प्रधानमन्त्रीको २५ घण्टे दिल्ली भ्रमणमा ५२ उद्यमीको लावालस्कर, त्यति छोटो अवधिमा के काम गर्लान ?

Nov 21, 2026 06:10 PM Merolagani



नेपालको राजनीतिक र कुटनीतिक इतिहासकै सबैभन्दा छोटो समयको लागि अर्थात् करिब २५ घण्टाको लागि प्रधानमन्त्री बालेन्द्र शाह लावालस्करसहित दिल्ली भ्रमणमा जाँदैछन् ।

भ्रमणको क्रममा प्रधानमन्त्री शाह ८ घण्टा मात्रै सुतेर अरु समय कुटनीतिक भेटघाटमा व्यस्त भए हुँदा उनको यो भ्रमणको ‘कामकाजी समय’ करिब १७ घण्टा मात्र हुनेछ । त्यही भ्रमणको लागि ३४ सदस्यीय सरकारी टोली बाहेक ५२ जना उद्यमी व्यवसायी पनि सहभागि हुँदैछन् । प्रधानमन्त्रीसँग भ्रमणमा जाने सरकारी टोलीको कुरा छोडौं, उद्यमी व्यवसायीहरुको जम्बो टोलीले त्यति छोटो अवधिमा के काम गर्ला ? अहिले धेरैको लागि चासोको विषय बनेको छ ।

बताइएअनुसार भ्रमणको पहिलो दिन (मंसिर ६ गते) नयाँ दिल्लीमा आयोजना हुने उच्चस्तरीय 'नेपाल–भारत बिजनेस फोरम' मा नेपाली र भारतीय निजी क्षेत्रका प्रतिनिधिहरूबीच प्रत्यक्ष संवाद र व्यवसायिक साझेदारी (B2B) का विषयमा छलफल हुनेछ।

त्यस्तै प्रविधि (IT), जलविद्युत्, पर्यटन पूर्वाधार र उत्पादनमूलक उद्योगमा भारतीय लगानीकर्ताहरूलाई भित्र्याउन नेपाली उद्यमीहरूले आफ्ना परियोजना र सम्भावनाहरू प्रस्तुत गर्नेछन्। नेपाली कृषि उपज (चिया, कफी, अलैँची, जडीबुटी), गलैँचा, गार्मेन्ट र औषधिजन्य वस्तुको भारत निर्यातमा देखिँदै आएका गैर–भन्सार अवरोध (Non-tariff barriers), गुणस्तर मापदण्ड (BIS प्रमाणीकरण) र पारवहनका व्यावहारिक जटिलताहरूलाई भारतीय वाणिज्य तथा उद्योग नेतृत्वसमक्ष प्रत्यक्ष रूपमा राख्नेछन्।

होटल, ट्राभल र ट्रेकिङ क्षेत्रका नेतृत्वले भारतीय पर्यटकलाई नेपाल भित्र्याउन हवाई तथा स्थल मार्गको सहजता र सीमावर्ती नाकामा हुने झन्झट हटाउन लबिङ गर्नेछन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसमेत संलग्न हुने यो भ्रमणलाई सरकारले 'आर्थिक कूटनीति' र 'डिजिटल तथा भौतिक कनेक्टिभिटी' मा केन्द्रित गर्न खोजेको देखिन्छ।

तर, त्यति कामको लागि ५२ जनाको व्यवसायिक जम्बो टोली आवश्यक छ ? स्वभाविकरुपमा यो प्रश्न उठ्छ । किनकी ती कार्यक्रममा ५-७ जना उद्यमी व्यवसायीहरु वाहेक अरुको भूमिका सून्य प्रायः देखिन्छ । उनीहरुमध्ये धेरैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मात्र होइन, स्वंय नेपाली प्रधानमन्त्री शाहसँग ‘फोटो शेसन’ गर्ने मौकासमेत पाउलान् कि नपाउलान् ? उद्यमी व्यवसायीहरुमै कौतुहलता छाएको छ ।

'नयाँ शैली' को दाबी र 'पुरानै जम्बो प्रवृत्ति' को विरोधाभास

प्रधानमन्त्री बालेन शाह मितव्ययिता, छरितो कार्यसम्पादन र परिणाममुखी कामका लागि चिनिन्छन्। तर, दुईदिने छोटो औपचारिक भ्रमणमा ५२ जना व्यवसायीको लावालस्कर लैजानु विगतका परम्परागत प्रधानमन्त्रीहरूकै 'जम्बो भ्रमण दल' को निरन्तरता जस्तो देखिन्छ। यति ठूलो सङ्ख्यामा जाँदा छलफल गहन र विषयकेन्द्रित हुनुभन्दा औपचारिकता र 'फोटो सेसन' मा सीमित हुने जोखिम जोखिम देखिएको छ ।  

दिल्लीको 'बिजनेस फोरम' बाट फर्कँदा यी ५२ उद्यमीहरूले केवल दिल्लीको तारे होटलका तस्बिर र अमूर्त आश्वासन मात्र ल्याउँछन् कि नेपाली वस्तुको सहज निर्यात, आइटी क्षेत्रको विस्तार र वास्तविक वैदेशिक लगानीको ठोस मार्गचित्र कोर्छन्—त्यसैले नै यो भ्रमणको वास्तविक सफलता र, उद्यमीहरुको सहभागिताको औचित्य मापन गर्नेछ।