले असन्तुष्टि जनाउँदै निर्यात अनुदान पुनः सञ्चालन गर्न माग गरेको थियो। अनुदान रोकिँदा उद्योगको लगानी, निर्यात र रोजगारीमा गम्भीर असर पर्न सक्ने महासंघको तर्क थियो।
तर, २०८२ फागुन १२ गतेको मन्त्रिपरिषद् बैठकले ‘निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि, २०७५’ नै खारेज गर्ने निर्णय गर्यो।
निर्यात अनुदान हटाउनुको प्रमुख कारण नेपाल अतिकम विकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नति हुने प्रक्रियासँग जोडिएको थियो। विश्व व्यापार संगठन (डब्लुटीओ) का नियमअनुसार निर्यातको परिमाणसँग प्रत्यक्ष जोडिएका अनुदान सामान्यतया निषेधित हुन्छन्। अतिकम विकसित मुलुकलाई भने यसमा विशेष छुट उपलब्ध हुन्छ।
तत्कालीन उद्योग मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले स्तरोन्नतिपछि निर्यात अनुदान कानुनी रूपमा दिन नमिल्ने बताएका थिए। पछि उद्योग विभागको महानिर्देशक रहेका बस्नेतले उत्पादन वृद्धिलाई ५० प्रतिशत अङ्कभार दिएर उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमको मस्यौदा तयार गरी अर्थ मन्त्रालयमा रायका लागि पठाइएको जानकारी दिएका थिए।
१ अर्ब १८ करोड रुपैयाँ विनियोजन
निर्यात अनुदानको सुविधा गुम्दा स्वदेशी उद्योगमा पर्ने असर कम गर्ने उद्देश्यले सरकारले उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम ल्याउने तयारी बजेट निर्माणकै क्रममा गरेको थियो।
२०८३ जेठ १५ गते अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय उत्पादकत्व वृद्धिको गुरुयोजनासहित उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम ल्याउने घोषणा गरेका थिए। सरकारले उक्त कार्यक्रमका लागि १ अर्ब १८ करोड रुपैयाँ विनियोजन गरेको थियो।
यसरी बजेटमा घोषणा गरिएको कार्यक्रमलाई कार्यान्वयनमा लैजान मन्त्रालयले कार्यविधि तयार गरी जारी गरेको हो।
स्तरोन्नति तीन वर्ष पर सरेको अवस्थामा नयाँ कार्यक्रम
नेपालको अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने समयसमेत पछि सरेको छ। नेपाल २०८३ मंसिर ८ (२४ नोभेम्बर २०२६) मा स्तरोन्नति हुने तय भएकोमा सरकारले आवश्यक तयारी र चुनौती व्यवस्थापनका लागि तीन वर्ष समय थप गर्न संयुक्त राष्ट्रसंघसमक्ष अनुरोध गरेको थियो।
संयुक्त राष्ट्रसंघको महासभाले २०८३ कात्तिक १२ (२९ अक्टोबर २०२६) मा सर्वसम्मत प्रस्ताव पारित गर्दै नेपाल र बंगलादेशको स्तरोन्नतिको समय २४ नोभेम्बर २०२९ सम्मका लागि सारेको छ।
यसले निर्यात अनुदान हटाउन स्तरोन्नतिलाई प्रमुख कारणका रूपमा प्रस्तुत गरिएको सरकारी नीतिको सन्दर्भमा नयाँ प्रश्नसमेत खडा गरेको छ। यद्यपि, सरकारले पुरानो निर्यात अनुदान प्रणाली खारेज गरिसकेको अवस्थामा नयाँ उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको छ।
निर्यातभन्दा उत्पादन वृद्धिलाई बढी प्राथमिकता
पुरानो र नयाँ व्यवस्थाबीचको सबैभन्दा महत्त्वपूर्ण भिन्नता अनुदान निर्धारण गर्ने आधारमा छ। पुरानो व्यवस्थामा निर्यातको मूल्य तथा परिमाण र स्वदेशी कच्चा पदार्थको प्रयोगबाट भएको मूल्य अभिवृद्धिलाई मुख्य आधार बनाइन्थ्यो। नयाँ व्यवस्थामा भने उत्पादन तथा बिक्रीमा भएको वृद्धिलाई प्राथमिकता दिइएको छ।
नयाँ कार्यविधिमा निर्यातलाई १०० पूर्णाङ्कमध्ये २० अङ्क मात्र दिइएको छ भने उत्पादन अभिवृद्धिका लागि ५० अङ्क छुट्याइएको छ। यसले सरकारको प्राथमिकता निर्यातको परिमाणमा आधारित अनुदानबाट स्वदेशी उत्पादन क्षमता विस्तारतर्फ सरेको संकेत गर्छ।
तर, नयाँ कार्यक्रमले उद्योगको उत्पादन र बिक्री वृद्धि मात्र सुनिश्चित गर्छ कि निर्यात प्रतिस्पर्धात्मक क्षमता पनि सुधार गर्छ भन्ने विषय कार्यान्वयनपछि मात्र स्पष्ट हुनेछ। विशेषगरी निर्यात बजारमा नेपाली वस्तुले भोग्दै आएको लागत, गुणस्तर, ढुवानी र अन्तर्राष्ट्रिय प्रतिस्पर्धासम्बन्धी चुनौती सम्बोधन गर्न उत्पादनमा आधारित प्रोत्साहन पर्याप्त हुन्छ कि हुँदैन भन्ने प्रश्न महत्त्वपूर्ण रहनेछ।
त्यस्तै, १ अर्ब १८ करोड रुपैयाँको बजेटबाट कति उद्योग लाभान्वित हुन्छन्, प्रोत्साहन रकम समयमै वितरण हुन्छ कि हुँदैन र वास्तविक उत्पादन वृद्धि गरेका उद्योगले सहज रूपमा सुविधा प्राप्त गर्छन् कि गर्दैनन् भन्ने विषयले कार्यक्रमको प्रभावकारिता निर्धारण गर्नेछ।
पुरानो अनुदान प्रणालीमा भुक्तानी ढिलाइ र सरकारी दायित्वको समस्या देखिएको पृष्ठभूमिमा नयाँ कार्यक्रमले पारदर्शी मूल्याङ्कन, बजेटको सुनिश्चितता र समयमै भुक्तानीलाई प्राथमिकता दिनुपर्ने देखिन्छ। अन्यथा निर्यात अनुदानको विकल्पमा ल्याइएको नयाँ कार्यक्रम पनि उद्योगका लागि अपेक्षित राहत बन्न नसक्ने जोखिम रहन्छ।