धेरै कर तिर्ने उद्यमीलाई सम्मान गर्ने विश्वका अनौठा प्रचलन: ‘राष्ट्र नायक’ देखि 'विशेष सुविधा' सम्म

Nov 17, 2026 04:18 PM Merolagani



नेपाल सरकारले २०६९ सालदेखि हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ । 

मूल्य अभिवृद्धि कर ऐन, २०५२ लागू भएको दिन २०५४ मंसिर १ को सम्झनामा यो दिवस मनाउन थालिएको हो।

पहिलो राष्ट्रिय कर दिवस २०६९ मंसिर १ मा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उत्कृष्ट करदातालाई सम्मान गरेर उद्घाटन गरेका थिए। त्यसबेला १० जना करदातालाई सम्मान गर्ने कार्यक्रम राखिएको थियो। तीमध्ये मुलुकका तीन ठूला करदातासहित विभिन्न क्षेत्रका उत्कृष्ट करदाता समावेश थिए।

 

त्यसयता आन्तरिक राजस्व विभागले विभिन्न विधामा उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ। कम्पनी तथा संस्थागत करदाता, व्यक्तिगत करदाता, निर्यातकर्ता, उद्योग, बैंक तथा वित्तीय संस्था, पर्यटन, स्वास्थ्य, सूचना प्रविधि, कृषि तथा पशुपालनलगायतका क्षेत्रलाई समेट्ने गरिएको छ। यसबर्षको करदाता सम्मान मंगलबार प्रदान गरिएको छ ।

यसरी करदातालाई सम्मान गर्ने प्रचलन नेपालमा मात्र नभएर विश्वका धेरै देशहरुमा छ । यहाँ करदातालाई सम्मन गर्ने विभिन्न देशका रमाइला प्रचलनहरुको बारेमा जानकारी दिने प्रयास गरिएको छ ।

पाकिस्तानः धेरै कर तिर्नेलाई निलो राहदानीदेखि ‘राष्ट्रका नायक’ सम्म

कर तिर्ने उद्योगी–व्यवसायीलाई विशेष सुविधा दिने देशमध्ये पाकिस्तानको अभ्यास निकै चर्चित छ।पाकिस्तानले सन् २०१४ मा सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा कम्पनीलाई सम्मान गर्ने उद्देश्यले ‘ट्याक्सपेयर प्रिभिलेजेस एन्ड अनर कार्ड’ अर्थात् करदाता विशेषाधिकार तथा सम्मानपत्र कार्यक्रम सुरु गरेको थियो। तत्कालीन प्रधानमन्त्री नवाज सरिफले सन् २०१४ जुलाई १५ मा विभिन्न वर्गका उत्कृष्ट १०० करदातालाई विशेष कार्ड वितरण गरेका थिए।

त्यसयता यस्तो कार्ड पाउने व्यक्तिलाई एक वर्षका लागि विमानस्थलका विशिष्ट कक्ष प्रयोग गर्ने, अध्यागमनमा छिटो सेवा पाउने, सरकारी समारोहमा निमन्त्रणा प्राप्त गर्ने र विशेष राहदानीसम्बन्धी सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

तर पाकिस्तानको यो अभ्यास सन् २०२४ मा थप चर्चामा आयो। प्रधानमन्त्री शहबाज सरिफले सबैभन्दा बढी कर तिर्ने र निर्यात गर्ने व्यवसायीलाई ‘राष्ट्रका नायक’ भन्दै सम्मान गरे। त्यसपछि पाकिस्तानमा उत्कृष्ठ करदातालाई ‘राष्ट्र नायक’ कैरुपमा सम्मान दिने गरिएको छ । 

बंगलादेशः कर तिर्नेलाई ‘ट्याक्स कार्ड’, सरकारी समारोहमा विशेष स्थान

बंगलादेशले पनि उत्कृष्ट करदातालाई विशेष कार्ड र सम्मान प्रदान गर्ने व्यवस्था गरेको छ। बंगलादेशको राष्ट्रिय राजस्व बोर्डले सन् २०१२ देखि उत्कृष्ट करदातालाई विशेष कर कार्ड प्रदान गर्ने गरेको छ ।

यस्तो कार्ड पाउने व्यवसायी तथा व्यक्तिले राष्ट्रिय समारोहमा सहभागी हुन निमन्त्रणा पाउने, सरकारी यातायातमा प्राथमिकता पाउने र राष्ट्रिय ध्वजावाहक विमानमा टिकट बुकिङ गर्दा प्राथमिकता गर्छन् । 

जापानः सन् १९५० देखि कर योगदानको सम्मान

करदातालाई सरकारी स्तरबाट सम्मान गर्ने परम्परामा जापानको इतिहास निकै पुरानो छ। जापानको राष्ट्रिय कर निकायका अनुसार सन् १९५० देखि हरेक वर्ष कर प्रणाली र कर चेतना अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिलाई सम्मान गरिँदै आएको छ।

तर जापानको सम्मान प्रणाली पाकिस्तान वा बंगलादेशको जस्तो सबैभन्दा धेरै कर तिर्नेलाई मात्रै पुरस्कृत गर्ने व्यवस्था होइन। त्यहाँ कर विवरण पेस गर्ने, कर तिर्ने प्रणालीलाई प्रभावकारी बनाउन सहयोग गर्ने, करसम्बन्धी जनचेतना फैलाउने र स्वैच्छिक कर अनुपालनलाई प्रोत्साहन गर्ने व्यक्तिलाई पनि सम्मान गरिन्छ। 

युगान्डाः करदाताका लागि छुट्टै उत्सव

अफ्रिकी मुलुक युगान्डाले सन् २००५ देखि करदातालाई सम्मान गर्ने छुट्टै कार्यक्रम सञ्चालन गर्दै आएको छ। ‘युगान्डा रिभेन्यु अथोरिटी ट्याक्सपेयर अवार्ड’ नामको यो कार्यक्रममार्फत नियमित कर तिर्ने, कर विवरण समयमै बुझाउने र कर अनुपालनमा उत्कृष्ट प्रदर्शन गर्ने व्यवसायीलाई सम्मान गरिन्छ।

भारतः ‘सम्मान योजना’ देखि उत्कृष्ट करदाताको पहिचानसम्म

भारतमा पनि धेरै कर तिर्ने व्यवसायीलाई सम्मान गर्ने अभ्यास पुरानो छ। भारतमा यस्तो सम्मानलाई कर तिर्नु सामाजिक प्रतिष्ठाको विषय बनाउने प्रयासका रूपमा पनि हेरिएको छ। भारतको केन्द्रीय प्रत्यक्ष कर बोर्ड (CBDT) र केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्ड (CBIC) ले करदाताहरूलाई सम्मान गर्न विशेष कार्यक्रमहरू सञ्चालन गर्छन् ।

प्रशंसा पत्र: आयकर विभागले समयमै र इमानदारीपूर्वक कर तिर्ने व्यक्ति तथा संस्थाहरूलाई प्लेटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज श्रेणीमा विभाजन गरी प्रशंसा पत्र प्रदान गर्दछ।

सम्मान पत्र: भन्सार तथा अप्रत्यक्ष कर विभागले उत्कृष्ट करदाताहरूलाई 'सम्मान पत्र'बाट पुरस्कृत गर्दछ।

विशिष्ट सुविधाहरू: उच्च कर तिर्ने र स्वच्छ छवि भएका करदाताहरूलाई विमानस्थलमा विशेष लाउन्ज सुविधा (कतिपय अवस्थामा), भन्सार जाँचपासमा प्राथमिकता र कर कार्यालयहरूमा छुट्टै सहायता कक्ष को व्यवस्था गरिन्छ।

आयकर दिवस: हरेक वर्ष जुलाई २४ मा मनाइने आयकर दिवसको अवसरमा राष्ट्रिय तथा राज्य स्तरमा उत्कृष्ट करदाताहरूलाई सार्वजनिक रूपमा सम्मान गरिन्छ।

 चीनः धेरै कर तिर्नेभन्दा कर अनुशासनमा उत्कृष्टलाई ‘ए’ श्रेणी

चीनको अभ्यास अलि फरक छ। त्यहाँ सबैभन्दा धेरै कर तिर्ने कम्पनीलाई मात्रै पुरस्कार दिनेभन्दा कर अनुशासन, समयमै विवरण पेस गर्ने र कर कानुन पालना गर्ने व्यवसायलाई उच्च श्रेणीमा राखेर प्रोत्साहन गरिन्छ।

चीनको कर प्रशासनले करदातालाई ए, बी, एम, सी र डी गरी पाँच श्रेणीमा वर्गीकरण गर्छ। सन् २०२५ जुलाई १ देखि लागू भएको नयाँ व्यवस्थाअनुसार वार्षिक मूल्यांकनमा ९० वा त्यसभन्दा बढी अंक ल्याउने व्यवसाय ‘ए’ श्रेणीमा पर्छन्।

यसको विशेषता के हो भने ए श्रेणीमा परेका करदाताको नाम सार्वजनिक गरिन्छ। उनीहरूले मूल्य अभिवृद्धि करका बिल आवश्यकताअनुसार लिन पाउने, करसम्बन्धी काममा छिटो सेवा पाउने र लगातार तीन वर्ष ए श्रेणीमा परेमा विशेष सेवा कक्ष वा छुट्टै कर्मचारीबाट सहयोग पाउने सुविधा प्राप्त गर्न सक्छन्।

फिलिपिन्सः सबैभन्दा बढी कर तिर्ने ५०० करदाताको सूची सार्वजनिक

फिलिपिन्सले करदातालाई सम्मान गर्ने अर्को तरिका अपनाएको छ। त्यहाँ सबैभन्दा बढी कर तिर्ने ५०० करदाता अर्थात् व्यक्ति र कम्पनीको सूची सार्वजनिक गर्ने अभ्यासलाई कर अनुपालन प्रोत्साहन गर्ने उपायका रूपमा लिइएको छ।

बेलायतः धेरै कर तिर्नेलाई पदक होइन, राष्ट्रिय सम्मान पाउन कर आचरणको परीक्षा

बेलायतको अभ्यास झन् फरक र रोचक छ। त्यहाँ धेरै कर तिर्ने व्यक्तिलाई छुट्टै सरकारी पुरस्कार दिने सामान्य परम्परा छैन। तर कुनै उद्योगी, व्यवसायी वा नागरिकलाई राज्यको तर्फबाट विशिष्ट सम्मान दिन सिफारिस गरियो भने उसको करसम्बन्धी व्यवहार पनि जाँच गरिन्छ।

बेलायतमा ‘अर्डर अफ द ब्रिटिस एम्पायर’ अर्थात् ओबीई, एमबीई, सीबीईजस्ता राष्ट्रिय सम्मान प्रदान गर्ने प्रक्रिया छ। यी सम्मान व्यवसाय, सार्वजनिक सेवा, विज्ञान, कला, परोपकार र समाजमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिलाई दिइन्छ ।

तर सम्मानका लागि सिफारिस भएका व्यक्तिको करसम्बन्धी पृष्ठभूमि जाँच्न राजस्व तथा भन्सार विभाग (एचएमआरसी) सँग जानकारी माग्न सकिने व्यवस्था छ। एचएमआरसीले सम्बन्धित व्यक्तिको कर व्यवहारको जोखिमलाई न्यून, मध्यम वा उच्च गरी वर्गीकरण गरेर सम्मान समितिलाई जानकारी दिन सक्छ। त्यसपछि समितिले अन्य विवरणसँगै यसलाई पनि विचार गर्छ।

यसको अर्थ बेलायतमा धेरै कर तिरेकै आधारमा कसैले ओबीई वा एमबीई पाउँदैन। तर राज्यबाट सम्मान पाउन चाहने व्यक्तिले करसम्बन्धी आफ्नो दायित्व इमानदारीपूर्वक पूरा गरेको हुनुपर्ने मान्यता बलियो छ।

अमेरिका: सबैभन्दा धेरै कर तिर्नेलाई पुरस्कार होइन, उनीहरुको गोपनियताको सुरक्षा

अमेरिकामा भने करदाताको गोपनीयतालाई अत्यन्त महत्त्व दिइन्छ। त्यहाँ सबैभन्दा बढी कर तिर्ने उद्योगी वा कम्पनीको नाम सार्वजनिक गरेर सरकारबाट पदक वा विशेष पुरस्कार दिने संघीय अभ्यास सामान्य रूपमा छैन।

यसको प्रमुख कारण अमेरिकी कर कानुनको धारा ६१०३ हो। यसले आन्तरिक राजस्व सेवा (आईआरएस) मा रहेको कर विवरण र करदातासम्बन्धी जानकारी गोप्य राख्नुपर्ने व्यवस्था गरेको छ। कानुनले अनुमति दिएको अवस्थामा बाहेक सरकारी कर्मचारीले करदाताको व्यक्तिगत कर विवरण अरूलाई सार्वजनिक गर्न पाउँदैनन्।

यसको अर्थ कुनै अर्बपति, उद्योगपति वा कम्पनीले कति कर तिर्‍यो भन्ने विवरण सरकार आफैँले सार्वजनिक गरेर सम्मान गर्ने अभ्यासमा कानुनी र गोपनीयतासम्बन्धी सीमा छन्।

तर अमेरिकामा करसम्बन्धी सूचना दिएर ठूलो कर छली पत्ता लगाउन सहयोग गर्ने व्यक्तिलाई भने पुरस्कार दिने व्यवस्था छ। आईआरएसको ‘ह्विसलब्लोअर अफिस’ अन्तर्गत कर छलीबारे प्रमाणसहित सूचना दिएर सरकारलाई ठूलो रकम कर उठाउन सहयोग गर्ने व्यक्तिले पुरस्कार पाउन सक्छन्।

कानुनअनुसार योग्य सूचना दिने व्यक्तिले असुल भएको कर, ब्याज र जरिवानासँग सम्बन्धित निश्चित आधारमा १५ देखि ३० प्रतिशतसम्म पुरस्कार पाउन सक्छन्।




पूँजीबजार र अर्थतन्त्र सुधार्ने ‘अध्यादेश’: ५० प्रतिशत प्रगति भएका हाइड्रोलाई आईपीओ, ३० दिनमा हकप्रद र कर परीक्षण हदम्याद २ वर्ष

Nov 15, 2026 06:06 AM

सरकारले पूँजीबजार, लगानी प्रवर्द्धन, कर प्रशासन र पूर्वाधार विकासमा देखिएको कानुनी तथा प्रक्रियागत जटिलता अन्त्य गर्न एकैपटक ५९ वटा ऐन संशोधन गर्ने गरी बृहत् अध्यादेशको प्रारम्भिक मस्यौदा तयार पारेको छ।